काठमाडौँ । दुबईमा काम गर्दागर्दै अचानक दृष्टि गुमाएका स्याङ्जाका बेकबहादुर राना मगरले नेपाल आँखा बैंकको सहयोगले पुनः संसार देख्न पाएका छन्।
_xzxQ8OPFuH.jpg)
‘नेपालमा राम्रो आँखा बैंक छ’ भन्ने सुनेर स्वदेश फर्किएका उनले आँखा प्रत्यारोपणपछि पहिलोपटक उज्यालो देख्दा जीवनको नयाँ अर्थ पाएको अनुभव सुनाए । उनी भन्छन्, ‘म फेरि देख्न सक्छु। अब जीवनका प्रत्येक क्षण महसुस गर्न सक्ने छु। दाता परिवारको योगदानले मेरो जीवन बदलिदियो।’
_8Ig4TxkxJD.jpg)
यस्तै, बंगलादेशकी बिल्किस परविन पनि आँधी–आन्दोलनमा टियर ग्यासको असरले दृष्टिविहीन भएकी थिइन्। उनका पति डा. ए. एन. एम. फजलुल करिमले नेपालका चिकित्सक र जनताको सहयोगले आफ्नो जीवनमा उज्यालो फर्किएको बताए। उनले भने, ‘यो अनुभव हाम्रो परिवारका लागि अविस्मरणीय छ। मेरो श्रीमतीको जीवन फेरि उज्यालो भएको छ। दाताप्रति हाम्रो आभार शब्दमा व्यक्त गर्न सक्दैनौँ।’
_YCMjOeOPgg.jpg)
नेपाल आँखा बैंक यी दुवैजनाका लागि मात्र नभई हजारौँ दृष्टिहीनका लागि संसार देखाउने माध्यम बनेको छ। यहाँ मृत्युपछि पनि अरूको जीवनमा उज्यालो फर्काउने मानवताको कथा लुकेको छ।
_CO8xdGcXd4.jpg)
दृष्टिदान एक अत्यन्तै संवेदनशील प्रक्रिया हो। यसका लागि प्रशिक्षित काउन्सिलरहरू मृतकको परिवारलाई सम्झाउन जान्छन्। उनीहरूले ‘तपाईंको दान अरूको जीवन उज्यालो बनाउँछ’ भनी भावनात्मक आग्रह गर्छन्।
_8cp52iGgRj.jpg)
तर, कतिपय अवस्थामा उनीहरूलाई ‘अंग व्यापारी’ वा ‘अशुद्ध काम’ जस्ता अपमानजनक शब्दको सामना गर्नुपर्छ। काउन्सिलर किरण सुब्बा भन्छन्, ‘एक आँखाबाट दुई जनालाई दृष्टि दिन सकिन्छ। यसले केवल आँखामा उज्यालो फर्काउँदैन, जीवन नै परिवर्तन हुन्छ।’
_QxF9heBm7D.jpg)
परिवारको सहमतिपछि प्राविधिक टोलीले मानक प्रक्रियाअनुसार कोर्निया निकाल्छ। निकालिएको कोर्निया सुरक्षित तापक्रममा राखिन्छ र परीक्षणपछि योग्य भए बिरामीमा प्रत्यारोपण गरिन्छ। किरण सुब्बाका अनुसार, ‘DSAEK सर्जरीमार्फत एउटै आँखाबाट दुई जनाले उज्यालो पाउँछन्। यस्तो क्षणमा तपाईं देख्नुहुन्छ, अन्धोपनको अन्धकार हट्छ, जीवन फेरिन्छ।’
_SWwCl7QnT0.jpg)
नेपालमा वार्षिक करिब ७ हजार कोर्नियाको आवश्यकता पर्छ, तर उपलब्ध भने झण्डै १७०० मात्र हुन्छ। यो माग र आपूर्तिबीचको ठूलो अन्तर हो। कोर्नियाको मुख्य स्रोत काठमाडौँका शिक्षण, गंगालाल, पाटन र वीर अस्पताल लगायत मेची, विराटनगर, पोखरा, लुम्बिनी, भैरहवा, कैलाली र वीरगञ्जमा रहेका आई रिट्राइभल सेन्टरहरू हुन्।
_aWm8A8Bmno.jpg)
यसको सबैभन्दा ठूलो चुनौती भने सरकारको बेवास्ता र समाजमा अझै फैलिएका भ्रान्ति र डर हुन्। नेपाल आँखा बैंकको काम केवल चिकित्सा नभई मानवताको कथा हो, जहाँ काउन्सिलर, प्राविधिक र डाक्टरहरूको सहयोग अद्भुत छ। उनीहरूले देखाउँछन्, जब सहयोग र संवेदना जोडिन्छ, दृष्टिहीन व्यक्तिले मात्र होइन, सम्पूर्ण समाजले उज्यालो अनुभव गर्छ।
_WIK1T0J5Im.jpg)
यद्यपि, आँखा बैंकले धेरै उपलब्धि हासिल गरिसकेको छ, जागरूकता अझै कम छ। काउन्सिलरहरू भन्छन्, ‘आजका बालबालिका भोलिको समाज बनाउँछन्। दृष्टिदान महादान हो भन्ने शिक्षा विद्यालयबाट सुरु हुनुपर्छ।’
_xBpIeKt0i3.jpg)
नेपाल आँखा बैंकको कथाले देखाउँछ, मृत्युपछि पनि जीवनमा उज्यालो बोक्ने क्षमता हामीसँग छ, केवल आँखामा होइन, आशा र आत्मविश्वासमा पनि।
_nL7iRU6N0I.jpg)
_DJCQJYpOLb.jpg)
_BbeferlbpT.jpg)
_kDvytXfbay.jpg)
शब्द/तस्बिर: ममुन के.सी./नेपाल फोटो लाइब्रेरी
प्रतिक्रिया