शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
अन्तर्वार्ता

मनिषसँग विद्याले भनिन्– म अर्को बाटो अपनाउन तयार छु

मङ्गलबार, १० भदौ २०८२, १४ : ४०
मङ्गलबार, १० भदौ २०८२

सारांश

  • पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले रास्वपाका प्रवक्तासँगको भेटमा केपी ओलीप्रति असन्तुष्टि व्यक्त गरिन्।
  • भण्डारीले सक्रिय राजनीतिमा फर्किने र नयाँ शक्तिलाई प्रोत्साहन गर्ने इच्छा व्यक्त गरिन्।
  • भण्डारीले एमालेको विधान अधिवेशनसम्म पर्खने र त्यसपछि अर्को बाटो अपनाउन तयार रहेको बताइन्।
00:00 / NaN:NaN
Audio By AI

नेकपा(एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले पार्टी सदस्यता नवीकरण रद्द गरिदिएपछि असन्तुष्ट रहेकी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का प्रवक्ता मनिष झासँग डेढ घण्टा छलफल गरेकी छिन् । कुराकानीको क्रममा ओलीको गतिविधिप्रति भण्डारीले असन्तुष्टि पोखेकी हुन् । 

सक्रिय राजनीतिबाट आफू पछाडि नहट्ने, परिआए अर्को बाटो अपनाउन तयार रहेको स्पष्ट सन्देश दिएको बुझिएको छ । यसै विषयमा प्रवक्ता झासँग रातोपाटीकर्मी गणेश पाण्डेले कुराकानी गरेका छन्–

  • पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग डेढ घण्टा के–के कुराकानी भयो ?

म उहाँको घरमा बिहान १० बजे पुगेँको थियो । करिब डेढ घण्टा हामी दुई जनाबिच मात्र कुराकानी भयो । कुराकानी अहिलेको समसामियक विषयमा केन्द्रित रह्यो ।

पहिलो, सहकारीको मुद्दालाई समस्या समाधान गर्नेभन्दा पनि जसरी राजनीतिक मुद्दा बनाइएको छ, त्यसमाथि उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो । ‘रविप्रति भइरहेको व्यवहारमा मेरो असन्तुष्टि र सरोकार छ, उहाँप्रति मेरो सद्भाव छ,’ उहाँले भन्नुभयो ।

दोस्रो, सक्रिय राजनीतिमा आफू अगाडि बढ्न खोजेको तर रोकिएको उहाँको आशय थियो । उहाँले भन्नुभयो, ‘अस्तिसम्म अन्तर्वार्तामा विद्या भण्डारी किन सक्रिय हुनुहुँदैन भन्ने व्यक्ति (केपी ओलीप्रति सङ्केत) ले नै अहिले मलाई रोकिरहनुभएको छ ।’

तेस्रो, नयाँ शक्तिलाई प्रोत्साहन गर्ने विषयमा आफ्नो सदायता रहने बताउनुभयो । उहाँले हामीजस्ता नयाँ राजनीतिक शक्तिप्रति सकारात्मक सरोकार रहेको बताउनुभयो । ‘तपाईंहरू विचारको बहस गर्नुहोस् । मैले के सघाउनुपर्छ, अभिभावकको भूमिका निर्वाह गर्न म तयार छु  मेरो तर्फबाट तपाईंहरूलाई प्रोत्साहन छ’, उहाँले भन्नुभयो ।

  • भण्डारीको आशय वैकल्पिक पार्टीको नेतृत्व गरेर अगाडि बढ्ने देखियो कि एमालेमै नेतृत्व लिएर त्यसलाई पुनर्गठन गरी अभिभावकीय भूमिकामा सबैलाई समेटेर लैजाने आशय थियो ?

उहाँले मेरो पहिलो प्राथमिकता एमाले नै हो, म एमालेबाटै राजनीति गर्न चाहन्छु भन्नुभयो । उहाँ एमालेको विधान अधिवेशनसम्म पर्खने मुडमा हुनुहुन्छ । उहाँको भनाइ त्यतिसम्म म पर्खन्छु । त्यसपछि पनि केही निर्णय गर्नुपर्‍यो भने म अर्को बाटो अपनाउन तयार छु, तर सक्रिय राजनीतिबाट फर्किने वा रोकिने छैन भन्नुभयो ।

  • उहाँले सक्रिय राजनीतिमा फर्किने उद्घोषबाट अब पछि नहट्ने स्पष्ट सन्देश दिनुभएको हो ?

हो, त्यो सन्देश एकदमै स्पष्ट थियो ।

  • आगामी चुनावलाई लक्षित गरी उहाँले अभिभावकीय भूमिका खेल्छु भन्नुभएको हो कि तपाईंहरूको सहयोग माग्नुभएको हो ?

होइन, उहाँले सहयोग माग्नुभएको होइन। उहाँको भनाइ थियो तपाईंहरू अगाडि बढ्नुहोस्, हामी तपाईंहरूलाई प्रोत्साहन दिन, गाइड गर्न र मेन्टरसिप गर्नका लागि छौँ। नयाँ पुस्ता राजनीतिमा आउनुपर्छ । उहाँले देशको लागि राम्रो होस् भन्ने आशय व्यक्त गर्नुभयो ।

  • तपाईंले आफ्नो पार्टीले सामना गरिरहेको परिस्थिति र अन्य विषयमा के–कस्ता कुरा राख्नुभयो ?

मैले दुईवटा मुख्य कुरा राखेँ । पहिलो हामी कुनै विकल्प नभएर राजनीतिमा आएको होइन, आ–आफ्नो पृष्ठभूमिमा सफल यात्रा गरिरहेका व्यक्तिहरू अब राजनीतिमा आउनुपर्छ भनेर होमिएका हौँ । यसमा उहाँले सकारात्मक रूपमा सहमति जनाउनुभयो ।

दोस्रो जसरी पुरानो पुस्ताका नेताहरूले हामीप्रति कुरा काट्ने, गाली गर्ने र खिसीट्युरी गर्ने व्यवहार देखाइरहनुभएको छ, त्यसले हामीलाई राम्रो अनुभूति गराएको छैन भनेर सुनाएँ। यो कुरामा उहाँ जानकार हुनुहुँदो रहेछ। उहाँले केही व्यक्तिको नामै लिएर भन्नुभयो, ‘मैले उनीहरूलाई यस्तो नगर्नुहोस्, सधैँ तपाईं र म रहँदैनौँ, नयाँ पुस्तालाई प्रोत्साहन गर्नुपर्छ भनेर कुरा गरेको थिएँ ।’

  • त्यसोभए केपी ओलीको पार्टी र सरकार सञ्चालनप्रति भण्डारीको चित्त बुझेको रहेनछ, होइन त ?

हो, उहाँको चित्त बुझेको रहेनछ ।

  • भेटघाटका लागि उहाँले बोलाउनुभएको हो कि तपाईंहरूले पहल गर्नुभएको हो ?

यसलाई दुईपक्षीय चासो भन्न सकिन्छ । करिब दुई महिनाअघि उहाँको तर्फबाट एक व्यक्तिले भेट्न आउन आग्रह गर्नुभएको थियो । मैले उचित समयमा आउँछु भनेको थिएँ। अहिले यो सही समय हो भनेर मैले सन्देश पठाएपछि भेट भएको हो। म एक्लै गएको थिएँ, उहाँ पनि एक्लै हुनुहुन्थ्यो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप