शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
पर्यटन

पर्यटन प्रवर्द्धन गर्न जनकौली वनमा जिप सफारी

आइतबार, १५ भदौ २०८२, ०२ : ३३
आइतबार, १५ भदौ २०८२

सारांश

  • चितवनको सौराहामा रहेको जनकौली सामुदायिक वनमा जिप सफारी सेवा सुरु भएको छ, जसले पर्यटकलाई वन्यजन्तु अवलोकनको अवसर दिनेछ।
  • सफारीले स्थानीय समुदायको जीवनस्तर उकास्ने र पर्यापर्यटन प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ, जसमा दुर्लभ वन्यजन्तुको अवलोकन गराइनेछ।
  • वरिष्ठ संरक्षण अधिकृतका अनुसार, यस सफारीले पर्यटकीय सम्भावना बढाउनेछ र मानव-वन्यजन्तु द्वन्द्व कम गर्न मद्दत गर्नेछ।

चितवन । चितवनको प्रमुख पर्यटकीय गन्तव्य सौराहाको आडैमा अवस्थित जनकौली मध्यवर्ती सामुदायिक वनमा जिप सफारी सेवा सुरु गरिएको छ । पर्यापर्यटन प्रवर्द्धन र स्थानीय समुदायको जीवनस्तर उकास्ने उद्देश्यले यो सेवा सञ्चालनमा ल्याइएको हो ।

सौराहा घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकलाई एकसिङ्गे गैँडा, बाघ, जङ्गली हात्ती, भालु, चितुवा, चित्तल, जरायोजस्ता दुर्लभ वन्यजन्तुको अवलोकन गराउने लक्ष्यसहित सफारी सुरु गरिएको वनका अध्यक्ष जोगेन्द्र महतोले बताए ।

विसं २०६० देखि मध्यवर्तीसँग जोडिएको यस सामुदायिक वन करिब एक सय छ हेक्टर क्षेत्रफलमा फैलिएको छ । झन्डै दुई हजार उपभोक्ता रहेको वनमा २०६६ सालदेखि यहाँ रहेको ढुङ्ग्रेखोलामा डुङ्गा सेवा पनि सञ्चालनमा रहेको महतोले जानकारी दिए ।

उनका अनुसार सफारीका लागि रुटमा पर्यटकले डेढदेखि दुई घण्टासम्म जङ्गल डुल्न सक्ने व्यवस्था मिलाइएको छ । प्रत्येक जिपका लागि रु आठ सय प्रवेश शुल्क र रु पाँच सय संरक्षण शुल्क तोकिएको छ । हाल बिहान र बेलुका गरेर १४ वटा जिप रहेका छन् ।

जिप सफारीको सुरुआतसँगै चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत गणेश पन्तले जनकौलीको जिप सफारी अन्य मध्यवर्ती क्षेत्र विशेषतः बरण्डाभारको सफारीभन्दा छोटो र फरक प्रकृतिको भएको उल्लेख गर्दै यसले पर्यटकीय सम्भावना अझ विस्तार गर्न सक्ने विश्वास व्यक्त गरे ।

उनले भने, “नेपालमा आउने ६० प्रतिशतभन्दा बढी पर्यटक संरक्षित क्षेत्रको भ्रमण गर्दछन् । यस क्षेत्रमा पनि त्यसअनुसारको सम्भावना छ । मानव र वन्यजन्तुबीचको द्वन्द्वलाई न्यूनमा झार्ने प्रयास गर्दै, व्यवस्थित रूपमा गतिविधि सञ्चालन गर्न आवश्यक छ ।”

पन्तले राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्र फरक प्रकृतिका संरचना भएको उल्लेख गर्दै सामुदायिक वनमा सञ्चालन हुने पर्यटकीय गतिविधिका लागि मध्यवर्ती क्षेत्रको कानुन संशोधन आवश्यक रहेको औँल्याए। उनले सोहीअनुसार हाल वन तथा वातावरण मन्त्रालयले कार्यदल गठन गरी ‘मध्यवर्ती क्षेत्र व्यवस्थापन नियमावली’ संशोधन प्रक्रिया अघि बढाएको जानकारी दिए ।

सामुदायिक वनमा जिप सफारीबाट रोजगारी, आयआर्जन र दीर्घकालीन वन्यजन्तु संरक्षणसँग जोडेर अगाडि बढाउनुपर्नेमा जोड दिँदै वरिष्ठ संरक्षण अधिकृत पन्तले आवश्यक सहयोग प्रदान गरिने प्रतिबद्धता पनि व्यक्त गरे । चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएका अन्य केही मध्यवर्ती सामुदायिक वनमा यसअघि नै जिप सफारी सञ्चालन भइसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप