शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
जेनजी आन्दोलन

सहिद हुनुअघि भण्डारी भन्थे– सपना पूरा नहुँदै जिन्दगी नै सकिने पो हो कि !

टिकटकमा सुनाएका थिए अधुरा सपना, डर र दसैँ
बिहीबार, ०२ असोज २०८२, १२ : ००
बिहीबार, ०२ असोज २०८२

सारांश

  • पाँचथरका कमल भण्डारीको विर्तामोडमा आन्दोलनका क्रममा मृत्यु भयो, जो साउदीबाट फर्केर घर बनाउँदै थिए।
  • मृत्यु हुनुअघि, उनले टिकटकमा आफ्ना भावनाहरू व्यक्त गरेका थिए, जसमा दसैँमा खुसी नआउने र सपना पूरा नहुने डर थियो।
  • सरकारले उनको परिवारलाई क्षतिपूर्ति दिने निर्णय गरेको छ, तर परिवारले गुमाएको सदस्यको क्षतिपूर्ति रकमले पूर्ति गर्न नसक्ने बताएका छन्।

विराटनगर । पाँचथर हिलिहाङका ३२ वर्षीय कमल भण्डारीले केही दिन अगाडि दसैँ आउन लागेको सङ्केत गर्दै टिकटकमा एउटा भिडियो बनाएका थिए । त्यहाँ उनले आमालाई सम्बोधन गर्दैै भनेका छन्, ‘दसैँ अरूको घरमाजस्तै हाम्रो घरमा पनि आउँछ होला है आमा ! तर अर्काको घरमाजस्तो खुसीचाहिँ आउँदैन होला !’

साउदीको तातो घाममा तीन वर्ष पसिना बगाएर कमाएको पैसाले पहाडको दुःख बिसाउँदै श्रीमती सीता पौडेल र ५ वर्षको छोरालाई सुख दिने उद्देश्यले विर्तामोड–१०, विराटपोखरीमा घर बनाउँदै थिए उनी । गत वैशाखदेखि घर बनाउन सुरु गरेका उनले छत ढलान गर्दै गरेको भिडियोसमेत टिकटकमा हालेका थिए ।

त्यहाँ उनले आफ्नी श्रीमती र छोरीलाई सम्बोधन गर्दै भनेका छन्, ‘आफैँले बनाउँदैछु, त्यसैले समय लाग्दैछ । सजाइएको जिन्दगी पुर्ख्यौली उपहारमा पाएको थिइनँ मैले । त्यसैले मेहनत म गर्छु, विश्वास तिमी गर्नु है माया !’

टिकटकमा रमाइरहने उनले दर्जनौँ भिडियो पोष्ट गरेका छन् । अर्को एउटा भिडियोमा उनले भनेका थिए, ‘डर लाग्छ... कतै सपना पूरा नहुँदै जिन्दगी नै सकिने पो हो कि ?’

तर, संयोग भनौँ वा नियति ! उनले भनेजस्तै दसैँ सबैतिर आउने तर उनको घरमा नआउने नै भयो । सपनाको महल ठड्याउने त भनियो तर, महलमा खुसी नआउने भयो । सपना पूरा नगरी उनको जिन्दगी नै सकियो । भदौ २३ गते जेनजी आन्दोलनका क्रममा विर्तामोडमा भएको झडपमा उनको मृत्यु भयो ।

‘घर लगभग तयार भइसकेको थियो । फिनिसिङको काम बाँकी थियो,’ कमलका काका शान्तिराम भण्डारीले भने, ‘उनी परिवारलाई त्यहीँ सारेर छोरालाई पढाउने योजनामा थिए ।’ तर, देशमा चर्किएको आन्दोलनको एउटा झिल्कोले उनको सपनाको घर र सिङ्गो जीवन नै खरानी बनाइदियो ।

Ghar

कमलको मृत्युले उनको परिवारमाथि बज्रपात भएको छ । उनकी श्रीमती सीता पौडेल तीन महिनाकी गर्भवती छिन् । उनीहरूको ५ वर्षीय एक छोरा छन्  । श्रीमानको मृत्युको खबरले सीता अर्धचेत अवस्थामा छिन् । अब जन्मने सन्तानले बुबाको काख कहिल्यै पाउने छैन भने ५ वर्षीय छोराले बुबाको अभाव जीवनभर महसुस गर्नेछन् ।

‘बुहारी तीन महिनाको गर्भवती छिन् । पाँच वर्षको छोरा छ,’ भण्डारीले गह्रौँ स्वरमा भने, ‘उनीहरूको भविष्य अब के हुने हो, हामी सबै शोकमा छौँ ।’

७ वर्षअघि विवाह बन्धनमा बाँधिएका यो जोडीको खुसीको संसार एकाएक उजाडिएको छ ।

घटना भएको दिन २३ गते कमल ‘म एकछिन आन्दोलनमा गएर आउँछु’ भनी निस्किएका थिए, तर उनी फर्केनन् । भोलिपल्ट मात्रै श्रीमती सीतासहित परिवारले उनको मृत्युको खबर पायो । ‘घटना भएको भोलिपल्ट उहाँलाई बीएनसी हस्पिटलमा लगिएको थाहा पायौँ,’ काका शान्तिरामले भने, ‘त्यतिबेलासम्म ढिलो भइसकेको थियो ।’

Kamal Bhandari (3)

सरकारले कमल भण्डारीलाई सहिद घोषणा गर्दै उनको परिवारलाई क्षतिपूर्ति स्वरूप १० लाख र तत्कालीन खर्चबापत ५ लाख दिने निर्णय गरेको छ । उनीजस्तै सहिदहरूको सम्मानमा असोज १ गते राष्ट्रिय शोक दिवस पनि मनाइएको छ, तर परिवारका लागि गुमेको सदस्य अमूल्य छ, जो पैसामा तुलना हुनै सक्दैन । गुमेको शरीर नआउने भन्दै शान्तिराम भन्छन्, ‘हामी त शोकमा छौँ, अब देशलाई राम्रो होस् । हाम्रो मान्छेले ज्यान गुमाएको सार्थक होस् भन्ने चाहन्छौँ ।’

५७ वर्षीय बुबा गणेशप्रसाद भण्डारी र ५५ वर्षीय आमा खगमाया कार्कीले आफ्नो माइलो छोरा गुमाएका छन् । त्यसै दिन खबर सुनेदेखि बुबा गणेशप्रसाद बिरामी भएका छन् । तीन दाजुभाइ र दुई दिदीबहिनीमध्येका कमलको निधनले परिवार र सिङ्गो गाउँ नै स्तब्ध बनेको छ । विर्तामोडको विराटपोखरीमा बनिरहेको उनको घर आज रित्तो छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप