बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

जलेश्वर कारागारको अवस्था दयनीय, क्षमताभन्दा तीन गुणा कैदी

जेनजी आन्दोलनमा फरार भएकामध्ये १७६ कैदी फर्किए
मङ्गलबार, ३१ भदौ २०८२, १६ : ४३
मङ्गलबार, ३१ भदौ २०८२

सारांश

  • महोत्तरीको जलेश्वर कारागार जीर्ण बन्दै गएको छ, क्षमताभन्दा बढी कैदीबन्दी राखिँदा समस्या छ।
  • जेनजी आन्दोलनका क्रममा ५७३ कैदीबन्दी फरार भए, जसमध्ये १७६ फर्किएका छन्।
  • कारागार प्रमुखका अनुसार भवन निर्माण र स्थानान्तरणको योजना छ, तर सरकारी पहल आवश्यक छ।

जनकपुरधाम । एक शताब्दीभन्दा लामो इतिहास बोकेका महोत्तरीको जलेश्वर कारागार जीर्ण बन्दै गएको छ । भौतिक संरचना जीर्ण हुँदासमेत यो कारागारले क्षमताभन्दा करिब तीन गुणा बढी कैदीबन्दी राख्दै आएको छ ।

जलेश्वर कारागारको क्षमता २०० जनाको हो । यस कारागारमा ५७६ जना कैदीबन्दी रहँदै आएका थिए । जेनजी आन्दोलनका क्रममा जेलबाट तीन जनाबाहेक सम्पूर्ण कैदीबन्दी फरार भए । तीमध्ये १७६ कैदीबन्दी फर्किएर आएका छन् ।

कारागारका प्रमुख अशोक कुमार क्षेत्रीका अनुसार वर्षामा डुबान हुने समस्या छ । भौतिक संरचना जीर्ण छ भने क्षमताभन्दा झण्डै तेब्बर कैदीबन्दा राख्नुपर्दा थप समस्या हुने उनको भनाइ छ ।

जेनजी पुस्ताको आन्दोलनमा भदौ २५ गते सुरक्षाकर्मीहरूलाई कब्जामा लिएर जलेश्वर कारागारका ५७६ मध्ये ५७३ कैदीबन्दी फरार भएका थिए । कारागारको तीन वटा फलामे गेटलाई तोडेर उनीहरू फरार भएका थिए । बाँकी रहेको तीन जना कैदीमध्ये एक जनालाई जिल्ला प्रहरी कार्यालय महोत्तरीमा राखिएको थियो भने दुई जनालाई कारागार प्रशासनको मातहतमा राखिएको थियो ।

फरारमध्ये कर्तव्य ज्यानको ३३, लागु औषधको ३३, सवारी ज्यानको १५, अपहरणको ३, बहुविवाहको ३, मानव बेचविखन ४, जबर्जस्ती करणीका ३७, चोरी १४, डाँकाका ३, ठगीका २, लेनदेन २, बैंकिङ कसुर १, विदेशी रुपैयाँ अपचलनका १, हातहतियार खरखजानाका १, संगठित अपराधका १, आगलागी २, कुटपिट ४, अप्राकृतिक मैथुन २, ज्यान मार्ने उद्योगका १३ कैदीबन्दी थिए ।

मंगलबार यो समाचार तयार पार्दासम्म १६४ कैदीबन्दी आफैँ जेल फर्केका छन् भने १० जना कैदीलाई भारतीय प्रहरीले सीमा क्षेत्रबाट नियन्त्रणमा लिइ नेपाल प्रहरीलाई जिम्मा लगाएका छन् ।

कारागार प्रमुख क्षेत्रीका अनुसार फरार रहेका बाँकीमध्ये पनि अधिंकाश कैदीबन्दी कारागार प्रशासनको सम्पर्कमा आइसकेका छन् । उनले भने, ‘सम्पर्कमा आएका कैदीबन्दीले दुईतीन दिनमा आफू फर्किने जानकारी गराएका छन् ।’

WhatsApp Image 2025-09-16 at 15.47.12 (1)

यसरी फर्किएका कैदीबन्दीलाई कानुनले नै राम्रो आचरणको आधारमा मूल्याङ्कन गरी कैद सजाय मिनाहा गर्न सक्ने व्यवस्था गरेका कारण पनि उनीहरू स्वेच्छाले नै कारागार फर्कन थालेको क्षेत्री बताउँछन् ।

क्षेत्रीका अनुसार फरार हुने क्रममा तीन वटा ग्रीलको गेटमा क्षति भएको छ भने ७ वटा सीसीटीभी चोरिएको छ । यस्तै प्रशासन फाँटको गेटमा क्षति भएको छ । यसबाहेक अन्य क्षति नभएको कारागार प्रमुख क्षेत्रीले बताए ।

उनका अनुसार वर्षा याममा कारागार डुबानको समस्या हुँदै आएकाले जलेश्वर नगरपालिकाको खैराचौरीमा रहेको सरकारी जग्गामा कारागार भवन निर्माण गरी जेल सार्ने योजना छ । यसका लागि सरकारी पहल हुनु आवश्यक रहेकोे उनले बताए ।

मधेस आन्दोलनको क्रममा मृत्यु भएका सुरक्षाकर्मी थमन विकको मुद्दामा सजाय पाएका पूर्वप्रदेश सांसद कौशल यादव पनि कारागारबाट फरार हुनेको सूचीमा छन् । उनी अहिलेसम्म सम्पर्कमा नआएको कारागार प्रमुख क्षेत्रीले जानकारी दिए ।

तीन तले पक्की संरचना रहेको यो कारागारमा १८ वटा कोठा र एक ठुलो हल छ । कैदीबन्दीका लागि १५ वटा शौचालय, खानेपानीका पाँचवटा कल र खानेपानी संस्थानले जडान गरेको एउटा धारा कारागारमा छ । मनोरञ्जनका लागि क्यारमबोर्ड, लुडो, व्याडमिन्टनजस्ता खेल सामग्री तथा पुस्तकालयको सुविधा पनि उपलब्ध छ । बिहान योग, साधना र तनाव व्यवस्थापन कार्यक्रम चलाउने गरिएको कारागारभित्र कैदीहरूले मुढा उद्योगमा काम गर्ने सुविधा पाएका छन् ।

स्थानीय ज्येष्ठ नागरिक योगेन्द्र प्रसाद चौधरीका अनुसार राणाकालमा राजद्रोह वा गम्भीर अपराध गर्नेहरूलाई खैरा चोकको दक्षिणी बगैंचामा फाँसी दिइन्थ्यो भने सामान्य अपराधीलाई कारागारमा राखिन्थ्यो ।

यस कारागारको क्षमता १३५ कैदीबन्दी थियो । २०५४ सालमा भएको निरीक्षणमै यहाँ १७५ जना कैदीबन्दी रहेको तथ्याङ्क छ । २०७९ फागुन २९ गते प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले गरेको अनुगमनमा १३५ पुरुष र ६५ महिला राख्ने क्षमताको कारागारमा ५४८ पुरुष, ४९ महिला र ९ जना आश्रित रहेको तथ्य फेला परेको थियो ।

महिला ब्लक जीर्ण भएकाले तत्कालीन निर्देशनअनुसार महिला कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण गरी पुरुष ब्लकलाई विस्तार गर्ने काम भएको छ । त्यसअनुसार हाल यस कारागारको संशोधित क्षमता २०० पुरुष कैदी राख्ने बनाइएको छ ।

यद्यपि वास्तविकतामा यस कारागारमा हाल क्षमताभन्दा तीन गुणा बढी कैदी राखिँदै आएको छ, जसले व्यवस्थापनलाई थप चुनौतीपूर्ण बनाएको छ । ऐतिहासिक महत्त्व बोकेको यो कारागारमा आज संरचनागत जीर्णता, कैदीबन्दीको भिड र व्यवस्थापन संकटका कारण पुनः स्थानान्तरण वा आधुनिकीकरणको आवश्यकता देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप