शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

सरकारले उखु कृषकलाई संरक्षण गर्नै चाहेन : वर्षमान पुन

शुक्रबार, १३ भदौ २०८२, १७ : ०३
शुक्रबार, १३ भदौ २०८२

सारांश

  • नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले सरकारले किसानलाई संरक्षण गर्न नसकेको आरोप लगाए।
  • उनले सरकारले स्वदेशी उद्योग र कृषकलाई प्राथमिकता नदिएको र विदेशबाट चिनी आयातमा ध्यान दिएको बताए।
  • पुनले किसानलाई अनुदान रकम उपलब्ध गराउन र उखु किसानको माग तत्काल पूरा गर्न सरकारलाई दबाब दिए।

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले सरकारले कृषकलाई संरक्षण गर्ने इच्छाशक्ति नै नदेखाएको आरोप लगाएका छन् ।

गत वर्षको बक्यौता अनुदान उपलब्ध गराउन उखु किसानले दबाब दिइरहेका बेला पुनले सरकारसँग स्वदेशी उद्योग र कृषकलाई प्राथमिकता दिने दृष्टिकोण नै नभएको बताए । सङ्घीय संसद् भवन परिसरमा सञ्चारकर्मीले राखेको प्रश्नको जवाफ दिँदै उनले तत्काल किसानलाई अनुदान रकम उपलब्ध गराउन सरकारलाई दबाब दिने बताएका हुन् ।

उनका अनुसार अर्थ मन्त्रालयमा पर्याप्त बजेट छ तर किसानलाई प्राथमिकता नदिइएको छ । पुनले भने, “अर्थ मन्त्रालयमा पैसा छ । किसानलाई विगतमा दिइएको कम्तीमा पनि प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान दिनै पर्छ । करिब १९–२० खर्ब रुपैयाँको बजेट भएको देशमा किसानलाई सहयोग नदिनु सरकारको दृष्टिकोणकै समस्या हो ।”

पुनले सरकारको ध्यान कृषक र स्वदेशी उत्पादन संरक्षणभन्दा विदेशी चिनी आयातमा रहेको आरोप लगाए । उनका शब्दमा, “विदेशबाट चिनी आयात गर्न सहज छ भन्ने सोचमा सरकारले स्वदेशी कृषक र उद्योगलाई संरक्षण गर्ने दृष्टिकोण नै राखेन । यही मुख्य समस्या हो ।”

उपमहासचिव पुनले उखु किसानको माग तत्काल पूरा गर्न सरकारलाई सचेत गराएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप