सोमबार, २९ असार २०८३
ताजा लोकप्रिय

‘बजारमा दैनिक उपभोग्य वस्तुहरूको अभाव छैन, आपूर्ति प्रणाली चुस्त छ’

मङ्गलबार, ३१ भदौ २०८२, १५ : १८
मङ्गलबार, ३१ भदौ २०८२

काठमाडाैँ । जेनजी आन्दोलनपछि बजारमा दैनिक उपभोग्य वस्तुहरूको आपूर्ति, उपलब्धताकाबारे अनेक अड्कलबाजी भइरहेका बेला सरकारले भने आपूर्ति प्रणाली चुस्तदुरुस्त रहेको र त्यस्ता उपभोग्य वस्तुहरूको अभाव नरहेको स्पष्ट पारेको छ ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राेशन ज्ञवालीले जेनजी आन्दोलन र त्यसपछिको बजारको अवस्थालाई मध्यनजरमा राख्दै आपूर्ति प्रणालीसँगै उपभोग्य वस्तुहरूको उपलब्धतालाई नजिकबाट नियालिरहेको बताए । उनकाअनुसार अहिले मनसुनको समय र चाडपर्व पनि नजिका छन् । 

बजारमा दैनिक उपभोग्य लगायतका सामग्रीहरूको आपूर्तिको व्यवस्थापनलाई अझ सहज पार्न अहिले दैनिक जसो स्टेक होल्डरहरू अर्थात निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घ, चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघसँग पनि छलफल भइरहेको छ । 

सरकारले वस्तुको उपलब्धताको स्थिति हेर्दा भन्सार नाकाबाट नेपालमा आउने सामानहरूको विगतको आयातको अवस्था र अहिलेको आयातको अवस्थालाई पनि गहिरोसँगै विश्लेषण गरेको महानिर्देशक ज्ञवालीले बताए । 

आयातको अवस्था हेर्दा गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको हालसम्म खाद्यान्न लगायतका समग्रीहरु बढी नै आयात भएको छ । 

जसको कारण वर्तमान अवस्थामा दैनिक उपभोग्य लगायतका अत्यावश्यक वस्तुहरूको अभावको अवस्था नदेखिने उनको भनाइ छ । आगामी चाडपर्वको समयमा समेत बजारमा खाद्यपदार्थहरूको अभावको अवस्था नहुने उनले प्रष्ट पारेका छन् । 

स्टक पर्याप्त

महानिर्देशक ज्ञवालीका अनुसार अहिले दैनिक उपभोग्य वस्तुको स्टक पर्याप्त छ । निजी क्षेत्रको अलवा सरकार स्वयमले आफ्ना साल्ट ट्रेडिङ, खाद्य  संस्थान लगायतका निकायबाट केही खाद्यपदार्थहरू सरकारले स्टक राख्ने गरेको छ । 

अहिलेको स्टक हेर्दा चिनी, दाल, चामल, तेल, नुन लगायतको अत्यावश्यक खाद्य पदार्थ साल्ट ट्रेडिङसँग पर्याप्त मात्रमा छ ।

आयातको अवस्थाको विश्लेषण गर्दा धान, चामल, फलफूल, तरकारीजस्ता दैनिक अत्यावश्यक वस्तुहरू त्यो गत वर्षको परिणाम भन्दा बढी परिणाम भित्रिरहेको छ त्यसैले अभाव हुने स्थिति छैन ।

महानिर्देशक ज्ञवालीका अनुसार सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा निजी क्षेत्रका छाता सङ्गठन लगायत सरोकारवालाहरू छलफल भएको छ । 

छलफलमा निजी क्षेत्रको सबै छाता सङ्गठनले बजारमा अहिले अत्यावश्यक वस्तुहरूको अभाव नरहेको जानकारी गराएका थिए ।

यसबारे निजी क्षेत्र स्वयंले सार्वजनिक रूपमै आफ्ना धारणाहरू बाहिर ल्याएका छन् । निजी क्षेत्रले आफू अन्तर्गतका वस्तुगत सङ्घहरूलाई बजारमा अभाव सिर्जना नगर्ने, कालोबजारी नगर्ने, अवाञ्छित मूल्यवृद्धि नगर्ने, सहजरुपमा आपूर्ति व्यवस्थापन मिलाउने लगायतको सहजीकरण गरेको उनले बताए । 

चाडपर्वमा उपभोक्ता ठगीमा नपरुन् भन्ने हिसाबले सचेतना, सहजीकरण गर्ने र जनचेतना फैलाउने काम विभागले गरिरहेको छ ।

दसैँ लक्षित अनुगमन हुने

विभागका अनुसार कतै अवाञ्छित गतिविधि भए अनुगमनमा जाने तयारी छ । कार्य योजना अनुसारको अनुगमनमा जाने, त्यस्ता खालका अवाञ्छित गतिविधि भएको देखिए कारबाही गरिने महानिर्देशक ज्ञवालीले बताए ।

उनका अनुसार अभाव सिर्जना गर्ने, मूल्यवृद्धि गर्ने लगायतका कार्य उपभोक्ता संरक्षण ऐन विपरीत हुन् । त्यस्ता कार्य देखिए त्यसलाई नियन्त्रण गरिनेछ । कानुनको अधीनमा रहेर उच्चतम तहको कारबाही गरिने ज्ञवालीको भनाइ छ । 

यदि बजारमा त्यस्ता अवाञ्छित खालका गतिविधि भएका छन् भने कसैले सूचना दिए तत्कालै अनुगमन हुने उनको भनाइ छ । अनुगमनका लागि जनशक्तिको अभाव नरहेको, चाडपर्वको बेला एकीकृत तवरले बजारमा जाने रणनीति बनेको ज्ञवालीले बताए । 

एकीकृत रणनीतिमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, नापतौल विभाग लगायतका निकायहरूसँगको समन्वयमा बजार अनुगमन गर्ने विभागको तयारी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप