सजग र सशक्त तिजको चाहना
नेपालको सामाजिक संरचना र सांस्कृतिक जीवनशैलीमा चाडपर्वहरू गहिरो रूपमा जरा गाडेर बसेका छन् । तीमध्ये तिज पर्वलाई हिन्दु महिलाहरूको जीवनसँग विशेष सम्बन्ध राख्ने चाडका रूपमा हेरिन्छ । यो पर्व परम्परागत रूपमा आत्मशुद्धि, धार्मिक आस्था र पारिवारिक समर्पणसँग जोडिएको मानिन्छ । विवाहित महिलाहरूले पतिको दीर्घायुका लागि व्रत बस्ने, अविवाहित महिलाहरूले योग्य जीवनसाथीको कामना गर्ने अनि माइती पक्षसँग आत्मीयता पुनःस्थापना गर्ने अवसरका रूपमा तिजलाई मनाउने गरिन्छ ।
समयसँगै तिजको स्वरूप तीव्र रूपले परिवर्तन हुँदै गएको छ । यो परिवर्तन केवल सामाजिक माग अनुसार भएको विकास हो त ? कि मौलिकताको नाममा सुरु भएको विकृति ? अहिलेको तिज परम्पराको संरक्षणभन्दा पनि प्रदर्शनमुखी भोगवाद, बजारवाद र प्रतिस्पर्धाको उत्सव बनेको देखिन्छ । विशेषतः सहरी क्षेत्रका महिलाका लागि तिज अब फेसन, डिजे पार्टी र सामाजिक सञ्जालमा आफ्नो उपस्थिति देखाउने माध्यम बनेको छ । टोकियोदेखि सिड्नी, दोहाबाट टोरन्टोसम्म नेपाली महिलाले तिज मनाइरहे पनि त्यसमा मौलिकताभन्दा ज्यादा ‘ग्ल्यामर’ हाबी देखिन्छ । लाखौँको गहनाको प्रदर्शन, महँगा पार्टी प्यालेसहरूमा हुने भोज, अनि सामाजिक सञ्जालका पोस्टहरूले तिजको वास्तविक सन्देशलाई छायामा पारिरहेका छन् । यसरी तिज एक प्रकारको सांस्कृतिक फेसन सोमा रूपान्तरण हुँदै छ, जसले गर्दा मूल मर्म गुम्न थालेको छ ।
त्यस्तै तिजमा अझै पनि केही अभ्यास छन् जुन आजको सन्दर्भमा नारी सशक्तीकरणको अवधारणासँग मेल खाँदैनन् । व्रतको नाममा दिनभरि पानी नपिई नाचगान गर्नु, महँगा लुगा–गहनामा सजिनु, अनि व्रतपश्चात् पतिका खुट्टा धोएको पानी पिउनुजस्ता परम्परा अझै जीवित छन् । यस्ता अभ्यासले महिलाको भौतिक स्वास्थ्यमाथि मात्र नभई मानसिक र सामाजिक अवस्थामा समेत नकारात्मक प्रभाव पार्छन् । विज्ञानको दृष्टिले हेर्दा उपवासले कसैको आयु बढाउँदैन र खुट्टा धोएको पानी पिउनु प्रेमको प्रमाण हुँदैन । यस्ता परम्पराले महिलालाई दैवीकरण गरिएको पुरुषप्रतिको समर्पणमा सीमित राख्छन्, जसले पितृसत्तात्मक सोचलाई निरन्तरता दिन्छ ।
आज पनि महिलाले तिजमा पतिका लागि व्रत बस्छन्, तर के पुरुषहरूले पनि आफ्नी पत्नीको दीर्घायुका लागि त्यही त्याग गर्छन् ? यसरी हेर्दा तिज परम्पराको आवरणभित्र लुकेको असमानताको एउटा जीवन्त उदाहरण पनि हो यो, जसले महिलालाई स्वतन्त्र व्यक्तित्वको साटो समर्पित पात्रमा सीमित गरिदिन्छ ।
यद्यपि तिजको केवल नकारात्मक पक्ष छैन । विशेष गरी ग्रामीण महिलाका लागि तिज आत्म–अभिव्यक्तिको माध्यम बनेको छ । उनीहरूले आफ्ना पीडा, दुःख, अन्याय र सामाजिक कुरीतिमाथि तिज गीतहरूमार्फत आवाज उठाउने परम्परा विकास गरेका थिए । घरेलु हिंसा, बहुविवाह, पारिवारिक शोषणजस्ता विषयवस्तु गीतमा प्रकट हुन्थे तर हाल तिज गीतहरू पनि मौलिकता गुमाउँदै व्यावसायिकता र छाडा मनोरञ्जनमा केन्द्रित हुन थालेका छन् । गीतमा सामाजिक मुद्दाको साटो भाइरल बन्ने होड देखिन्छ ।
तिजको रूपान्तरण समयको माग हो भन्ने बहानामा हामीले यसका नकारात्मक रूपहरूलाई नजरअन्दाज गर्नु हुँदैन । परम्परा भनेको स्थिर हुँदैन, त्यो समय, चेतना र आवश्यकता अनुसार विकसित हुन्छ तर त्यो विकास प्रगतिशील र समावेशी हुनुपर्छ, बाहिरी सजावटमा सीमित हुने होइन । आजको तिजले महिलाको आत्मनिर्भरता, स्वास्थ्य, समानता र अधिकारको सन्देश दिनुको साटो अझै उनीहरूलाई परनिर्भर, दबाबयुक्त र प्रतिस्पर्धात्मक भूमिकामा राखिरहेको छ ।
प्रवासमा रहेका नेपाली महिलाले पनि तिज मनाउने क्रम बढ्दै गएको छ । त्यहाँ पनि आर्थिक र सामाजिक वर्गीय विभाजन झन् स्पष्ट देखिन थालेको छ । आर्थिक रूपमा सक्षम महिलाले हजारौँ डलर खर्चेर महँगा गहना, भोज र सजावटका साथ तिज मनाउँछन् तर न्यून आय भएका महिला ती रीतिहरू पूरा गर्न नसकेर आत्मग्लानिमा डुब्ने गरेका छन् । यस्तो प्रवृत्तिले तिजको समावेशी भावना खण्डित बनाइरहेको छ ।
अब तिजलाई आत्म–अधिकारको पर्वका रूपमा पुनर्परिभाषित गर्नुपर्ने समय आएको छ । नारीले श्रीमान्को दीर्घायुका लागि उपवास बस्नुभन्दा पहिला आफ्नो स्वास्थ्य र आत्मसम्मानका लागि ख्याल गर्नुपर्छ । नारी–पुरुष समानताको संस्कारलाई प्रोत्साहन गर्दै धर्मको नाममा लादिएका मानसिक दासत्वका अभ्यासको अन्त्य गर्नुपर्ने बेला हो ।
हाम्रो तिज गीत अब केवल माइती सम्झेर रुनुपर्ने माध्यम होइन, सामाजिक अन्यायविरुद्ध आवाज उठाउने सशक्त साधन बन्नुपर्छ । पारम्परिक भाकाहरूलाई जीवित राख्दै नयाँ गीत, कविता र नृत्यमार्फत समाज परिवर्तनको सन्देश दिन सक्ने वातावरण तयार गर्नुपर्छ ।
पञ्चायतकालमा महिलाहरूले तिजलाई तानाशाही व्यवस्थाविरुद्धको चेतनाको पर्व बनाएका थिए । आज पनि जब समाज महँगी, भ्रष्टाचार, महिला हिंसा र विभाजनकारी सोचले ग्रस्त छ, तिजलाई सामाजिक न्यायको अभियानका रूपमा प्रयोग गर्न सकिन्छ । हाम्रो संविधानले महिलालाई थुप्रै अधिकार दिएको छ, तर तिनको व्यावहारिक कार्यान्वयन महिलाहरूको सचेत सक्रियतामै निर्भर छ । तिजजस्ता सामूहिक पर्वहरू चेतनाको लहर बोक्ने सबल माध्यम बन्न सक्छन्, हामीले त्यसलाई सही दृष्टिकोणबाट उपयोग गर्न सक्यौँ भने ।
पञ्चायतकालमा महिलाहरूले तिजलाई तानाशाही व्यवस्थाविरुद्धको चेतनाको पर्व बनाएका थिए । आज पनि जब समाज महँगी, भ्रष्टाचार, महिला हिंसा र विभाजनकारी सोचले ग्रस्त छ, तिजलाई सामाजिक न्यायको अभियानका रूपमा प्रयोग गर्न सकिन्छ ।
अन्ततः तिज हाम्रो संस्कृति हो । संस्कृति तबसम्म जोगिन्छ जबसम्म त्यो समयसँगै अघि बढ्न सक्छ । हामी तिजलाई न अन्ध परम्पराको नाममा जोगाऔँ, न त आधुनिकताको नाममा बिगारौँ । हामी तिजलाई बनाऔँ— सजग, सचेत र सशक्त महिलाहरूको उत्सव । जहाँ नारी केवल देखिने पात्र नभई विचार, चेतना र परिवर्तनकी वाहक होस् ।
तिज रमाइलो होस् तर सोचपूर्ण होस् । यो केवल चाड नभई सांस्कृतिक विमर्श, लैङ्गिक समानता र सामाजिक रूपान्तरणको सशक्त मञ्च होस् । आजको तिज भक्ति र सङ्घर्ष दुवैको प्रतीक बन्न सक्छ, हामीले यसलाई प्रगतिशील, वैज्ञानिक र मानवीय दृष्टिकोणबाट पुनः परिभाषित गर्न सक्यौँ भने ।
त्यसैले तिज अब आत्मसम्मान, समानता र सामाजिक उत्तरदायित्वको उत्सव बन्नुपर्छ । नारीले केवल रमाइलो गर्न होइन, परिवर्तन ल्याउन पनि तिज मनाउनुपर्छ । हामी सबै सन्तुलित सोचका साथ सचेत भएर तिजका साँचो उत्तराधिकारी बनौँ—जो नाच्छे, गाउँछे, रमाउँछे, तर विवेकसाथ ।
सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा हरितालिका तिज २०८२ को हार्दिक मङ्गलमय शुभकामना ।
खजुरा, बाँके
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण