बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
विराटनगरका रोबोट योद्धा

अन्तर्राष्ट्रिय रोबोटिक्स प्रतिस्पर्धामा उत्रिँदै २० वर्षीय युवा

सोमबार, ०९ भदौ २०८२, १६ : १०
सोमबार, ०९ भदौ २०८२

सारांश

  • विराटनगरका अनुभव बस्नेत एक युवा हुन् जसले रोबोटिक्समा नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिने सपना बोकेका छन्।
  • उनी आईटी विद्यार्थी, जागिरे र संगीतकर्मी हुन्, तर उनको मुख्य चासो रोबोटिक्स हो र उनले यस क्षेत्रमा ६ वर्षदेखि काम गरिरहेका छन्।
  • अनुभव हाल भारतको आईआईटी गुवाहाटीमा हुने रोबोटिक्स प्रतिस्पर्धाको तयारीमा छन्, जहाँ उनी १५ केजी तौल समूहमा प्रतिस्पर्धा गर्दैछन्।

विराटनगर । अनुभव बस्नेत साँझतिर विराटनगरको एउटा क्याफेमा गितारको धुनमा गीत गुनगुनाइरहेका भेटिन्छन् । दिउँसो आफ्नै अफिसमा सोसल मिडिया ह्यान्डल गरिरहेको देखिन्छन् । उनको वास्तविक परिचय यतिमा मात्र सीमित छैन । उनको मन र मष्तिष्कमा एउटा फरक दुनियाँ छ, जहाँ फलामका टुक्रा आपसमा जुध्छन्, मोटरहरू गर्जिन्छन् र प्रविधिको युद्ध हुन्छ ।

२० वर्षीय यी युवा अनुभव आफ्नो पढाइ, जागिर र सङ्गीतलाई सन्तुलनमा राख्दै नेपालको झण्डा अन्तर्राष्ट्रिय रोबोटिक्स प्रतिस्पर्धामा फहराउने सपना देखिरहेका छन् ।

विराटनगरका २० वर्षीय अनुभव बस्नेतको परिचय बहुआयामिक छ । उनी पूर्वाञ्चल विश्वविद्यालको आईटीका विद्यार्थी हुन् । उनी विराटनगर नर्सिङ होममा सोसल मिडिया र कार्यकारी पद सम्हाल्छन् र खाली समयमा रेस्टुरेन्टहरूमा गीत पनि गाउँछन् । यी सबै परिचयलाई छायामा पार्ने उनको सबैभन्दा ठुलो सोख हो ‘रोबोटिक्स’ ।

सानै उमेरदेखि रोबोट र प्रविधिसँगको उनको लगाव थियो । त्यसै लगावले आज उनलाई नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको मैदानमा उत्रिने बाटो बनाइदिएको छ ।

अनुभवको रोबोटिक्स यात्रा विद्यालय तहदेखि नै सुरु भएको हो । विराटनगरको आदर्श स्कुलमा पढ्दा विज्ञान प्रदर्शनीका लागि बनाएको एउटा सामान्य ‘हाइड्रोलिक जेसीबी’ले उनलाई मेसिन र प्रविधिको दुनियाँमा तान्यो । त्यो सामान्य सुरुवातले उनमा एउटा यस्तो भोक जगाइदियो, जसले उनलाई साधारण प्रोजेक्टबाट प्रतिस्पर्धी रोबोट बनाउने दिशामा डोर्‍यायो ।

करिब ६ वर्षअघि उनले ‘टिम डिस्ट्रक्टर’ नामक एउटा समूह बनाए, जसको उद्देश्य थियो– रोबोटिक्स प्रतिस्पर्धामा भाग लिने र जित्ने । यो टोलीले राष्ट्रियस्तरमा आयोजना हुने विभिन्न प्रतियोगितामा आफ्नो बलियो उपस्थिति जनाउँदै आएको छ ।

‘हामीले रोबो वार्स (रोबोट जुधाइ), रोबो रेस र रोबो सकरजस्ता विभिन्न प्रतियोगितामा भाग लिएका छौँ,’ अनुभवले भने, ‘धेरैजसो राष्ट्रिय प्रतियोगितामा हामीले पोडियममा स्थान बनाउन सफल भएका छौँ ।’

राष्ट्रिय सफलतापछि उनको टोलीले अन्तर्राष्ट्रिय मैदानमा पनि पाइला चाल्यो । सन् २०१९ मा भारतको दिल्लीमा भएको टेक्नोजियन वर्ल्ड रोबोटिक्स च्याम्पियनसिप र भीआइटी भेलोर जस्ता प्रतिष्ठित प्रतियोगितामा उनीहरूले भाग लिए । सुरुवाती दिनमा अनुभव र उनको टोलीले सेमिफाइनलबाटै बाहिरिनुपर्ने वा कहिलेकाहीँ छनोट चरण पार गर्न पनि नसक्नेजस्ता चुनौती भोगे । तर हरेक हारले उनीहरूलाई अनुभव र थप सिक्ने अवसर दियो ।

Anuvab Basnet (1)

विगतका अनुभवबाट खारिएका अनुभव अब भारतको प्रतिष्ठित आईआईटी गुवाहाटीमा हुने रोबोटिक्स प्रतिस्पर्धाका लागि तयारी गरिरहेका छन् । यही अगस्ट २८ देखि ३० सम्म चल्ने यो प्रतियोगिताको ‘रोबो वार्स’ इभेन्टमा अनुभव १५ केजी तौल समूहमा आफ्नो रोबोट लिएर भिड्दैछन् । यसपटक उनको टोलीमा काठमाडौँका पवन शर्मा पनि छन् । ‘पहिले हामी अनुभव बटुल्न जान्थ्यौँ, तर अब हाम्रो लक्ष्य नेपालको लागि एउटा पोजिसन लिएर आउनु हो,’ उनले भने ।

बाहिरबाट हेर्दा रोबोटिक्स सामान्य खेलजस्तो देखिए पनि यसको निर्माण प्रक्रिया अत्यन्तै जटिल र खर्चिलो छ । अनुभवका अनुसार एउटा प्रतिस्पर्धी रोबोट बनाउनु कुनै सामान्य काम होइन । सबैभन्दा पहिले ‘सोलिडवर्क्स’ जस्ता सफ्टवेयरमा रोबोटको थ्रीडी डिजाइन तयार पारिन्छ । रोबोटको उद्देश्यअनुसार यसको संरचना, हतियार र प्रयोग हुने धातु (जस्तैः आल्मुनियम, टाइटेनियम, विशेष ग्रेडको फलाम) निर्धारण गरिन्छ । त्यसपछि निर्माण गर्नु यो प्रक्रियाको सबैभन्दा ठुलो चुनौती हो । नेपालमा उच्चस्तरीय सीएनसी मेसिनजस्ता प्रविधिको अभाव भएकाले आफ्नो डिजाइन भारत पठाउनुपर्छ । ‘मैले यहाँबाट डिजाइन पठाएपछि उनीहरूले ठ्याक्कै त्यही तौल र आकारमा पार्टपुर्जा बनाएर पठाइदिन्छन्, जुन सुविधा नेपालमा छैन,’ उनले भने ।

भारतबाट पार्टपुर्जा आएपछि त्यसमा मोटर, ईएससी, रिमोट कन्ट्रोल सिस्टम (ट्रान्समिटर–रिसिभर) जडान गरिन्छ र रोबोटलाई पूर्णता दिइन्छ । यो पूरै प्रक्रियामा कम्तीमा पनि साढे दुई लाख रुपैयाँ खर्च हुने अनुभवको भनाइ छ । मेकानिकल पार्टपुर्जामा लगभग ८०–९० हजार, इलेक्ट्रोनिक्समा डेढ लाखसम्म र अन्य खर्च जोड्दा यो रकम सजिलै पुग्छ । ‘यो एक किसिमले जुवाजस्तै हो,’ उनले मुस्कुराउँदै भने, ‘लगानी डुब्न पनि सक्छ, उठ्न पनि सक्छ ।’

Anuvab Basnet (2)

यति महँगो प्रतिस्पर्धालाई कसरी धानिरहेका छन् त अनुभव ? उनी सरकारी सहयोग शून्य रहेको बताउँछन् । ‘नेपाल सरकारको त कुरै नगरौँ,’ उनले भने । उनको मुख्य आर्थिक स्रोत भनेको विगत दुई वर्षदेखि उनलाई सहयोग गर्दै आएका दुई संस्था हुन्, जसमा विराट क्यान्सर इन्स्टिच्युट र लोटस प्लास्टिक्स एन्ड इन्डस्ट्रिज छन् । यी संस्थाले उनलाई प्रायोजकको रूपमा निरन्तर सहयोग गरिरहेका छन् ।

यसबाहेक, राष्ट्रिय प्रतियोगिताहरू जितेर कमाएको पुरस्कार राशि पनि उनले व्यक्तिगत खर्चमा नलगाई रोबोटमै पुनः लगानी गर्छन् । आफ्नो पढाइ र प्रतियोगिता धान्न उनी आफैँ पनि जागिर गर्छन् ।

अनुभवका अनुसार नेपालमा रोबोटिक्सको विकासका लागि सबैभन्दा ठुलो बाधा भनेको निर्माण र नीतिगत वातावरणको अभाव हो । ‘सरकारले पैसा दिनुपर्छ भन्ने होइन, तर एउटा यस्तो वातावरण बनाइदिनु पर्छ, जहाँ निजी क्षेत्रले लगानी गर्न सकोस् र यो क्षेत्रको विकास होस्,’ उनले भने ।

नेपालमा ‘रोबोटिक्स एसोशिएसन अफ नेपाल’ जस्ता संस्थाले यन्त्रजस्ता कार्यक्रमहरू आयोजना गरे पनि त्यसले निरन्तरता पाउन सकेको छैन । यदि यस्ता कार्यक्रमहरू नियमित हुने हो भने युवाहरूमा थप उत्साह जाग्ने र यो क्षेत्रले व्यावसायिक रूप लिने उनको विश्वास छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप