शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

फ्रान्समा बजेट कटौतीको विरोधमा सडक प्रदर्शन

बिहीबार, ०२ असोज २०८२, १३ : २६
बिहीबार, ०२ असोज २०८२

सारांश

  • फ्रान्समा बजेट कटौतीको विरोधमा ट्रेड युनियनहरूले हडताल र सडक प्रदर्शनको आह्वान गरेका छन्।
  • युनियनहरूले सामाजिक कल्याण स्थगन र मितव्ययिता उपायहरू समावेश भएको बजेट मस्यौदा फिर्ता लिन आग्रह गरेका छन्।
  • राष्ट्रपति म्याक्रोनको पेन्सन सुधारको विरोध गर्दै न्यूनतम सेवानिवृत्ति उमेर ६२ बाट ६४ मा बढाएकोमा असहमति जनाएका छन्।

पेरिस । फ्रान्समा बजेट कटौतीको विरोधमा सबै प्रमुख ट्रेड युनियनहरूले हडताल र सडक प्रदर्शन आह्वान गरेका छन् ।  नयाँ प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले ठुलो घाटा र ऋण नियन्त्रणबारे राजनीतिक दलहरूसँग छलफल गरिरहेका बेला उनीहरूले सो कदम चालेका हुन् ।

युनियनहरूले लेकोर्नुलाई अघिल्लो सरकारले प्रस्ताव गरेको बजेट मस्यौदा फिर्ता लिन आग्रह गरेका छन् । उक्त योजनामा सामाजिक कल्याण स्थगन र मितव्ययिता उपायहरू समावेश छन्, जसले कम तलब र मध्यम वर्गीय कामदारहरूको क्रयशक्ति घटाउने चेतावनी उनीहरूले दिएका छन् । 

गत हप्ता जारी संयुक्त विज्ञप्तिमा युनियनहरूले यी उपायलाई ‘अभूतपूर्व क्रूरता’ भन्दै, कामदार, अस्थायी रोजगारीमा रहेका, सेवा निवृत्त र बिरामीहरूलाई मूल्य चुकाउने बनाएको आरोप लगाएका थिए ।

युनियनहरूले राष्ट्रपति इमानुएल म्याक्रोनको पेन्सन सुधारसमेत अस्वीकार गर्दै आएका छन्, जसअनुसार न्यूनतम सेवा निवृत्ति उमेर ६२ बाट ६४ मा बढाइएको छ ।

पूर्वगृहमन्त्री ब्रुनो रिटेलियोले बिहीबार सडकमा ‘धेरै बलियो परिचालन’ हुने बताएका छन् । उनका अनुसार करिब ८० हजार प्रहरी र जेन्डरमेरी अफिसरहरू देशभर तैनाथ हुनेछन् 

उनले बिहानै अवरोध, तोडफोड र अति वामपन्थी समूहहरूको सम्भावित हिंसात्मक गतिविधिबारे चेतावनीसमेत दिए । भोलिपल्ट पनि धेरै फ्रान्सेली सहरमा प्रदर्शन हुने उनले बताए ।

सार्वजनिक यातायात, अस्पताल र विद्यालयलगायत धेरै क्षेत्रमा अवरोध हुने अनुमान छ । फ्रान्सेली राष्ट्रिय रेल कम्पनी एसएनसिएफले फ्रान्स र युरोप जाने उच्च गतिको रेलहरूमा ‘केही अवरोध’ हुने अपेक्षा गरे पनि अधिकांश रेल चल्ने जनाएको छ । तर क्षेत्रीय रेल लाइन, पेरिस मेट्रो र यात्रुवाहक रेलहरू बढी प्रभावित हुनेछन् ।

हवाई यातायातमा भने मुख्य नियन्त्रक युनियनले नयाँ मन्त्रिमण्डल नबनेसम्म हडताल स्थगित गरेपछि सीमित मात्र अवरोध हुने देखिएको छ ।

गत हप्ताको विरोध प्रदर्शनमा धुवाँ, आगो, अवरोध र अश्रु ग्याँसले सडकमा तनाव चुलिएको थियो । पूर्ण अवरोधको लक्ष्य पुरा नभए पनि ‘ब्लक एभरिथिङ’ अभियानले दैनिक जीवनका धेरै भाग अवरुद्ध पारेको र सयौँ स्थानमा तनाव भड्काएको अधिकारीहरूले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप