शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
बागमती प्रदेश

बागमतीको व्यवस्थापिका अब कसरी अघि बढ्छ ?

सभामुखले दिए राजीनामा, बैठक बस्न भवन छैन
बुधबार, ०१ असोज २०८२, १५ : ३०
बुधबार, ०१ असोज २०८२

सारांश

  • बागमती प्रदेश सभाका सभामुख भुवन कुमार पाठकले औपचारिक रूपमा राजीनामा दिएका छन्।
  • सभामुखको राजीनामापछि उपसभामुखले सभाको नेतृत्व गर्नेछिन् र नयाँ सभामुख चयनको प्रक्रिया सुरु हुनेछ।
  • प्रदेश सभा भवन आगलागीबाट ध्वस्त हुँदा बैठक सञ्चालन र संरचना पुनर्निर्माणमा चुनौती थपिएको छ।

मकवानपुर । बागमती प्रदेश सभाका सभामुख भुवन कुमार पाठकले औपचारिक रूपमा राजीनामा दिएसँगै प्रदेश व्यवस्थापिका कसरी अघि बढ्ला भन्नेबारे चासो थपिएको छ । यसअघि जेनजी आन्दोलनका क्रममा प्रदेश सभाका भौतिक संरचना ध्वस्त भएपछि बैठक तथा आवश्यक काम–कारबाही कसरी अघि बढाउने भन्ने चिन्ता थियो ।

सभामुख पाठकले ह्वाट्स एपमार्फत् राजीनामाको औपचारिक पत्र पठाएका छन् । गत भदौ २३ गते भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा भएको प्रदर्शनमा अस्वाभाविक बल प्रयोगबाट भएको मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उनले भदौ २४ गते नै सामाजिक सञ्जालमार्फत राजीनामाको घोषणा गरेका थिए ।

पाठक राप्रपाको समानुपातिक कोटाबाट बागमती प्रदेश सभा सदस्य भएर २०७९ पुस २८ मा एमाले, माओवादी केन्द्र, राप्रपा र एकीकृत समाजवादीको सहयोगमा सभामुख निर्वाचित भएका थिए ।

सभामुख पाठकको राजीनामासँगै प्रदेश सभाको नेतृत्व अब उपसभामुखको काँधमा रहने छ । सभामुख रिक्त हुँदा उपसभामुख अप्सरा चापागाईले निर्वाचन प्रक्रिया अघि बढाउनुपर्ने नेपाल सरकारकी उपसचिव (कानुन) मनुका घिमिरेले जानकारी दिइन् ।

उनका अनुसार प्रदेश सभामा सभामुख पद रिक्त भएको अवस्थामा सभा सञ्चालनको सम्पूर्ण जिम्मेवारी उपसभामुखमा रहन्छ । नयाँ सभामुख चयनको प्रक्रियालाई कानुनी रूपमा लामो समय रोक्न नमिल्ने पनि उनले बताइन् ।

‘सभामुखको अनुपस्थितिमा प्रदेश सभाको बैठक बसेको खण्डमा उपसभामुखले नै अध्यक्षता ग्रहण गर्नुपर्ने हुन्छ । उहाँले सभामुखकै भूमिकामा सभा सञ्चालन गरेपछि पहिलो एजेन्डाको रुपमा दलहरूको सहमतिमा सभामुख चयनका लागि निर्वाचनको मिति तोकेर प्रक्रिया अगाडि बढाउनुपर्ने कानुनी व्यवस्था छ,’ घिमिरेले भनिन्, ‘कुनै पनि विषम परिस्थिति वा अन्य कारण देखाएर सभामुख चयन प्रक्रियालाई अनिश्चितकालसम्म रोक्नु संविधान र कानुनविपरीत हुन्छ ।’

सभामुख र उपसभामुख प्रदेश सभाका अभिन्न अङ्ग भएकाले यी पद रिक्त राख्दा सभाको संरचना नै अपुरो मानिने घिमिरेको तर्क छ । ‘कानुनले स्पष्ट रूपमा दुवै पद निर्वाचित हुनुपर्ने व्यवस्था गरेकाले यसलाई पन्छाउन मिल्दैन,’ उनले भनिन् । वर्तमान अवस्थामा उपसभामुखले नै सभाको अध्यक्षता गरेर ‘रुलिङ’ गर्ने र सबै दलको सहमतिमा नयाँ सभामुख चयनको प्रक्रियालाई अविलम्ब अगाडि बढाउनु नै संवैधानिक र कानुनी बाटो रहेको उनको भनाइ छ ।

बागमती प्रदेश सभाका सचिव रामकुमार पौडेलका अनुसार सभामुख पाठकले उपसभामुखलाई सम्बोधन गरी राजीनामा बुझाएसँगै बैठकको अध्यक्षता उपसभामुखले गर्ने र नयाँ सभामुख चयनको प्रक्रिया अगाडि बढाउनुपर्ने हुन्छ । प्रदेश सभाको अधिवेशन अन्त्य नभइसकेकाले उपसभामुख चापागाईले मिति तोकेर बैठक आह्वान गर्न सक्ने उनले बताए ।

पौडेलका अनुसार सोही बैठकमा सभामुखको राजीनामा पत्र पढेर सुनाइनेछ र नयाँ सभामुख निर्वाचनको मिति तय गर्न सक्ने अवस्था छ ।

‘संविधानको धारा १८२ को उपधारा (१) मा प्रत्येक प्रदेश सभाको पहिलो बैठक बसेको पन्ध्र दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने व्यवस्था छ । कुनै कारणवश पद रिक्त भएमा पनि प्रदेश सभा नियमावलीको नियम ७ को उपनियम ८ अनुसार सोही कार्यविधिबमोजिम निर्वाचन गरी पदपूर्ति गरिने उल्लेख छ । सभामुखको राजीनामा स्वीकृत भएपछि सूचना प्रकाशन गरिने र त्यसपछिको पहिलो बैठकबाट निर्वाचन प्रक्रिया अगाडि बढाइने कानुनी व्यवस्था छ,’ सचिव पौडेलले भने ।

एकातिर सभामुख पाठकले राजीनामा दिएका छन् भने अर्कोतिर प्रदेश सभा भवन र सचिवालय लगायतका संरचना आगलागीका कारण ध्वस्त हुँदा सभा सञ्चालनमा चुनौती थपिएको छ । सचिव पौडेलका अनुसार आगलागीका कारण सचिवालयले प्रारम्भिक रूपमा ३५ करोड रुपैयाँ बराबरको क्षति बेहोर्नुपर्ने अनुमान छ । जसमा साढे १२ करोडको नयाँ भवन, सचिवालय भवन, अन्य साना तथा संसदीय दलका भवन र भवनमा रहेका जिन्सी सामग्री जलेर क्षति पुगेको उनले बताए ।

क्षतिको पूर्ण विवरण सङ्कलनको काम तत्काल सुरु गरिने र त्यसपछि सरसफाइ र पुनर्निर्माणको काम अगाडि बढाइने सचिव पौडेलको भनाइ छ । तत्काल बैठक बस्नुपर्ने अवस्था आएमा कहाँ बस्ने भन्ने विषयमा पनि छलफल भइरहेको उनले बताए ।

‘अस्थायी विकल्पका रूपमा परिसरभित्रकै पुरानो ग्यारेजलाई मर्मत गरेर बैठक सञ्चालन गर्न सकिने वा सुरक्षित रहेका संसदीय दलका कार्यालय प्रयोग गर्ने विषयमा विचारविमर्श भइरहेको छ,’ पौडेलले भने, ‘यद्यपि, बैठक सञ्चालनका लागि माइक, रेकर्डिङ र इन्टरनेटजस्ता प्राविधिक सामग्री भाडामा लिनुपर्ने अवस्था छ ।’

जेनजी आन्दोलनका क्रममा सचिवालयका तीन वटा गाडी, ६ वटा मोटरसाइकल र केही निजी सवारी साधनसमेत जलेर नष्ट भएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप