जेनजी पुस्ताका जागरूक भाइबहिनीलाई रातोपाटीको पत्र
सारांश
- जेनजी पुस्ताले माइतीघर मण्डलामा भ्रष्टाचारविरुद्ध राष्ट्रिय कार्यक्रम आयोजना गर्दैछन्।
- कार्यक्रमले राज्यको ध्यान आकर्षित गरेको छ र केही नेता तथा कलाकारले ऐक्यबद्धता जनाएका छन्।
- लेखमा युवा पुस्ताको देशप्रतिको माया र लोकतान्त्रिक व्यवस्थाप्रतिको चासोको चर्चा गरिएको छ।
जेनजी पुस्ताका जागरूक भाइबहिनीहरू,
हाम्रो स्नेहपूर्ण शुभेच्छा छ !
‘भ्रष्टाचारलगायत देशमा व्याप्त सम्पूर्ण बेथितिविरुद्ध’ तपाईंहरूद्वारा आज(भदौ २३ गते) माइतीघर मण्डलामा राष्ट्रियस्तरको कार्यक्रम आयोजना गर्न लागिएको सन्दर्भमा शुभकामना सहित यो पत्र लेखेका हौँ l
विरोध प्रदर्शनबाट प्रायः कहिल्यै मुक्त नहुने काठमाडौँको माइतीघर मण्डलामा कतिपय आन्दोलन कहिले सुरु भयो र कहाँ पुगेर टुङ्गियो भन्नेमा समेत कतिपयले चासो नराखेको पाइन्छ । देशमा विकृति फैलिन नपाओस्, विभिन्न रूपमा देखिएका बेथिति अन्त्य होस् भन्ने पवित्र उद्देश्य बोकेर सडकमा उत्रिएको जेनजी पुस्ताको खबरदारी कार्यक्रम त्यस्तो नहोला, नहोस् ।
तपाईंहरूको कार्यक्रम घोषणाले नै धेरैको ध्यानाकृष्ट गरिसकेको छ । कार्यक्रमप्रति राज्यको कान ठाडो भइसकेको मात्र होइन, केही जनप्रतिनिधि, व्यक्तिगत रूपमा केही नेता र कलाकारहरूले समेत ऐक्यबद्धता जनाइसकेका छन् । सडकमा नउत्रिँदै पाएको यो चर्चा, सर्वत्र व्याप्त चासो र कतिपयमा बढेको हुटहुटीले एक हदसम्म तपाईंहरूको कार्यक्रम राष्ट्रिय मुद्दा बनेको प्रस्ट छ ।
विश्वविद्यालयबाट उच्च शिक्षा सकेर आ–आफ्नो दक्षता अनुसारको अवसर खोजी गरिरहेको युवापङ्क्ति होस् या माध्यमिक तहको अध्ययनमा केन्द्रित रहेको पङ्क्ति होस्– अबको डेढ दशकभन्दा बढी समय नेपालका विभिन्न क्षेत्रमा प्रवेश गर्ने नयाँ जनशक्ति तपाईंहरूकै पुस्ता अर्थात् ‘जेनजी’बाटै हुन्छ । देशको माया, आफ्नो हक–अधिकार, भविष्यको चिन्ता र चासोबाट जसरी तपाईंहरु जागरूक हुनुभएको छ, यसले लोकतान्त्रिक व्यवस्थाभित्रका विभिन्न कमी–कमजोरीको फाइदा उठाउँदै हुने गरेका शासकीय स्वेच्छाचारी प्रवृत्तिलाई पक्कै पनि निरुत्साहित गर्नेछ ।
मुलुकको भविष्यको भरोसा हो तपाईँहरू । ‘आफ्नो भाग्य आफैँ लेख्न’ आँट गर्नु भएको छ, खुट्टा नकमाउनु- तपाईंहरुले परिवर्तन ल्याउन सक्नु हुन्छ ।
सूचना तथा प्रविधिमा पोख्त तपाईंहरुलाई विभिन्न मुलुकमा केही वर्ष यता भएका विद्यार्थी आन्दोलन, तिनले ल्याएको परिवर्तनबारे कसैले सम्झाइ–बुझाइ गरिरहन पर्दैन । आफ्नो हातमा रहेका मोबाइल, ल्यापटपका माध्यमबाट तपाईंहरु कतिपय ठाउँमा आफैँ पुगेझैँ अनुभव गरिसक्नु भएको छ ।
मुलुकको भविष्यको भरोसा हो तपाईंहरु । ‘आफ्नो भाग्य आफैँ लेख्न’ आँट गर्नु भएको छ, खुट्टा नकमाउनु- तपाईंहरुले परिवर्तन ल्याउन सक्नु हुन्छ ।
तपाईंहरुलाई हामीले सम्झाउनै पर्दैन-
- कांग्रेस पार्टीको स्थापना गर्दा बीपी कोइराला ३२ वर्ष र १०४ बर्से जहानियाँ राणा शासन ढाल्ने २००७ सालको क्रान्ति सम्पन्न गर्दा उनी ३६ वर्षका मात्र थिए ।
- वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र सिपी मैनालीहरूले २०२८ सालमा झापा विद्रोह गर्दा उनीहरू केवल २० - २१ वर्षका थिए । त्यही विद्रोहको बीजबाटै बनेको नेकपा माले २०४६ सालको सफल जनआन्दोलनमा सहभागी हुँदा तत्कालीन महासचिव मदन भण्डारी ३७ वर्षका मात्र थिए ।
- सदियौँदेखिको राजतन्त्र अन्त्य र सामाजिक न्यायका लागि २०५२ सालमा ‘जनयुद्ध’ सुरु गर्दा तत्कालीन नेकपा माओवादीका महासचिव पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता डा. बाबुराम भट्टराई ४१- ४१ वर्षका मात्र थिए ।
- र्यापर एवम् इन्जिनियर बालेन्द्र शाह ‘बालेन’ केवल ३२ वर्षको उमेरमा काठमाडौँ महानगरपालिकाको मेयर निर्वाचित भएका हुन् ।
उमेरसँगै अनुभवबाट हासिल गर्ने शिक्षाबाहेक सूचना तथा प्रविधिको क्षेत्रमा सबैभन्दा सक्षम र विकसित पुस्ता भनेकै तपाईंहरु हो, जसले देश–विदेशमा विकासको रफ्तार बुझ्ने, सेवा–सुविधा तुलना गर्ने, प्रतिस्पर्धात्मक बजारमा आफूलाई मूल्यवान् बनाउने दिशामा चासो राखेर अहोरात्र अध्ययन र चिन्तन गरिरहेको छ । त्यसैले तपाईंहरुले अहिले पहलकदमी लिनु भएको राष्ट्रिय अभिभारा पार लगाउन सक्नु हुनेछ l
धेरैको आकलन विपरीत बिस्तारै राजनीतिक क्षेत्रमा पनि तपाईंहरुको रुचि बढ्दै गएको तथ्य प्रकाशमा आएको विषयलाई हामीले निकै सकारात्मक मानेका छौँ । जेनजीको सबैभन्दा कान्छो उमेर समूहको समवयी हो रातोपाटी डटकम पनि । गत जेठ महिनामा रातोपाटीले १२ वसन्त पार गरेको अवसरमा सातै प्रदेश पुगेर जेनजी पुस्ताका एक हजारभन्दा बढी युवाबिच मत सर्वेक्षण गरेको थियो । त्यसमा समेत विभिन्न विषयमा तपाईंहरुको असन्तुष्टि झल्किएको थियो । पुराना र ठुला भनिएका दलका नेताको तुलनामा नयाँ दल वा बालेन शाह, हर्क साम्पाङजस्ता स्वतन्त्र जनप्रतिनिधिप्रति यो पुस्ताले बढी भरोसा गरेको मत सर्वेक्षण नतिजाले देखाएको थियो । तर सँगसँगै लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाप्रतिको अटुट विश्वास, उच्च शिक्षापछि नेपालमै बसेर केही गर्ने हुटहुटी तपाईंहरुको पुस्ताका अधिकांशको अभिमत थियो । त्यसकारण हामी निर्धक्कसँग भन्न सक्छौँ– तपाईंहरूले आह्वान गर्ने यस्ता कुनै पनि कार्यक्रमले व्यवस्था विरोधीलाई फाइदा पुग्ने छैन । बरु यस्ता कार्यक्रमले यो व्यवस्थाभित्र देखिएका विकृति अन्त्य गर्ने र देशलाई तुलनात्मक रूपमा चाँडो अग्रगतिमा डोर्याउने धरातल फराकिलो हुनेछ ।
विश्वको राजनीतिक इतिहासमा मात्र नभएर नेपालमै पनि विभिन्न कालखण्डमा युवाहरूले खबरदारी गरेका छन् । यस्तो खबरदारी लोकतान्त्रिक अभ्यासकै एक अङ्ग हो, जसले राज्य सञ्चालनमा हुने गरेका कमी–कमजोरी र त्रुटिलाई समयमै सच्याउन मद्दत गर्दछ । राजतन्त्रात्मक शासन कालमा राज्यसत्ता निरङ्कुश हुन्थ्यो, अन्याय अत्याचारको विरोध गर्न पाइँदैन थियो । त्यतिबेलाको जनताको दु:ख कष्टको कहर कहेर साध्य छैन l 'भित्ताको पनि कान हुन्छ' भनिने त्यो कालमा कसैले आँट गरेर नैसर्गिक मानव अधिकार मागे राजद्रोहको मुद्दा झेल्नेदेखि जेलको कालकोठरीमा यातना भोग्नु पर्दथ्यो ।
आशा गरौँ- तपाईँहरूले गर्ने खबरदारीबाट सरकार र प्रमुख दलहरूलाई ‘ओलिगार्की’ पथ त्यागेर लोकतन्त्रमार्गी बन्न सघाउने छ-उनीहरूलाई जनताप्रति जवाफदेही बन्ने मति र आ-आफ्ना जिम्मेवारी प्रभावकारी ढङ्गले सम्पन्न गर्ने गति मिल्नेछ ।
त्यस्तो कालो इतिहासलाई दोस्रो जनआन्दोलनमार्फत कागजका पानामा सीमित गरिदिएर मुलुकलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा डोर्याएका अहिलेका प्रमुख दलहरूले नै हुन् । तर अर्को सत्य के पनि हो भने २०६२/०६३ को राजनीतिक परिवर्तनपछि पनि मुलुकमा भ्रष्टाचार हटेन, बेथिति घटेन । युगीन परिवर्तन पश्चात् जुन गतिमा विकास हुनु पर्दथ्यो, जुन रफ्तारमा जनतालाई परिवर्तनको प्रत्याभूति हुने गरी सेवा सुविधा उपलब्ध गराइनु पर्दथ्यो, पक्कै पनि यी कार्यमा प्रमुख दलहरूबाट कमी–कमजोरी भएकै हो । अहिलेको राष्ट्रिय निराशाको प्रमुख कारण प्रमुख दलका शीर्ष नेताहरूद्वारा सत्ता मात्र सत्य मान्नु र त्यसैको ध्याउन्नमा लिप्त हुनु हो । दशकौँदेखि सत्ता सिर्फ ‘टेस्टेड’ शीर्ष नेताहरूको ‘म्युजिकल चियर’को खेल बनेको छ । प्रमुख पार्टीका दोस्रा तहका नेता र कार्यकर्ताहरू हुतीहारा अर्थात् नेतृत्वको लाचार छाया साबित भएका छन् ।
आशा गरौँ- तपाईंहरुले गर्ने खबरदारीबाट सरकार र प्रमुख दलहरूलाई ‘ओलिगार्की’ पथ त्यागेर लोकतन्त्रमार्गी बन्न सघाउने छ- उनीहरूलाई जनताप्रति जवाफदेही बन्ने मति र आ-आफ्ना जिम्मेवारी प्रभावकारी ढङ्गले सम्पन्न गर्ने गति मिल्नेछ ।
जेनजी पुस्ताका जागरूक भाइबहिनीहरू,
तपाईंहरूले हेक्का राख्नु होला- युवाहरूमा जोस त ज्यादै हुन्छ, होसको भने अलि अभाव हुन्छ नि !
मुख्य कुरा, कुनै पनि एजेण्डालाई टुङ्गोमा पुर्याउन नेतृत्वका दूरदर्शी र दृढ भूमिका महत्त्वपूर्ण हुन्छ । सही दिशा र संयमित यात्राले नै गन्तव्यमा सुरक्षित पुग्न सकिन्छ ।
‘भ्रष्टाचार लगायत देशमा व्याप्त सम्पूर्ण बेथितिविरुद्ध’ भनेर तपाईंहरूले राखेको कार्यक्रममा कोही ‘धमिलो पानीमा माछा मार्न’ आउन नपाउन् । जसरी व्यवस्था विरोधीहरूले विभिन्न समयमा मौका खोज्दै यो वा त्यो बहानामा सडक सङ्घर्षको प्रयास गरेर पनि जनसमर्थनविना फिर्ता हुन बाध्य भए, तपाईंहरूको लोकप्रियताबाट उनीहरू लोभिन सक्छन् र अनेकखाले ‘ललिपप’को लोभ देखाएर तपाईंहरूलाई बहकाउन पनि सक्छन्, त्यस्ताबाट जोगिनु होला । बलेको आगो सबैले ताप्न खोज्छन् । तपाईंहरूको पवित्र उद्देश्यको काँधमा चढेर विभिन्न स्वार्थ पूरा गर्न खोज्ने लुच्चाहरूसँग होसियार हुनु होला । नेपालको राजनीतिक इतिहासमा कैयौँ पटक यस्ता आन्दोलनमा ‘भिजिलान्ते’ प्रवेश गरेर सिङ्गो आन्दोलनलाई बदनाम गराएको पाइन्छ । त्यसैले यस्ता विषयमा सचेत भएर पाइला अघि बढाउनु होला ।
राज्यसत्ता प्राय: क्रुर नै हुन्छ, तपाईंहरुका बाबु आमाहरुले तिरेको करमा रजाईं गरेर त्यहाँ बसेकाहरुलाई तपाईंहरुको यो काम प्रिय लाग्ने छैन l त्यसैले अनेक तिकडम रचेर तपाईंहरुलाई उत्तेजित पार्न, भड्काउन सक्छन्, चनाखो हुनु होला l तपाईंहरु गान्धीका अनुयायी 'सत्याग्रही' जस्तो बन्नु होला, कसैले एउटा गालामा थप्पड हान्यो भने अर्को गाला पनि थापिदिने l तपाईंहरुको कार्यक्रमका क्रममा राष्ट्रिय सम्पतिको नोक्सानी नहोस्, नागरिकको जिउधनको क्षति नहोस्, सर्वसाधारणले दु:ख नपाउन्, गरिखाने वर्गको बिचल्ली नहोस् अर्थात् विगतका आन्दोलनहरुका कमीकमजोरीको पुनरावृत्ति नहोस् l संक्षेपमा भन्दा नमुनामय, अनुकरणीय होस् तपाईंहरुको आन्दोलन l
मुख्य कुरा, कुनै पनि आन्दोलनका एजेण्डालाई टुङ्गोमा पुर्याउन सही विचार तथा नेतृत्वका दूरदर्शी र दृढ भूमिका महत्त्वपूर्ण हुन्छ । सही दिशा र संयमित यात्राले नै सुविचारित गन्तव्यमा सुरक्षित पुग्न सकिन्छ । लोकतान्त्रिक गणतन्त्रको विकल्प भनेको झनै उन्नत लोकतान्त्रिक गणतन्त्र मात्र हुनसक्छ । मुलुकमा व्यवस्था बदल्न धेरै नेपाली छोराछोरीले आफ्नो सुन्दर जीवन बलिदान गरिसकेका छन्, अब देश र जनताको अवस्था बदल्न बलिदान हैन, दबाब नै पर्याप्त हुनुपर्छ l तपाईंहरु यसबारे पनि उत्तिकै सचेत भएर अघि बढ्नु हुनेछ भन्ने हाम्रो विश्वास छ ।
तातै खाऊँ, जल्दी मरौँ नगरी सुविचारित, संगठित र संयमित भएर अगाडि बढ्नुभयो भने तपाईंहरुको यो पहलकदमीबाट देशको भाग्यमा सुशासन र समृद्धि अनि नागरिकको भाग्यमा न्याय, समानता, स्वाभिमान र खुसी लेखिनेछ !
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यालिफोर्नियामा स्कुलमा गोलीबारी, ३ जनाको मृत्यु
-
सुकुमबासी बस्तीबाट विस्थापित भेषबहादुर दर्जीको मृत्यु
-
झापामा हुरी र वर्षाले केराखेती नष्ट
-
फिल्म ‘बाः एक योद्धा’ ले सार्वजनिक गर्यो कलाकार
-
कलाकार लुकाएर छायांकन सकेको ‘बाः एक योद्धा’ले सार्वजनिक गर्यो कलाकार
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण