सोमबार, २९ असार २०८३
ताजा लोकप्रिय

‘जेनजीको आन्दोलनले ‘क्रोनी क्यापिटालिजम’लाई भत्काउने प्रयास गरेको छ’

शुक्रबार, २७ भदौ २०८२, १४ : ३१
शुक्रबार, २७ भदौ २०८२

काठमाडौँ । अर्थतन्त्रका जानकारहरूले जेनजीको प्रदर्शन बेथिति, कुशासन र भ्रष्टाचारविरुद्ध भएकाले यो समयलाई कोर्स करेक्सनको रूपमा सदुपयोग गर्नुपर्ने बताएका छन्। ‘वर्तमान अवस्थामा अर्थतन्त्रका चुनौती र अबको बाटो’ विषयक आज भएको भर्चुअल अन्तरक्रियामा उनीहरूले अब पनि पुरानै शैलीमा अघि बढ्न नहुने बताए।

नेपाल सरकारका पूर्वअर्थसचिव रामेश्वर खनालले भ्रष्टाचारका विरुद्ध मुलुकभरबाट मानिसहरू एकसाथ जाग्नुलाई सकारात्मक रूपमा लिनुपर्नेमा जोड दिए। अहिलेको समस्या प्राकृतिक र महामारी विपत्ति नभई आन्तरिक रूपमा मानव सिर्जित समस्या भएकाले दातृ निकायबाट सहयोग प्राप्त हुने अवस्था सहज नभएको उनले बताए।

खनालले भने, ‘नयाँ पुस्ताको नेतृत्वमा मुलुकभरबाट भ्रष्टाचारका विरुद्ध मानिसहरू एकसाथ जाग्नु हाम्रा लागि उपलब्धि हो, संविधान संशोधनलगायतका विषय पछि जोडिएका हुन्। अब यो अवसरलाई सदुपयोग गर्दै सरकारले पुनर्निर्माण, नयाँ लगानीको अवसर सिर्जना र लगानीकर्ताको आत्मविश्वास बढाउनुपर्ने विषयलाई प्राथमिकता दिनुपर्छ।’

उनले यस प्रकारको अवस्था २०३६ साल र माओवादीको द्वन्द्वको समयमा पनि देखिएको तर अहिले भौतिक संरचनामा ठुलो क्षति नभएकोले मुलुक छिटो 'रिकभर' गर्ने बताए। 'जेनजीले जुन विषय उठाएर प्रदर्शन गरे र त्यसले जुन रूप लियो, यसबाट हामीलाई भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउन र आसेपासे पुँजीवादको जालो भत्काउन सहयोग गरेको छ,' खनालले भने, 'आगामी दिनमा मुलुकमा देखिएको व्याप्त भ्रष्टाचार हटाउन सहयोग पुग्छ भन्नेमा मलाई विश्वास छ।'

उनले अर्थतन्त्रका मुख्य क्षेत्रहरू रेमिट्यान्स, कृषि र पर्यटनमा ठुलो समस्या नपरेकाले अर्थतन्त्र रिकभर हुन पनि धेरै समय नलाग्ने बताए।

यसैगरी, अर्थशास्त्री डा. समिर खतिवडाले जेनजी प्रदर्शनले नेपाललाई कोर्स करेक्सनको अवसर दिएको टिप्पणी गरे। उनले एकाध पर्यटकीय पूर्वाधारमा क्षति पुगे पनि पर्यटन क्षेत्र अझै सम्भावना भएको क्षेत्र भएको बताए।

खतिवडाले भने, ‘जेनजी प्रदर्शनले ‘क्रोनी क्यापिटालिजम्’लाई भत्काउने प्रयास गरेको छ, नयाँ पुस्ताले सुशासनयुक्त समाज निर्माणका लागि सन्देश पनि दिएको छ। यो ‘फाइनान्सियल एक्सन टास्क फोर्स’ (एफएटीएफ) को ग्रे-लिस्टबाट नेपाललाई निकाल्नका लागि प्राप्त भएको अवसर पनि हो।’

उनले विदेशी लगानी कुल गार्हस्थ्य उत्पादनको ०.३ प्रतिशत मात्रै भएकाले ठुलो चिन्ता लिनुपर्ने अवस्था नरहेको र यसलाई बढाएर कसरी तीन प्रतिशत बनाउन सकिन्छ भन्नेमा काम गर्न सकिने बताए। खतिवडाले अबको अर्थतन्त्रमा खुला, पारदर्शी, स्वतन्त्र नीति अपनाउनुपर्नेमा जोड दिए। जेनजीको प्रदर्शनले प्रत्यक्ष विदेशी लगानीमा ठुलो असर नपर्ने उनको भनाइ छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप