सहिद हुनुअघि भण्डारी भन्थे– सपना पूरा नहुँदै जिन्दगी नै सकिने पो हो कि !
सारांश
- पाँचथरका कमल भण्डारीको विर्तामोडमा आन्दोलनका क्रममा मृत्यु भयो, जो साउदीबाट फर्केर घर बनाउँदै थिए।
- मृत्यु हुनुअघि, उनले टिकटकमा आफ्ना भावनाहरू व्यक्त गरेका थिए, जसमा दसैँमा खुसी नआउने र सपना पूरा नहुने डर थियो।
- सरकारले उनको परिवारलाई क्षतिपूर्ति दिने निर्णय गरेको छ, तर परिवारले गुमाएको सदस्यको क्षतिपूर्ति रकमले पूर्ति गर्न नसक्ने बताएका छन्।
विराटनगर । पाँचथर हिलिहाङका ३२ वर्षीय कमल भण्डारीले केही दिन अगाडि दसैँ आउन लागेको सङ्केत गर्दै टिकटकमा एउटा भिडियो बनाएका थिए । त्यहाँ उनले आमालाई सम्बोधन गर्दैै भनेका छन्, ‘दसैँ अरूको घरमाजस्तै हाम्रो घरमा पनि आउँछ होला है आमा ! तर अर्काको घरमाजस्तो खुसीचाहिँ आउँदैन होला !’
साउदीको तातो घाममा तीन वर्ष पसिना बगाएर कमाएको पैसाले पहाडको दुःख बिसाउँदै श्रीमती सीता पौडेल र ५ वर्षको छोरालाई सुख दिने उद्देश्यले विर्तामोड–१०, विराटपोखरीमा घर बनाउँदै थिए उनी । गत वैशाखदेखि घर बनाउन सुरु गरेका उनले छत ढलान गर्दै गरेको भिडियोसमेत टिकटकमा हालेका थिए ।
त्यहाँ उनले आफ्नी श्रीमती र छोरीलाई सम्बोधन गर्दै भनेका छन्, ‘आफैँले बनाउँदैछु, त्यसैले समय लाग्दैछ । सजाइएको जिन्दगी पुर्ख्यौली उपहारमा पाएको थिइनँ मैले । त्यसैले मेहनत म गर्छु, विश्वास तिमी गर्नु है माया !’
टिकटकमा रमाइरहने उनले दर्जनौँ भिडियो पोष्ट गरेका छन् । अर्को एउटा भिडियोमा उनले भनेका थिए, ‘डर लाग्छ... कतै सपना पूरा नहुँदै जिन्दगी नै सकिने पो हो कि ?’
तर, संयोग भनौँ वा नियति ! उनले भनेजस्तै दसैँ सबैतिर आउने तर उनको घरमा नआउने नै भयो । सपनाको महल ठड्याउने त भनियो तर, महलमा खुसी नआउने भयो । सपना पूरा नगरी उनको जिन्दगी नै सकियो । भदौ २३ गते जेनजी आन्दोलनका क्रममा विर्तामोडमा भएको झडपमा उनको मृत्यु भयो ।
‘घर लगभग तयार भइसकेको थियो । फिनिसिङको काम बाँकी थियो,’ कमलका काका शान्तिराम भण्डारीले भने, ‘उनी परिवारलाई त्यहीँ सारेर छोरालाई पढाउने योजनामा थिए ।’ तर, देशमा चर्किएको आन्दोलनको एउटा झिल्कोले उनको सपनाको घर र सिङ्गो जीवन नै खरानी बनाइदियो ।

कमलको मृत्युले उनको परिवारमाथि बज्रपात भएको छ । उनकी श्रीमती सीता पौडेल तीन महिनाकी गर्भवती छिन् । उनीहरूको ५ वर्षीय एक छोरा छन् । श्रीमानको मृत्युको खबरले सीता अर्धचेत अवस्थामा छिन् । अब जन्मने सन्तानले बुबाको काख कहिल्यै पाउने छैन भने ५ वर्षीय छोराले बुबाको अभाव जीवनभर महसुस गर्नेछन् ।
‘बुहारी तीन महिनाको गर्भवती छिन् । पाँच वर्षको छोरा छ,’ भण्डारीले गह्रौँ स्वरमा भने, ‘उनीहरूको भविष्य अब के हुने हो, हामी सबै शोकमा छौँ ।’
७ वर्षअघि विवाह बन्धनमा बाँधिएका यो जोडीको खुसीको संसार एकाएक उजाडिएको छ ।
घटना भएको दिन २३ गते कमल ‘म एकछिन आन्दोलनमा गएर आउँछु’ भनी निस्किएका थिए, तर उनी फर्केनन् । भोलिपल्ट मात्रै श्रीमती सीतासहित परिवारले उनको मृत्युको खबर पायो । ‘घटना भएको भोलिपल्ट उहाँलाई बीएनसी हस्पिटलमा लगिएको थाहा पायौँ,’ काका शान्तिरामले भने, ‘त्यतिबेलासम्म ढिलो भइसकेको थियो ।’
_hulPeNFVjO.jpg)
सरकारले कमल भण्डारीलाई सहिद घोषणा गर्दै उनको परिवारलाई क्षतिपूर्ति स्वरूप १० लाख र तत्कालीन खर्चबापत ५ लाख दिने निर्णय गरेको छ । उनीजस्तै सहिदहरूको सम्मानमा असोज १ गते राष्ट्रिय शोक दिवस पनि मनाइएको छ, तर परिवारका लागि गुमेको सदस्य अमूल्य छ, जो पैसामा तुलना हुनै सक्दैन । गुमेको शरीर नआउने भन्दै शान्तिराम भन्छन्, ‘हामी त शोकमा छौँ, अब देशलाई राम्रो होस् । हाम्रो मान्छेले ज्यान गुमाएको सार्थक होस् भन्ने चाहन्छौँ ।’
५७ वर्षीय बुबा गणेशप्रसाद भण्डारी र ५५ वर्षीय आमा खगमाया कार्कीले आफ्नो माइलो छोरा गुमाएका छन् । त्यसै दिन खबर सुनेदेखि बुबा गणेशप्रसाद बिरामी भएका छन् । तीन दाजुभाइ र दुई दिदीबहिनीमध्येका कमलको निधनले परिवार र सिङ्गो गाउँ नै स्तब्ध बनेको छ । विर्तामोडको विराटपोखरीमा बनिरहेको उनको घर आज रित्तो छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईश्वरी भुजेल हत्या प्रकरण : पूर्वगृहमन्त्री गुरुङ बालाजु प्रहरी वृत्त पुगे, दोषीमाथि कडा कारबाहीको माग
-
२०२६ विश्वकपमा चम्किन तयार १२ किशोर खेलाडी
-
बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी
-
पश्चिम बंगालमा बुलेट ट्रेन परियोजना घोषणा
-
घानामा आलोचकहरूको बढ्दो गिरफ्तारी, अभिव्यक्ति स्वतन्त्रतामाथि चिन्ता
-
प्रधानमन्त्रीको बालेनको अभिव्यक्तिविरुद्ध श्रम संस्कृति पार्टीको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण