बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
घरजग्गा कारोबार

ह्वात्तै घट्यो घरजग्गा कारोबार, ‘हटस्पट’ क्षेत्रमै सुनसान

बैंकबाट ऋण लिने भन्दा तिर्ने धेरै, कुन क्षेत्रमा कति घट्यो कारोबार ?
शुक्रबार, ०६ भदौ २०८२, १७ : २७
शुक्रबार, ०६ भदौ २०८२
00:00 / NaN:NaN
Audio By AI

काठमाडौँ । घरजग्गा कारोबारमा ह्वात्तै गिरावट आएको छ । देशभरका मालपोत कार्यालयमा साउन महिनामा भएको कारोबारले यही देखाउँछ । 

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको तथ्यांक अनुसार अघिल्लो वर्ष साउनमा देशभरका मालपोत कार्यालयमा १ लाख २७ हजार २०६ वटा घरजग्गा सम्बन्धी सेवाप्रवाहका काम भएका थिए । चालु आर्थिक वर्षमा यो आकार १ लाख ४ हजार २१८ वटामा झरेको छ । यो झण्डै १८.०७ प्रतिशत कम हो । 

घरजग्गा कारोबार अन्तर्गत लिखत पारित, नामसारी, संशोधन, हाल साबिक, रोक्का, फुकुवा लगायतका सेवा प्रवाह हुन्छन् । त्यसमध्ये घरजग्गा कारोबारको सूचक मानिने लिखत पारित नै यो वर्ष ह्वात्तै घटेको छ । 
अघिल्लो वर्ष यो शीर्षकमा ४३ हजार ८३५ पटक कारोबार भएकोमा यो वर्ष ३१ हजार ६२१ पटक कारोबार भएका छन् । यो २७.८६ प्रतिशतको गिरावट हो । 

त्यस्तै, यस अवधिमा जग्गा नामसारी २१.०७ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष ४ हजार १६२ वटा नामसारी भएकोमा यो वर्ष ३ हजार २८५ मा झरेको हो । त्यस्तै, संशोधन ४५.८८ प्रतिशतले घटेर ११ हजार १५६ बाट ६ हजार ३८ मा झरेको छ । 

अघिल्लो वर्ष ३ हजार ३०३ वटा हाल साबिक भएकोमा यो वर्ष यो संख्या समेत २३.०३ प्रतिशतले घटेर २ हजार ३१३ मा झरेको छ । 

साउन महिनाको अवधिमा २५ हजार ४२६ वटा रोक्का भएका छन् भने २६ हजार ४६२ वटा जग्गा फुकुवा भएका छन् । अघिल्लो वर्षको एक महिनामा २९ हजार ६५९ वटा जग्गा रोक्का भएकोमा २९ हजार ७५ वटा फुकुवा भएको थियो । 

रोक्का र फुकुवाको यो तथ्यांक हेर्दा यो अवधिमा बैंक तथा वित्तीय संस्थाबाट नयाँ ऋण लिने भन्दा भएको ऋण तिरेर बाहिरने अवस्था बढी देखिएको छ । गत वर्ष यो बराबर जस्तै भएको देखिन्छ । 

कहाँ कति घट्यो कारोबार ? 

एक महिनाको अवधिमा घरजग्गा सम्बन्धी सबैभन्दा धेरै सेवा प्रवाह भएको कार्यालय भद्रपुर (झापा) हो । त्यसपछि क्रमशः इनरुवा (सुनसरी), बेलबारी (मोरङ), भक्तपुर, लगनखेल (ललितपुर), जनकपुरधाम, कलंकी, चितवन, राजविराज (सप्तरी) पर्सा र रुपन्देही क्रमशः छन् । 

भद्रपुरमा ४३.९४ प्रतिशत, इनरुवामा ५.४४ प्रतिशत, बेलबारीमा १५.१४ प्रतिशत, भक्तपुरमा ७.३४ प्रतिशत, लगनखेलमा ९.९६ प्रतिशतले कारोबार घटेको छ । त्यस्तै, जनकपुरधाममा ५.१६ प्रतिशत, कलंकीमा १५.४८ प्रतिशत तथा चितवनमा ४१.६८ प्रतिशतले कारोबार घटेको छ । त्यसबाहेक राजविराजमा २६.९६ प्रतिशत, पर्सामा २९.२४ प्रतिशत तथा रुपन्देहीमा २५.२५ प्रतिशतले कारोबार घटेको छ । 

काठमाडौंका मालपोत कार्यालयमा पनि यो हिस्सा घटेकै छ । चाबहिलमा १३.२२ प्रतिशत, टोखामा १७.५७ प्रतिशत, मनमैजुमा १७.१६ प्रतिशत, साँखुमा १४.०५ प्रतिशत तथा डिल्लीबजारमा ७.०८ प्रतिशतले कारोबार घटेको छ । ललितपुरको गोटीखेल कार्यालयको कारोबार ४४.९० प्रतिशतले घटेको छ । 

यो अवधिमा तराईका अधिकांश क्षेत्रमा कारोबार घटेको देखिन्छ । कपिलवस्तुको तौलिहवा शाखामा ४४.२६ प्रतिशतले कारोबार घटेको छ । उपत्यका र तराईपछि सबैभन्दा धेरै जग्गा कारोबार हुने काभ्रेपलाञ्चोकमा यो वर्ष कुल कारोबार २२.४४ प्रतिशतले घटेको छ । यो कार्यालयबाट हुने लिखत पारित ४७ प्रतिशतले घटेको देखिन्छ । 

यो अवधिमा अछाम, महोत्तरीको गौशाला, रोल्पाको घर्तीगाउँ, डोल्पा, तनहुँ, दार्चुला, महोत्तरीको बर्दिबास, कञ्चनपुरको बेलौरी, स्याङ्जाको वालिङ, हुम्ला, भोजपुर, खिजीफलाँटे र संक्रान्तिबजारको कारोबार बढेको देखिएको छ । त्यसमध्ये पनि अधिकांश रोक्का तथा फुकुवाको संख्या बढेका कारण कारोबार बढेको देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप