शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

नुर र विदुशी भए ‘मिस्टर एन्ड मिस इस्टपोल’

सोमबार, ०९ भदौ २०८२, ११ : १०
सोमबार, ०९ भदौ २०८२

काठमाडौँ । ‘मिस्टर एन्ड मिस इस्टपोल २०८२’ को उपाधि मिस्टरतर्फ नुर दाहाल र मिसतर्फ विदुशी शाहले जितेका छन् । विजेता दुवैले एक वर्षको छात्रवृत्तिसँगै विभिन्न पुरस्कार हात पारेका छन् ।

सिएस इन्टरटेनमेन्ट नेपालले इस्टपोल सेकेण्डरी स्कुलसँग सहकार्य गर्दै आयोजना गरेको प्रतियोगितामा मिस्टरतर्फ डेरियस महतो र मिसतर्फ छोंगी लामा फस्ट रनरअप, मिस्टरतर्फ ह्यान्सन लामा र मिसतर्फ बियांका रोशन पौडेल सेकेण्ड रनरअप घोषित भए । फस्ट रनर अपले ६ महिनाको छात्रवृत्ति र सेकेण्ड रनर अपले ३ महिनाको छात्रवृत्ति पाएका छन् ।

त्यस्तै मिस्टरतर्फ नमन्य लोप्चन र मिसतर्फ कृशा राउत ‘पब्लिक च्वाइस विनर’ र मिस्टरतर्फ डेसमण्ड घिसिङ र मिसतर्फ लछेन घिसिङ ‘भ्युअर्स च्वाइस विनर’ घोषित भए । पब्लिक च्वाइस विनर विजेताले १० हजार रुपैयाँ र भ्युअर्स च्वाइस विनरले ५ हजार रुपैयाँ जितेका छन् ।

नेपालकी प्रथम नायिका भुवन चन्द प्रमुख निर्णायक रहेको प्रतियोगितामा मोटिभेसनल स्पिकर र साइकोलोजिकल काउन्सिलर अशोककुमार दाहाल, ‘मिस नेपाल २०२०’ नम्रता श्रेष्ठ, गायक लाक्पा शेर्पा, नेसनल चाइल्ड राइट्स काउन्सिलका अध्यक्ष बमबहादुर बानियाँ, लेखक तथा उपन्यासकार भीष्मराज फुलारा र पत्रकार तथा कराँतेको राष्ट्रिय रेफ्री करन तामाङ निर्णायक थिए ।

कार्यक्रममा नेपाल प्रहरीका एआईजी टेकबहादुर तामाङ, टेलिफिल्म लेखक तथा निर्देशक दिवाकर भण्डारी ‘बिचारी काका’ र न्यु लाइफ नेपालका संस्थापक अध्यक्ष राजेन्द्रकुमार खनाललाई सम्मान गरिएको थियो ।

प्रतियोगिताका संयोजक कलाकार छिरिङ शेर्पाले विद्यार्थीहरूको व्यक्तित्व विकास, आत्मविश्वास वृद्धि र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्ने अवसर सिर्जना गर्न प्रतियोगिता आयोजना गरिएको बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप