कांग्रेसले भन्यो– कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका जस्ता लोकतन्त्रका आधारभूत स्तम्भहरूमा समेत आगजनी हुनु गम्भीर
सारांश
- नेपाली कांग्रेसले लोकतन्त्रका आधारभूत स्तम्भहरूमा आगजनी हुनुलाई गम्भीर भनेको छ।
- प्रवक्ता डा. प्रकाशशरण महतले माओवादी द्वन्द्वको बेला भन्दा धेरै क्षति भएको बताए।
- कांग्रेसले शान्ति सुरक्षा कायम गर्न र संवादका लागि पहल गर्नुपर्नेमा जोड दिएको छ।
काठमाडौँ । नेपाली कांग्रेसले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका जस्ता लोकतन्त्रका आधारभूत स्तम्भहरूमा समेत आगजनी हुनु गम्भीर भएको बताएको छ । प्रवक्ता डा. प्रकाशशरण महतले बुधबार विज्ञप्ति जारी गर्दै मंगलबार मात्रै भएको क्षति १० वर्षे माओवादीद्वन्द्वको बेला भन्दा धेरै बढी भएको बताएका छन् ।
‘कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका जस्ता लोकतन्त्रका आधारभूत स्तम्भहरूमा समेत आगजनी हुनु गम्भीर छ,’ प्रवक्ता डा. महतले विज्ञप्तिमा लेखेका छन्, ‘म लगायत धेरैको घर निजी सम्पत्ति, उद्योग व्यवसाय, सञ्चार गृह लगायतमा भएको आगजनी, तोडफोड र लुटपाट अत्यन्त दुःखद र निन्दनीय छ । यो एक दिनको क्षति १० वर्षे माओवादीद्वन्द्वको बेला भन्दा धेरै बढी हो ।’
विज्ञप्तिमा देशभर भएको तोडफोड, आगजनी र हिंसात्मक गतिविधिहरू शान्तिपूर्ण लोकतान्त्रिक विरोधको मर्म र मान्यताबाट बाहिर गएको प्रवक्ता महतले विज्ञप्तिमा लेखेका छन् । देश,जनता र लोकतन्त्रप्रति प्रतिबद्ध नवयुवाहरूले यस्तो नचाहेको उनको भनाइ छ ।
उनले अब राष्ट्रपतिको समन्वयमा सुरक्षा निकायहरू सक्रिय भई शान्ति–सुरक्षा अमनचयन कायम हुन जरुरी रहेको उल्लेख गरेका छन् ।
यस्तो छ प्रवक्ता डा. महतको विज्ञप्तिको पूर्णपाठ-
हालै नवयुवा पुस्ताद्वारा आयोजित विरोध प्रदर्शनका क्रममा हुन नपर्ने दुःखद घटना भएकोप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ । धेरै युवाहरू र केही सुरक्षाकर्मीहरूले ज्यान गुमाउनुपरेको पीडादायी अवस्था हामी सबैका लागि अत्यन्त दुखदायी छ, मृतकहरूमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । घाइतेहरूलाई शीघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्दै विरोध प्रदर्शन क्रममा भएको धनजनको ठुलो क्षति प्रति गम्भीर चिन्ता प्रकट गर्दछु ।
हिजो देशभर भएको तोडफोड, आगजनी र हिंसात्मक गतिविधिहरू शान्तिपूर्ण लोकतान्त्रिक विरोधको मर्म र मान्यताबाट बाहिर गएको छ । देश,जनता र लोकतन्त्र प्रति प्रतिबद्ध नवयुवाहरूले अवश्य पनि यस्तो चाहेका थिएनन् । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका जस्ता लोकतन्त्रका आधारभूत स्तम्भहरूमा समेत आगजनी हुनु गम्भीर छ । म लगायत धेरैको घर निजी सम्पत्ति, उद्योग व्यावसाय, सञ्चार गृह लगायतमा भएको आगजनी, तोडफोड र लुटपाट अत्यन्त दुःखद र निन्दनीय छ । यो एक दिनको क्षति १० वर्षे माओवादीद्वन्द्व को बेला भन्दा धेरै बढी हो । यसले लगानीको वातावरण लाई पनि बिगारेको छ र क्षतिपूर्ति गर्न वर्षौँ र ठुलो लगानी लाग्ने निश्चित छ । त्यस्तै, पार्टी सभापति शेरबहादुर देउवा लगायत अन्य नेताहरू माथि भएको साङ्घातिक आक्रमणको घोर निन्दा तथा भर्त्सना गर्दछु ।
देश अहिले राजनीतिक शून्यता र कानुनी अनिश्चिततामा छ । राष्ट्रपतिको समन्वयमा सुरक्षा निकायहरू सक्रिय भई शान्ति–सुरक्षा अमनचयन कायम हुन जरुरी छ ।
प्रिय साथीहरू,
कानुनी शासनको विकल्प छैन, लोकतन्त्रको विकल्प छैन । यस जटिल अवस्थामा पार्टीका सम्पूर्ण साथीहरू एकजुट भई आत्मविश्वास र भरोसा जगाउनु अपरिहार्य छ । लोकतान्त्रिक प्रक्रियाको पुनः स्थापना र संरक्षणका लागि हामी सबै फेरि सक्रिय हुन आवश्यक छ । नेपाली कांग्रेस लोकतन्त्रको लागि सबैभन्दा भरपर्दो शक्ति हो भन्ने कुनै दुबिधा छैन । पार्टीले अन्य लोकतन्त्र र संविधान प्रति प्रतिबद्ध दलहरूसँग तत्काल संवाद गर्न आवश्यक छ । त्यसैले शान्ति, सुरक्षा, संबैधानिक व्यवस्था र लोकतान्त्रिक प्रक्रियाको संस्थागत पुनः स्थापनाका लागि राष्ट्रपति ज्युको अगुवाइमा हुने संवाद र पहलमा नेपाली कांग्रेसले सक्रिय पहल गर्न आवश्यक छ ।
जय नेपाल !
डा प्रकाश शरण महत
प्रवक्ता
नेपाली कांग्रेस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
पुरानै शैलीमा बालेन सरकार : त्रिवि सेवा आयोगमा थापाको नियुक्ति विवादमा
-
अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा दुई प्रतिशतले घट्यो
-
सरकारका प्रवक्ता भन्छन्– एन्फालाई भ्रष्टाचारको अखडा र राजनीतिक भर्ती केन्द्र हुन दिँदैनौँ
-
पूर्णबहादुर खड्काले बोलाए इतर समूहको बैठक
-
सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा देवराज ढुङ्गाना नियुक्त
-
बागमती प्रदेशसभाः २ विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण