बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
तिजको रमझम

तिजमा कलाकारको विदेश दौडाहा, नेपालमा को-को व्यस्त ?

सोमबार, ०९ भदौ २०८२, ०६ : २३
सोमबार, ०९ भदौ २०८२

सारांश

  • तिजको अवसरमा कलाकारहरू स्वदेश र विदेशमा विभिन्न कार्यक्रममा व्यस्त छन्, जसले नेपाली संस्कृतिलाई प्रवर्द्धन गरिरहेको छ।
  • कतिपय कलाकारहरूले विदेशमा कार्यक्रम गर्दैछन्, जसमध्ये कोहीले आफ्नो गृह जिल्लाको लागि आईसीयू एम्बुलेन्स खरिद गर्ने उद्देश्य राखेका छन्।
  • एलिना चौहानले विदेशमा चाडपर्व मनाइरहेका नेपालीहरूलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्य रहेको बताइन्, भने आस्था राउत स्वदेशकै कार्यक्रममा रमाइरहेकी छिन्।
00:00 / NaN:NaN
Audio By AI

काठमाडौँ । सङ्गीतबिनाको तिज कस्तो होला ? पक्कै निरस हुन्छ । चेलीबेटीले वर्षभरिका दुःख र पीडालाई गीत-सङ्गीतको माध्यमबाट पोख्ने र रमाउने पर्व हो तिज । 

अहिले कलाकारको सामाजिक सञ्जाल नियाल्ने हो भने तिज विशेष कार्यक्रमका तस्बिरले रङ्गिएका छन् । गायक-गायिकाहरू स्वदेश कार्यक्रममा व्यस्त छन् भने कतिपय विदेशका कार्यक्रममा ।

तिज कलाकारहरूका लागि दर्शक-श्रोतासँग जोडिने महत्त्वपूर्ण अवसर र नेपाली संस्कृतिलाई विश्वभर फैलाउने माध्यम पनि हो । यसबाट कलाकारको आम्दानीको ग्राफ पनि राम्रै बढिरहेको छ । 

लोकप्रिय कलाकारहरूको व्यस्तता अहिले स्वदेशमा भन्दा विदेशमा बढी देखिन्छ । कलाकारहरू नेपाली रहेका विदेशका कुना कुनामा पुगेर कार्यक्रम गरिरहेका छन् । यो वर्षको पछिल्लो समय चर्चामा रहेका कलाकारहरू विदेश कार्यक्रममा बढी व्यस्त देखिएका छन् । तिज विशेष कार्यक्रममा नयाँदेखि पुराना लोकदोहोरी कलाकारसम्मको माग छ । विदेशमा अमेरिका, अस्ट्रेलिया, खाडी मुलुक, युरोपदेखि जापानसम्म कार्यक्रम भइरहेका छन् । 

533399191_1282874013504452_221642645799009524_n

गायिका कोमल वली बेलायतका विभिन्न स्थानमा कार्यक्रम गरिरहेकी छिन् । दर्जन बढी तिज कार्यक्रमका लागि त्यहाँ पुगेकी उनको उद्देश्य गृह जिल्ला दाङका लागि आईसीयू एम्बुलेन्स किन्ने रहेको छ ।

गायक रामजी खाँड र गायिका शान्तारानी परियार अहिले अस्ट्रेलियामा छन् । अस्ट्रेलियामा अर्बन नेप्लीज कम्युनिटीको आयोजनामा गत शुक्रबार आयोजित ‘अर्बन तिज धमाका’ कार्यक्रमका लागि उनीहरू त्यहाँ पुगेका हुन् । अस्ट्रेलियाका अन्य केही स्थानमा पनि उनीहरूले प्रस्तुति दिनेछन् । 

‘दिदीबहिनी तिज’ कार्यक्रम अस्ट्रेलिया आयोजना हुँदैछ । जसमा सम्झना भण्डारी, सम्झना लामिछाने मगर, श्याम राना, लक्ष्मी मल्ल, श्रीकृष्ण बम मल्ल, पार्वती जिसी र चोलेन्द्र पौडेल सहभागी हुँदैछन् ।

rachana

गायिका रचना रिमाल तिज कार्यक्रममा लागि युरोप पुगेकी छिन् । युरोपका विभिन्न ६ देशमा दर्जन बढी कार्यक्रममा उनको प्रस्तुति रहनेछ । लोकगायिका भूमिका गिरीले भारतको बैंगलुरुमा तिज कार्यक्रम गर्दैछिन् । अस्मिता अधिकारी र गायक महेश काफ्ले अमेरिकामा आयोजित तिज कार्यक्रममा सहभागिता जनाइरहेका छन् । 

गायिका एलिना चौहान, बद्री पङ्गेनी, प्रताप दास, कला लम्साल अमेरिकामा कार्यक्रममा रमाइरहेका छन् । तिजको अवसर पारेर अमेरिकाको विभिन्न स्थानमा आयोजित ‘अब गाउँछ अमेरिका’ कार्यक्रममा उनीहरू सहभागी भइरहेका छन् ।

538302730_1289057009552819_2869254039482419521_n

‘परिवारबाट टाढा रहेका नेपालीहरूलाई चाडपर्वमा एक्लोपन महसुस नहोस् र उनीहरूलाई मनोरञ्जन दिन सकियोस् भन्ने उद्देश्यले आफूले विदेशी कार्यक्रममा जोड दिएको एलिना बताउँछिन् । ‘हामी कलाकारको काम नै मनोरञ्जन गराउने हो,’ एलिनाले भनिन्, ‘यसबाट आम्दानी पनि राम्रो हुन्छ ।’

त्यसो त विदेशका कार्यक्रममा मात्र होइन, स्वदेशका कार्यक्रममा पनि कलाकारहरू उत्तिकै व्यस्त छन् । सधैँजसो विदेश कार्यक्रममा व्यस्त रहने गायिका आस्था राउत यो पटक स्वदेशकै कार्यक्रममा रमाइरहेकी छिन् । दुई दिनअघि सिस्नुपानी नेपालले कमलादीस्थित प्रज्ञा भवनमा आयोजना गरेको ‘जुरुक्क कर्णाली’ कार्यक्रममा प्रस्तुति दिएकी उनी आइतबार वर्डलिङ्कले आयोजना गरेको तिज विशेष कार्यक्रममा प्रस्तुति दिन पुगिन् । 

गायिका सारिका घिमिरे यो तिजमा स्वदेशमै कार्यक्रम गरिरहेकी छिन् । आइतबार महेन्द्र पुलिस क्लबमा आयोजित तिज कार्यक्रममा प्रस्तुति दिएकी सारिका सोमबार कोटेश्वर र मंगलबार पशुपति कोटीहोममा आफ्नो साङ्गीतिक प्रस्तुति दिँदैछिन् । 

तिजलाई भनेर ‘सासूको तिज’ र ‘उस्तै छ तिज’ दुई गीत ल्याएकी गायिका सुजाता केसीले हालै सर्लाही लालबन्दीको तिज कार्यक्रममा प्रस्तुति दिएर काठमाडौँ फर्किएकी छिन् । अब मंगलबार काठमाडौँका केही कार्यक्रममा उनी सहभागी हुनेछिन् ।

untitled-1_4Pj4PuO5ja

गायिका लक्ष्मी आचार्य पनि यो तिजमा स्वदेशी कार्यक्रममा व्यस्त छिन् । शनिबार प्रज्ञा भवनमा आयोजित एक तिज कार्यक्रममा कार्यक्रममा प्रस्तुति दिएकी गायिका आचार्यले तिजको व्रतको दिन काठमाडौँका तीन स्थानमा आयोजित कार्यक्रममा प्रस्तुति दिने तय भएको जानकारी दिइन् ।

केही दिन अगाडि जापानको तिज कार्यक्रममा सहभागी भएर फर्किएकी ज्योति मगरले आइतबार सिन्धुपाल्चोकको बाह्रबिसे कार्यक्रममा गरेकी छिन् । उनी अझै केही स्वदेशी कार्यक्रममा सहभागी हुनेछिन् ।

अघिल्ला वर्षहरूमा विदेशका कार्यक्रममा धेरै व्यस्त रहने गायिका माण्डवी त्रिपाठी पनि यो वर्ष स्वदेशी कार्यक्रममा रमाइरहेकी छन् । काठमाडौंका केही कार्यक्रममा प्रस्तुति दिइसकेकी उनी तिजको दिन पनि प्रस्तुति दिँदैछिन् । लोकगायिका राधिका हमाल पनि यो तिजमा स्वदेशकै कार्यक्रममा व्यस्त छिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप