आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

प्यालेस्टिनी अधिकारीलाई यूएन महासभामा सहभागी हुन अमेरिकाको रोक

शनिबार, १४ भदौ २०८२, २० : ३६
शनिबार, १४ भदौ २०८२

सारांश

  • अमेरिकी विदेश मन्त्रालयले प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासलाई आगामी यूएन महासभामा सहभागी हुन रोक लगाएको छ।
  • अमेरिकी विदेशमन्त्रीले शान्ति प्रयासलाई कमजोर पारेको र एकतर्फी राज्यको मान्यता खोजेको आरोप लगाएका छन्।
  • फ्रान्सले यस महासभामा प्यालेस्टाइनलाई मान्यता दिने प्रयासको नेतृत्व गरिरहेको छ, जसलाई अमेरिकाले विरोध गरेको छ।
00:00 / NaN:NaN
Audio By AI

वासिङ्टन डिसी । प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासलाई आगामी महिनामा न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघ (यूएन) महासभामा सहभागी हुन रोक लगाइएको छ। अमेरिकी विदेश मन्त्रालयले अब्बाससहित करिब ८० जना प्यालेस्टिनी अधिकारीहरूको भिसा रद्द गरेको जनाएको हो।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले उनीहरूले शान्ति प्रयासलाई कमजोर पारेको र ‘काल्पनिक प्यालेस्टिनी राज्यको एकतर्फी मान्यता खोजेको’ आरोप लगाएका छन्। यस निर्णयलाई इजरायलले स्वागत गरेको छ।

यो कदम असामान्य मानिएको छ, किनकि यूएन मुख्यालयमा कुनै पनि देशका अधिकारीलाई सहभागी गराउन अमेरिकी पक्षले सुविधा दिनुपर्ने परम्परा छ। तर यसपटक वासिङ्टनले अब्बास र अन्य अधिकारीहरूलाई रोक लगाएको हो।

यसैबिच, फ्रान्सले यस महासभामा प्यालेस्टाइनलाई मान्यता दिने अन्तर्राष्ट्रिय प्रयासको नेतृत्व गरिरहेको छ, जसलाई डोनाल्ड ट्रम्प प्रशासनले कडा विरोध गर्दै आएको छ।

यसअघि यूएनका लागि प्यालेस्टिनी राजदूत रियाद मन्सुरले अब्बासले उच्चस्तरीय बैठकमा सहभागिता जनाउने बताएका थिए। तर अमेरिकी विदेश मन्त्रालयले पिएलो र प्यालेस्टिनी प्राधिकरणका प्रतिनिधिहरूलाई भिसा नदिने वा रद्द गर्ने निर्णय लिएको स्पष्ट पारेको हो।

राष्ट्रपति अब्बासको कार्यालयले यस निर्णयलाई ‘अन्तर्राष्ट्रिय कानुन र यूएन मुख्यालय सम्झौताको प्रत्यक्ष उल्लङ्घन’ भनेको छ र अमेरिकालाई आफ्नो निर्णय फिर्ता लिन आग्रह गरेको छ। यसैबिच, इजरायलका विदेशमन्त्री गिडियन सारले अमेरिकाको कदमलाई समर्थन गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप