जेनजीको प्रदर्शन स्थलमा एसपी र ६ जना डीएसपीहरूले सुरक्षा कमाण्ड गर्ने
सारांश
- माइतीघर मण्डलामा जेनजीको प्रदर्शनको सुरक्षाको लागि एसपी र डीएसपीहरु परिचालन हुनेछन्।
- भ्रष्टाचारविरुद्धको प्रदर्शनमा सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै सुरक्षा योजना बनाइएको छ।
- युवा विद्यार्थीहरूले 'नेपो बेबी' ट्रेन्ड चलाउँदै नेताका छोराछोरीको विरोध गर्ने भएका छन्।
काठमाडौँ । माइतीघर मण्डलामा आयोजित जेनजीको प्रदर्शन स्थलमा एसपी र आधा दर्जन डीएसपीहरूले सुरक्षा कमाण्ड गर्ने भएका छन् । माइतीघर र बानेश्वर क्षेत्रको कमाण्ड जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले गर्ने भएका हुन् ।
सो क्षेत्रमा प्रहरीका ६ जना डीएसपीहरू पनि खटिनेछन् । प्रदर्शन स्थलमा सशस्त्र प्रहरीको तर्फबाट एसपी जीवन केसीले सुरक्षा फौजको नेतृत्वमा गर्नेछन् ।
काठमाडौँका अपरेशन कमाण्डर सुन्दर तिवारी, प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी हरि खतिवडा, नगर प्रहरीका डीएसपी मञ्जिल मुकारुङ र सिंहदरबार वृत्तका डीएसपी जनार्दन घिमिरे सहित ६ जना परिचालन गर्ने गरी सुरक्षा योजना तयार गरिएको छ ।
भ्रष्टाचारको विरुद्धमा आज माइतीघरमा हुने प्रदर्शनबारे आइतबार जिल्ला सुरक्षा समितिमा छलफल भएको थियो । प्रमुख जिल्ला अधिकारी छवि रिजालको अध्यक्षतामा बसेको बैठकले सुरक्षा चुनौतीको विश्लेषण गरेको थियो ।
प्रदर्शनको स्वरूप हेरेर सुरक्षा रणनीति परिवर्तन गरिने जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए । उनले भने, ‘भिडको अवस्था आकलन गरेर रिजर्भ फोर्सहरू परिचालन गर्ने हाम्रो योजना छ ।’
प्रदर्शन स्थलमा सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी पनि परिचालिन हुनेछन् । सुरक्षा संवेदनशीलताको कारण भन्दै सुरक्षा निकायहरूले परिचालन गरिने सुरक्षाकर्मीको सङ्ख्या सार्वजनिक गरेका छैनन् ।
युवा विद्यार्थीहरूले सामाजिक सञ्जालमा ‘नेपो बेबी’ ट्रेन्ड चलाएका छन् । कसैका बुवा ठुलो पदमा पुगेको आडमा छोराछोरीले मोजमस्ती गरेको भन्दै उनीहरूले त्यस्ता छोराछोरीको विरोध गर्ने भएका हुन् । नेताका छोराछोरीमाथि आक्रमण हुनसक्ने भन्दै उपत्यकामा नेताका घरहरूमा पनि सुरक्षा तैनाथी बढाइएको छ ।
प्रहरी स्रोतका अनुसार काठमाडौँ जिल्लाभर सुरक्षामा करिब २५ सय प्रहरी परिचालित हुनेछन् । माइतीघर क्षेत्रमा ३ जना र नयाँ बानेश्वरमा ३ जना डीएसपीले सुरक्षा नेतृत्व गर्नेछन् । माइतीघरमा मात्रै ५ सय प्रहरी परिचालन गर्ने गरी सुरक्षा योजना तयार गरिएको उपत्यका प्रहरी कार्यालयका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
-
रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ : माधव नेपाल
-
भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान
-
एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
स्वास्थ्य मन्त्रालयका सचिव डिल्लीराम शर्माको सरुवा
-
एन्थ्रोपिकका सह–संस्थापकको चेतावनीः एआईलाई ‘ब्रेक पेडल’ चाहिन्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण