बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय
राज्य व्यवस्था तथा सुशासन समिति

न्यौपानेद्वारा राज्य व्यवस्था तथा सुशासन समिति सभापतिमा उम्मेदवारी दर्ता

मङ्गलबार, १० भदौ २०८२, १५ : ०३
मङ्गलबार, १० भदौ २०८२

सारांश

  • ईश्वरीदेवी न्यौपानेले राज्य व्यवस्था तथा सुशासन समिति सभापति पदका लागि मनोनयन दर्ता गरिन्।
  • न्यौपानेको मनोनयनमा कांग्रेस सांसद रामहरि खतिवडा र एमाले सांसद कृष्णगोपाल श्रेष्ठ प्रस्तावक र समर्थक रहेका छन्।
  • यसअघि उपसभामुखमा पराजित न्यौपाने कांग्रेसबाट समानुपातिक सांसद हुन्।

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति सभापति पदमा उम्मेदवारी दर्ता गरेकी छन् । 

मंगलबार समिति सभापति निर्वाचनका लागि तोकिएको समयमा न्यौपानेले उम्मेदवारी दर्ता गरिएकाे सङ्घीय संसद् सचिवालयका सचिव हर्कराज राईले जानकारी दिए । 

उनको उम्मेदवारीमा प्रस्तावका कांग्रेस सांसद रामहरि खतिवडा र समर्थक एमाले सांसद कृष्णगोपाल श्रेष्ठ छन् । खतिवडा यो भन्दा अघिका समिति सभापति थिए । कुलिङ पिरियड सम्बन्धी विवादमा मुछिएपछि सभापति पदबाट खतिवडाले गत साउन २८ गते राजीनामा दिएका थिए ।

नेपाली कांग्रेसका शीर्ष नेताहरूको बिहान सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको बैठकले न्यौपानेलाई राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो । पार्टीको त्यो निर्णयपछि न्यौपानेले संसदीय सुनुवाइ समिति (संयुक्त)बाट राजीनामा दिएकी थिइन् । 

सुनुवाइ समितिबाट राजीनामा दिएर न्यौपानेले राज्य व्यवस्था तथा सुशासन समिति सभापतिमा उम्मेदवारी दिएकी हुन् । 

न्यौपाने कांग्रेसबाट समानुपातिक तर्फकी सांसद हुन् । उनलाई यसअघि कांग्रेसले प्रतिनिधिसभाको उपसभामुख पदमा पनि उम्मेदवार बनाएको थियो । उनी राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा रानामगरसँग उपसभामुखमा पराजित भएकी थिइन् । 

राज्य व्यवस्था समितिको सभापति पदमा उम्मेदवारी दिने समय दिउँसो १ बजेदेखि दिउँसो ४ बजेसम्म तय गरिएको थियो । निर्वाचन भने बुधबार दिउँसो ३ बजे समितिको बैठकमै हुने कार्यतालिका सङ्घीय संसद् सचिवालयले सोमबार नै सार्वजनिक गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप