युएईमा बिपीको सम्झना, जनसम्पर्कले मनायो ११२औँ बिपी जयन्ती
सारांश
- युएईमा नेपाली कांग्रेस जनसम्पर्क समितिले बिपी कोइरालाको जयन्ती मनायो, जसमा उनको योगदानको चर्चा भयो।
- कार्यक्रममा गण्डकीका मुख्यमन्त्रीले श्रमिकका समस्या समाधान गर्ने प्रतिबद्धता जनाए, राजनीतिक स्थिरताको महत्वबारे बोले।
- कार्यक्रममा सहभागी वक्ताहरूले बिपीको विचार र प्रजातान्त्रिक समाजवादको महत्वबारे प्रकाश पारे, र पार्टीलाई बलियो बनाउनुपर्नेमा जोड दिए।
युएई । नेपाली कांग्रेस जनसम्पर्क समिति युएईले बिपी कोइरालाको ११२ औँ जयन्ती मनाएको छ । कार्यक्रममा स्व. कोइरालाको दूरदर्शी नेतृत्व, प्रजातान्त्रिक समाजवादप्रतिको समर्पण र नेपाली राजनीति तथा साहित्यमा योगदानको चर्चा गरिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकीका मुख्यमन्त्री तथा काँग्रेस केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले युएईमा रहेका नेपाली श्रमिकहरूका समस्याप्रति गम्भीर भएर समाधानतर्फ लाग्ने प्रतिबद्धता जनाएका छन् । उनले श्रम स्वीकृति र कन्सुलर सेवा लगायतका मुद्दाहरूमा सरकारले सक्रियतापूर्वक काम गरिरहेको भन्दै श्रमिकहरूको समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताए ।
पाण्डेले विकासका लागि राजनीतिक स्थिरता अपरिहार्य रहेको र अप्रत्याशित नेतृत्वले मुलुकलाई सङ्कटमा पार्न सक्ने चेतावनी दिए । उनले सबै नेपालीलाई सकारात्मक सोचका साथ लोकतन्त्रलाई बलियो बनाउन आह्वान गरेका छन् । ‘जनतालाई भ्रममा पारेर नभई स्पष्ट दृष्टिकोण र कार्ययोजनाका साथ अगाडि बढ्नुपर्ने छ,’ उनले भने ।
पाण्डेलाई गोरखा सेवा समाजले जिल्लाको विकासबारे ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र समेत बुझाएको थियो । कार्यक्रममा युएईका लागि नेपाली महावाणिज्यदूत हरि ओडारीले बिपी कोइरालाको बहुआयामिक व्यक्तित्व र नेपालका लागि उनको योगदानबारे प्रकाश पारे ।
‘पुँजी उत्पादन नगरी वितरण गर्न सकिँदैन भन्ने बिपीको स्पष्ट विचार थियो । उहाँले स्वास्थ्य, शिक्षा र आवासको अधिकारको कुरा कल्पना गर्नुभएको थियो, अहिले त्यही कुरा संविधानमा छ,’ उनले भने, ‘बिपी कोइराला कति दूरदर्शी हुनुहुन्थ्यो भन्ने यसैबाट प्रस्ट हुन्छ ।’
कार्यक्रममा नेपाली जनसम्पर्क समिति हङकङका सल्लाहकार कुलबहादुर गुरुङ, काँग्रेस कास्कीका सचिव भानु ढकाल, युएईस्थित विभिन्न संघ संस्थाका प्रमुख प्रतिनिधिहरूले बिपी विचारको बारेमा आफ्नो धारणा राखेका थिए । ‘नेपाली काँग्रेस देशको नेतृत्व गर्ने पार्टी हो । यसले अबको निर्वाचन एक्लै लड्न सक्ने बनाउनुपर्छ,’ कास्की सचिव ढकालले भने, ‘पार्टीका सम्पूर्ण अधिवेशनहरू समयमै हुनुपर्छ । यसका लागि पार्टीले तत्काल निर्णय र कार्यान्वयन गर्नुपर्छ ।’
जनसम्पर्क समिति युएईका सभापति भुवानीप्रसाद तिमिल्सिनाले बिपीको प्रजातान्त्रिक समाजवाद नेपालका लागि सधैँ उत्तम सिद्धान्त भएको तर पछिल्लो पुस्तामा त्यसबारे पुस्तान्तरण हुन नसकेको बताए ।
‘बिपीको विचार हरेक राजनीतिक दलहरूले पनि स्वीकार गरिसकेका छन् । हामी पनि भाषण गर्दा बिपी विचारको व्याख्या गर्छौँ,’ उनले भने, ‘तर कार्यान्वयन तहमा चुकिरहेका छौँ । पार्टी नेतृत्वले ध्यान दिनुपर्छ ।’ कार्यक्रममा विभिन्न व्यक्तिहरूको सम्मान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण