शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अन्तर्वार्ता

‘जबरजस्त ढङ्गले विधेयक पास गरे लागु हुन दिँदैनौँ’

‘यो शिक्षा विधेयक पारित भए नेपालको शिक्षा ५० वर्ष पछि धकेलिन्छ’
आइतबार, १५ भदौ २०८२, ०८ : ३०
आइतबार, १५ भदौ २०८२

सारांश

  • निजी विद्यालय सञ्चालकहरू नयाँ शिक्षा विधेयकको विरोधमा आन्दोलनमा उत्रिएका छन्, जसले निजी क्षेत्रको लगानी र सञ्चालनमा असर पार्ने देखिएको छ।
  • विधेयकले निजी विद्यालयहरूलाई गैर-नाफामूलक बनाउने प्रावधान, छात्रवृत्ति दायित्व बढाउने र अन्य सुविधाहरूको व्यवस्था गर्नुपर्ने कुरामा सञ्चालकहरूको आपत्ति छ।
  • सञ्चालकहरूले सरकारसँग संवाद जारी राखेका छन् र विधेयक परिमार्जनको माग गर्दैछन्, अन्यथा आन्दोलन जारी रहने चेतावनी दिएका छन्।

विराटनगर । नेपालको शिक्षा क्षेत्रमा निजी क्षेत्रको लगानी झन्डै ६ खर्ब छ । उक्त लगानीबाट देशभरमा १२ हजारभन्दा बढी विद्यालयहरू सञ्चालित छन् । यी विद्यालयहरूमा २० देखि २२ लाख विद्यार्थी अध्ययनरत छन् । जुन नेपालको शिक्षा क्षेत्रको ३५ प्रतिशत हाराहारी हो ।

सरकारले ल्याएको नयाँ शिक्षा विधेयकको विषयलाई लिएर त्यही निजी विद्यालय सञ्चालकहरू आन्दोलनमा छन् । विधेयकको वर्तमान स्वरूपले शिक्षा क्षेत्रलाई समाजवादी कि पुँजीवादी कुन दिशामा लैजान खोजिएको हो ? विधेयकको विरोध गर्नुपर्ने अवस्था किन आयो ? विधेयकमा राम्रा पक्ष छन् कि छैनन् ? 

यी र यस्तै विषयमा प्याब्सनका पूर्वअध्यक्ष तथा हालका सल्लाहकार टीकाराम पुरीसँग रातोपाटीका सम्वाददाता अर्जुन आचार्यले कुराकानी गरेका छन् । 

शिक्षा विधेयकको विषयमा निजी क्षेत्रबाट तपाईंंहरू आन्दोलनमा हुनुहुन्छ । विधेयकमा के प्रावधान समावेश गरियो जसले तपाईंंहरूलाई विरोधमा उत्रिन बाध्य बनायो ? हुनुपर्ने के थियो ?

यो शिक्षा विधेयक २०८० सालमा तत्कालीन प्रचण्ड सरकारले संसद्मा प्रवेश गराएको थियो । विधेयक संसदमा प्रवेश गर्नेबित्तिकै विवाद सुरु भयो । विशेषगरी कम्पनी ऐनअन्तर्गत सञ्चालित विद्यालयहरूले सात वर्षभित्र दायित्व फरफारक गरी सार्वजनिक गुठीमा दर्ता हुनुपर्ने प्रावधानमा हाम्रो मुख्य आपत्ति थियो । यसका साथै भाषासँग सम्बन्धित अन्य केही बुँदाहरूमा पनि हाम्रो विरोध थियो । त्यतिबेलाका प्रधानमन्त्रीले हाम्रा कुरा सहज रूपमा लिएर ‘हामी यो शिक्षालाई अहिले नै पूर्ण रूपमा राज्यले चलाउन सक्दैनौँ, निजी शिक्षा आवश्यक छ र मुनाफा नलिकन निजी क्षेत्र टिक्न सक्दैन’ भन्दै विधेयकलाई सच्चाएर ल्याउने प्रतिबद्धता जनाउनुभयो । त्यसपछि हामीले आन्दोलन रोक्यौँ ।

२०५८ सालदेखि निजी विद्यालयहरूले ठुलो लगानी गरेका छन् । यसमा सञ्चालकहरूको पैतृक सम्पत्ति, बैंक ऋण र जीवनभरको मिहिनेत जोडिएको छ । अहिलेको विधेयकले कम्पनीमा सञ्चालित विद्यालयहरूलाई गैरनाफामूलक बनाउने प्रावधान राख्यो, जुन हाम्रो पहिलो विरोधको कारण हो ।

दोस्रो कुरा, छात्रवृत्तिसँग सम्बन्धित छ । अहिले हामीले १० प्रतिशत छात्रवृत्ति दिँदै आएका छौँ । तर, नयाँ विधेयकले विद्यार्थी संख्याका आधारमा छात्रवृत्तिको प्रतिशत १०, १२ र १५ प्रतिशतसम्म पुर्‍याउनुपर्ने प्रावधान राख्यो । यसले गर्दा विद्यालयहरूको वित्तीय भार अत्यधिक बढ्छ । हामीलाई लाग्छ, यति धेरै छात्रवृत्ति दिन सम्भव छैन । जसले गर्दा अन्य विद्यार्थीलाई शुल्क बढाउनुपर्ने हुन्छ र शिक्षा महँगो बन्न पुग्छ । त्यसैले छात्रवृत्तिको पुरानो १० प्रतिशत कै प्रावधान कायम गरिनुपर्छ भन्ने हाम्रो माग हो ।

1-Tikaram Puri (3)

यसका साथै विधेयकमा छात्रवृत्ति पाउने विद्यार्थीहरूलाई पोसाक, किताब, कपी, खाजा र आवश्यक परेमा होस्टेललगायतका सुविधा पनि दिनुपर्ने उल्लेख छ । विद्यालयले पोशाक र किताब बेच्न पाउँदैन र हामीसँग ती वस्तुहरूको उत्पादन गर्ने क्षमता पनि छैन । हामीसँग नभएका वस्तुहरू उपलब्ध गराउनु भन्नु अव्यावहारिक छ । हामीसँग उपलब्ध हुने सुविधा त हामी दिन तयार छौँ, तर नभएका कुरा कसरी दिने ? यही विषयमा सरकारसँग कुरा नमिलेर हामी आन्दोलनमा छौँ । 

विधेयक प्रतिनिधि सभामा प्रस्तुत भई संसदीय समितिबाट समेत पारित भएर प्रतिनिधिसभाबाटै पारित गर्ने तयारीमा छ । यसबिचमा तपाईंंहरूले सरकारका प्रतिनिधि वा संसदका प्रतिनिधिहरूसँग संवाद गर्नुभएको छ कि छैन ?

हामीले धेरै पटक संवाद गर्यौं । पहिले, संसदको शिक्षा, स्वास्थ्य, विज्ञान तथा प्रविधि समितिमा विधेयक प्रस्तुत भएपछि त्यसलाई टुङ्ग्याउने काम समितिले नै गर्छ । हामीले समितिसँगै धेरै पटक छलफल गर्यौं । त्यसबाहेक, प्रधानमन्त्रीदेखि नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रका प्रमुख नेताहरूसँग पनि पटकपटक भेटेर आफ्ना कुरा राखेका थियौँ । सबैले सकारात्मक प्रतिक्रिया दिनुभएको थियो । उहाँहरूले तपाईंंहरूका कुरालाई सम्बोधन गर्छौं, यसरी चलाएर शिक्षा क्षेत्र अगाडि बढ्न सक्दैन भन्नुभएको थियो । हाम्रो माग पनि शिक्षालाई पूर्ण रूपमा बिगार्ने खालको थिएन, मात्रै केही बुँदामा संशोधनको माग थियो । 

सबैतिरबाट सकारात्मक प्रतिक्रिया आउँदा आउँदै पनि यो विधेयकले नकारात्मक रूप कसरी लियो त ?

यो दुईवटा फरक ‘थट’ (विचारधारा) को टकरावको परिणाम हो । पहिलो, ‘समाजवादी थट’ हो, जुन हाम्रो संविधानमा पनि उल्लेख छ (समाजवाद उन्मुख अर्थतन्त्र) । यो विचारधाराले स्वास्थ्य र शिक्षाजस्ता आधारभूत क्षेत्रमा निजी लगानीलाई नियन्त्रण गर्दै, नियमन गर्दै, दबाएर निर्मूलै गर्नुपर्छ भन्ने मान्यता राख्छ । यसले आधारभूत तहको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्म पूर्ण निःशुल्क हुनुपर्छ भन्ने संविधानको प्रावधानलाई टेकेर काम गरिरहेको छ ।

दोस्रो, स्टन्टबाजी प्रवृत्ति हाबी भयो । विदेशमा पढेर वा बसेर आएका कतिपय मानिसहरू नेपालमा राम्रो नारा दिएर, अगाडि क्यामेरा राखेर, फेसबुक लाइभ गरेर क्रान्तिकारी देखिन खोज्छन् । उनीहरूले जे बोल्यो, त्यो तत्कालै मिडियामा आएर भाइरल हुन्छ । संसदीय समितिहरू अलि स्वायत्त हुने भएकाले त्यहाँ यस्ता स्टन्टबाजीको प्रभाव पर्दो रहेछ । सत्ताधारी दलकै कतिपय माननीयज्यूहरू पनि यस्ता विचार वा स्टन्टबाजीको प्रभावमा परेर हाम्रा कुरालाई सम्बोधन नगरी विधेयक पारित गर्न अग्रसर हुनुभयो । शीर्ष नेताहरूले नचाहेर पनि संसदीय समितिले आफ्नो हिसाबले काम गर्‍यो जस्तो लाग्छ ।

विधेयक कि त संसद्ले पुनः समितिमा फिर्ता पठाउने कि सरकारले पुनः यसलाई फिर्ता बोलाउने या त पारित गर्ने मात्रै विकल्प छन् । तपाईंहरूको आन्दोलनले त्यो विधेयक रोकिएला ?

राजनीतिक पार्टीहरूले चाहने हो भने त्यो असम्भव भन्ने हुँदैन । त्यसलाई फेरि समितिमा फर्काएर पनि सरकारले, पार्टीहरूले गर्न सक्छन् । समितिमा फिर्ता पठाएपछि फेरि समितिले मिलाउँदा पनि भयो । चाह्यो भने त हुन्छ । अब उहाँहरूले चाहनुपर्ने हो । हामीले आन्दोलन सुरुवात गर्दै गर्दा पनि उहाँहरूको कुरा अनुसार त हामी सच्चाउन सक्छौँ भन्ने नै छ । प्रतिनिधि सभाबाटै सच्याउने कुरा पनि हुन्छ । अर्को राष्ट्रिय सभाबाट पनि गर्न सकिने कुरा हो । अब हेरौँ कति सम्भव हुन्छ । सच्चिएन भने आन्दोलन अगाडि बढिरहेकै छ । हामी आन्दोलन नै अगाडि बढाउँछौँ । 

भदौ १९ गतेदेखि सबै विद्यालय बन्द गर्ने भन्नुभएको छ नि ? बन्दै गर्नुपर्छ र ?

हामीले बन्द गर्ने भनेरै घोषणा गरिएको चाहिँ होइन । बन्दसम्म गर्न सकिने भन्ने कुरा मात्रै आएको हो । मिडियाहरूबाट त त्यो आयो । भरसक हामी अहिले पनि अब विद्यार्थीको पढाइलाई असर हुने गरी विद्यालय बन्द भन्ने कुरा चाहिँ अलि अप्रिय हुन्छ । हामीले विद्यालय शान्ति क्षेत्र हो भनेर आवाजहरू उठाउँदै आएका हौं । बन्द हड्ताललाई चाहिँ राम्रो होइन । अहिले नै बन्द भन्ने कुरा चाहिँ त्यो होइन । 

तपाईंंहरूले आन्दोलनका क्रममा कडा चेतावनी पनि दिइरहनुभएको छ । स्कुलका गाडी लगेर सडकमा जाम गराइदिन्छौँ पनि भन्नुभयो । ऐन नै लागु हुन दिँदैनौँ पनि भन्नुभएको छ । यही विधेयक पारित भए के गर्नुहुन्छ ?

भरसक त्यस्तो गर्नु नपरोस् भन्ने हो । जबर्जस्त ढंगले हाम्रा कुरा नसुनिकन यो ऐन नै पास भयो भने हामी यो ऐन लागु हुन दिँदैनौँ । किनभने निजी क्षेत्रका विद्यालयले ३४ प्रतिशत क्षेत्र ओगटेको छ । भोलि आवश्यकता पर्दा हाम्रा स्कुलका सबै गाडी सडकमा तेर्स्याउन सकिन्छ भन्ने कुराको रिहर्सल पनि हामीले अस्ति गरिसकेका छौँ । काठमाडौँ उपत्यकामा पनि हामीले रिङ रोडमा गर्‍यौँ । विराटनगरमा मुख्य सडकहरूमा लगेर हामीसँग गाडी पनि छन् है, सडकमा निक्लेर जाम गर्न पनि सक्छौं है भनेर चेतावनी दिएका छौँ । भोलि त्यो परिस्थितिमा पुग्न पनि सक्छ । 

तपाईं पनि कम्युनिस्ट पार्टीकै समर्थक हो । अब तपाईंं समाजवादी विचारले समस्या पार्‍यो भन्नुहुन्छ ? तपाईंले किन कम्युनिस्ट पार्टीलाई समर्थन गर्नुभएको त ?

अब पुँजीवाद र समाजवादलाई त्यत्रो धेरै हामीले फरक पाइरहेका छैनौँ । किनभने समाजवादका राम्रा कुरा पुँजीवादले सिकेर पुँजीवाद पनि समाजवादतिर गयो । अब पुँजीवादका राम्रा कुरा समाजवादले सिकेर त्यो पनि पुँजीवादतिर गयो । त्यो चाइनामा उदाहरण छ । अब हामीले नेपालमा चाहिँ स्वास्थ्य र शिक्षा निःशुल्क हुन्छ भनेर किन भन्नु पर्‍यो ? मेरो भनाइ भनेको के हो भने नसक्नेलाई राम्रो शिक्षा दिऊँ । नसक्नेलाई फ्री गरौँ । तर सक्नेलाई किन निःशुल्क आवश्यक पर्‍यो ? सक्नेले त आफै पैसा तिरेर पढाउन चाहन्छ नि । नेपालमा पनि त धनाढ्य परिवारहरू होलान् । सबै राष्ट्रियकरण नै गर्‍यौँ भने अथवा प्राइभेट स्कुल नै बन्द गर्यौँ भने पनि त्यो धनाड्य परिवारले त बाहिर लगेर पनि पढाउँछन् । त्यसकारणले विश्व कसरी अगाडि बढिरहेको छ हेरेर नेपाल पनि त्यतै लाग्नुपर्छ । पुरानै कुरा, पुरानो थर्ट, पुरानो चिन्तनलाई हामीले बोकेर त नेपालको विकास कसरी होला र ? 

2-Tikaram Puri (1)

केही दिन अगाडि सत्तारुढ दलकै एक नेताले निजी विद्यालय सञ्चालकहरू राजनीतिक पार्टीका नेतालाई र पार्टीलाई चन्दा दिन चाहिँ तयार हुने । तर, १० प्रतिशत मात्र विद्यार्थीलाई छात्रवृत्ति देउ भन्दा चाहिँ नमान्ने के हो ? भनेर प्रश्न गर्दै हुनुहुन्थ्यो । त्यसको जवाफ के छ ?

एकजना मोरङका माननीय ज्यूले त्यसो भन्नु भएको मैले पनि सुनें । पोलिटिकल पार्टीहरू पनि यही समाजका हुन् । कसैसँग आम्दानी छ, कसैसँग पैसा छ भने चुनावका बेलामा, अरु बेलामा आवश्यकता पर्दा चन्दा लिए होलान् । यो प्रचलन छ । कसैले केही पैसा चन्दा आदि इत्यादि समय परिस्थिति अनुसार लियो भने त्यसलाई पनि अन्यथा मान्ने पक्षमा चाहिँ म छैन । त्यो चाहिँ माननीय ज्यूको बुझाई अलि बेठीक हो । उहाँ आफैं पनि पोलिटिकल पार्टीमा हुनुहुन्छ । उहाँले भनेजस्तो त्यस्तोविधि विद्यालयहरूले गुटुटुटु चन्दा दिनसक्ने भए भन्ने लाग्दैन । त्यस्तो भएको भए विद्यालयका सञ्चालकहरूले घरको धुरीमै हेलिकप्टर राखेर पनि उडाउँथे होलान् । तर मैले अहिलेसम्म नेपालमा त्यस्तो अवस्था देखेको छैन । 

यो विधेयक पारित भएमा नेपालको शिक्षा क्षेत्रमा कस्तो प्रभाव पर्ला ? कति विद्यालय बन्द हुने अवस्था आउने भनेर तपाईंहरूले भनिरहनुभएको छ नि ?

यदि यो विधेयक अहिलेकै अवस्थामा पारित भयो भने तुरुन्तै विद्यालयहरू बन्द त हुँदैनन्, तर निजी शिक्षण संस्थाहरूले बिस्तारै हात झिक्दै जानुपर्ने अवस्था आउँछ । यसले नेपालको शिक्षा क्षेत्रलाई ५० वर्षभन्दा बढी पछि धकेल्छ । निजी क्षेत्र पछि हट्दै जाने र सामुदायिक विद्यालयहरूको गुणस्तर पनि नसुध्रिने अवस्थाले देशलाई ठुलो घाटा हुनेछ । यो विधेयकले सार्वजनिक शिक्षाको गुणस्तर सुधार गर्न खासै ध्यान दिएको छैन । यसमा शिक्षकहरूको सेवा सुविधा र स्थायीत्वका कुरा मात्रै बढी छन् । नयाँ, अपडेटेड र दक्ष जनशक्तिलाई प्रवेश गराउनेभन्दा पनि पुराना शिक्षकहरूलाई व्यवस्थापन गर्नेमा जोड दिइएको छ । अहिले ६०–४० को अनुपातमा शिक्षक नियुक्ति हुँदा पनि ७५–२५ हुनुपर्छ भनिएको छ, जसले गर्दा नयाँ जनशक्तिलाई अवसर नै मिल्दैन । म सार्वजनिक शिक्षाको विरोधी होइन, तर यो ऐनले सार्वजनिक शिक्षालाई सुधार गर्दैन भन्ने मेरो प्रष्ट धारणा हो ।

शिक्षा सुधार गर्न यो विधेयकमा के–के परिवर्तन गरिनुपर्छ त ?

शिक्षा सुधारका लागि मुख्य तीन कुरामा ध्यान दिनुपर्छ । सार्वजनिक विद्यालयहरूको गुणस्तर सुधार गर्न अहिलेको शिक्षक व्यवस्थापन नीति परिवर्तन गर्नुपर्छ । पुराना शिक्षकहरूलाई बिस्तारै बिदा गर्दै नयाँ र दक्ष जनशक्तिलाई प्रवेश गराउनुपर्छ । यसले मात्र शिक्षाको गुणस्तर सुधार्न सक्छ । 

सामुदायिक विद्यालय र निजी विद्यालयलाई साझेदारीको रूपमा अगाडि बढाउन मार्गप्रशस्त गर्नुपर्छ । निजी विद्यालयले गरेका राम्रा अभ्यासहरूबाट सामुदायिक विद्यालयले धेरै कुरा सिकेर आफूलाई सुधार गरेका उदाहरणहरू छन् । यसलाई आत्मसाथ गरी पब्लिक–प्राइभेट पार्टनरसिपलाई प्राथमिकता दिनुपर्छ । निजी विद्यालयलाई नियन्त्रण गर्ने नीति बनाउनु हुँदैन । उनीहरूलाई लगानी गर्ने र एक किसिमको स्वतन्त्रता दिने वातावरण बनाउनुपर्छ । निजी क्षेत्रको लगानी राष्ट्रकै लागि हो, यसले आम नागरिकलाई सेवा उपभोग गर्न अवसर दिएको छ । यसका साथै, टेक्निकल भोकेसनल एजुकेशनलाई पनि परिष्कृत गर्दै लैजानुपर्छ, तर यो विधेयकले यस विषयमा पनि मार्गप्रशस्त गरेको छैन । 

यो विधेयकमा सबै नराम्रा पक्ष मात्रै छन् त ? केही राम्रा पक्षहरू पनि छन् होला नि ?

छन् । यसको एउटा राम्रो पक्ष भनेको संघीय व्यवस्था आएपछि बनेको यो पहिलो शिक्षा विधेयक हो । यसले संघीय, प्रदेश र स्थानीय सरकारहरूको शिक्षासम्बन्धी अधिकारहरूलाई प्रस्ट रूपमा परिभाषित गरेको छ । संघीय मर्म र भावनाअनुसार विधेयकको यो पक्ष सकारात्मक छ । 

निजी विद्यालय क्षेत्रमा कति लगानी छ र यसले शिक्षा क्षेत्रमा कस्तो योगदान दिइरहेको छ ?

निजी विद्यालय क्षेत्रमा करिब ६ खर्ब रुपैयाँको लगानी छ । देशभर १२ हजार भन्दा बढी मन्टेश्वरीदेखि कक्षा १२ सम्मका विद्यालयहरू सञ्चालित छन् । यी विद्यालयहरूमा २० देखि २२ लाख विद्यार्थी अध्ययनरत छन् । जुन नेपालको कुल विद्यार्थी संख्याको ३४ प्रतिशत हो । हाम्रो शिक्षा महँगो छैन । तथ्याङ्क अनुसार, निजी विद्यालयमा प्रति विद्यार्थी मासिक खर्च करिब २ हजार ३ सय रुपैयाँ लगानी छ भने सरकारी विद्यालयमा यो औसतमा ३ हजार २ सय रुपैयाँसम्म पुग्छ र सामुदायिक विद्यालयको खर्च त अझ बढी नै छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप