शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

तोडफोड, आगजनी र चोरीमा संलग्नविरुद्ध सीसीटीभी फुटेजसहित एनसेलको उजुरी

सोमबार, ३० भदौ २०८२, १६ : ३०
सोमबार, ३० भदौ २०८२

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आफ्नो कार्यालयमा भएको तोडफोड, आगजनी र लुटपाटका घटनामा संलग्न व्यक्तिहरूलाई कारबाहीको माग गर्दै एनसेलले जिल्ला प्रहरी कार्यालय, काठमाडौंमा उजुरी दर्ता गरेको छ।

एनसेल आइकन, लैनचौरस्थित आफ्नो मुख्य कार्यालयमा भदौ २४ गते भएका यी घटनाहरूले कम्पनीको सम्पत्तिमा ठूलो क्षति पुर्‍याएको कम्पनीले जनाएको छ।

उजुरीमा तोडफोडकारी समूहले सुरक्षाकर्मीहरूलाई डरत्रास देखाएर एउटा कोठामा थुनेर आगजनी तथा लुटपाट गरेको उल्लेख छ। उनीहरूले कार्यालयको ग्राउन्ड फ्लोरमा रहेको ग्राहक सेवा केन्द्र र रिसेप्सनमा तोडफोड गरी आगजनी गरेका थिए। यसबाहेक, उनीहरूले कार्यालयका हरेक तलामा प्रवेश गरी कम्प्युटर, टेलिभिजन, प्रिन्टर, फ्रिज, ओभन र कफी भेन्डर मेसिन जस्ता बहुमूल्य विद्युतीय सामानहरू लुटेर लगेको पनि एनसेलले जनाएको छ।

उजुरीअनुसार, लुटेराहरूले कम्पनीका महत्त्वपूर्ण कागजातहरू, नगद र सेफसमेत चोरी गरेका छन्। कर्मचारीहरूको व्यक्तिगत सामान र गरगहना राखिएका लकरहरू फोरेर पनि सामान लगेको पाइएको छ। कम्पनीका गाडीहरू पनि जलाइएको र कर्मचारीका गाडीहरूमा समेत तोडफोड तथा आगजनी गरी ठूलो आर्थिक र भौतिक क्षति पुर्‍याइएको कम्पनीले बताएको छ।

एनसेलले घटनामा भएको क्षतिको विवरण, लुटिएका सामानको सूची र घटनाको सीसीटीभी फुटेज प्रहरीलाई अनुसन्धानका लागि बुझाएको छ। कम्पनीले हाल क्षतिको मूल्याङ्कन गरिरहेको र सोको थप विवरण अनुसन्धानको क्रममा उपलब्ध गराउने जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप