आफ्नै नजरमा अटेरी अरुन्धती रोयको जीवन वृत्तान्त
सारांश
- अरुन्धती रोयले आफ्नो नयाँ संस्मरण 'मदर मेरी कम्स टु मी' मा आमासँगको सम्बन्धबारे लेखेकी छन्, जसमा उनले आमा मेरीको जीवनका विभिन्न पक्षहरूलाई उजागर गरेकी छिन्।
- रोयको लेखनमा उनको आमाको प्रभाव, राजनीतिक विचार, र संघर्षहरू झल्किन्छन्, जसले पाठकलाई उनको जीवन र लेखनशैली बुझ्न मद्दत गर्छ।
- लेखनमा रोयले आफ्नो जीवनका व्यक्तिगत अनुभवहरू, आमासँगको सम्बन्ध, र राजनीतिक अडानहरूलाई मिहिन रूपमा प्रस्तुत गरेकी छिन्।
अरुन्धती रोय आफूलाई घुमन्तेका रूपमा चिनाउँन खोज्छिन् । दिल्लीवासी यिनै लेखिकाले सन् १९९७ मा आफ्नो पहिलो तथा सर्वाधिक बिक्री भएको पुस्तक ‘द गड अफ स्मल थिंग्स’ का लागि बुकर पुरस्कार पाइन् । पुरस्कार पाउने पहिलो भारतीय नागरिक बनेपश्चात् भारतका राष्ट्रपति र प्रधानमन्त्रीलगायत वरिष्ठ व्यतिहरूसँगै सिङ्गो भारतले नै उनीमाथि गर्व गर्छ भन्न थालियो ।
त्यसबखत उनी केवल ३६ वर्षकी थिइन् । त्यसपछि उनी एकाएक धनी र प्रसिद्ध भइन् । उनले पैसा र प्रशंसा पाएपछि चुपचाप आफ्नै काममा रमेर बस्न सक्थिन् । तर, उनी चुपचाप बसिनन् । उनले आफ्नो जीवनको दिशा फेर्न खोजिन् ।
भारतीय अखबारहरूमा उनले देशका अभिजात वर्गले गरिरहेका सबै गलत कृत्यहरू विरुद्ध आक्रोशले भरिएका लामा–लामा लेख लेख्न थालिन् । भारतका राष्ट्रवादीहरूले आणविक परीक्षणको उत्सव मनाउँदै गर्दा उनी भने त्यसलाई आलोचनाको आँखाले हेरेर लेख्दै थिइन्, ‘अहिले चलिरहेको हावामा कुरूप फासीवादको दुर्गन्ध छ ।’
अर्को निबन्धमा उनले लेखिन्, ‘समग्रमा भारतको अवस्थाबारे नरम शब्दमा भन्ने हो भने– राम्रो छैन ।’ उनले हिन्दु–राष्ट्रवादको अतिवादी हिंसा, कश्मीरमा चलिरहेको सैन्य कब्जा, व्यापक गरिबी, विस्थापितहरूको दुःख, इस्लामोफोबिया र ठुला साहुहरूको अपराधबारे कलम चलाइन् ।

राष्ट्रवादविरोधी लेखनले उनलाई चरम आलोचनाको चौघेरामा ल्याएर पछारिदियो । ‘द गड अफ स्मल थिंग्स’मा अन्तर्जातीय यौन समागमको दृश्यलाई लिएर उनीमाथि अश्लीलताको आरोप लाग्यो । त्यति मात्रै नभएर केहीअघि उनले आतंकवादलाई समर्थन गरेको आरोपमा अदालतसमेत धाउनुपर्यो ।
उनले आफूलाई द्वन्द्व विरोधीका रूपमा परिभाषित गर्न थालिन् । रोयले आफ्नो नयाँ संस्मरणात्मक पुस्तक ‘मदर मेरी कम्स टु मी’मा लेखे जस्तै ‘मान्छेहरूले मलाई जति ठुलो स्वरमा राष्ट्रविरोधी भन्दै आक्रमण गर्न थाले, भारत मेरै घर हो भन्ने कुरा मलाई त्यति नै गहिरोगरि महसुस हुन थाल्यो । यो मैले माया गरेको र मसँग जोडिएको भूगोल थियो । भारतबाहेक मैले आफूले चाहेजस्तो विद्रोही बन्न सकिने अर्को कुनै ठाउँ छैन । यहाँभन्दा बाहिर मैले यति धेरै प्रशंसा गर्ने विद्रोहीहरू पनि कतै भेट्टाउन सक्दिनथेँ ।’
सन् १९९७ यता उनले २० भन्दा धेरै पुस्तक प्रकाशन गरिसकेकी छन् । सन् २०१७ मा आएको ‘द मिनिस्ट्री अफ अटमस्ट ह्याप्पिनेस’बाहेक सबै गैह्र–आख्यान कृति हुन् । जसमा धेरैजसो निबन्धसंग्रह, मन्तव्यको सँगालो तथा राजनीतिबारे फुटकर टिप्पणीहरू समेटिएका छन् ।
उनै अरुन्धती रोयले अहिले आफ्नो ६३ वर्षको उमेरमा आत्मसंस्मरण लिएर आएकी छन् । आज पनि उनको ‘द गड अफ स्मल थिंग्स’ नै उम्दा कृतिमा पर्छ । केरलाको गाउँमा बिताएको बाल्यकालबाट प्रेरित भएर लेखिएको उक्त आख्यानले एकल महिला आमाको काखमा हुर्केका जुम्ल्याहा दाजुबहिनीको कथा भन्छ ।

कथा मिठोगरी बग्दै–बग्दै त्यसले समयको फेरो समाउँदै तपाईंलाई मीनाचल नदीबाट उठ्ने बादलको आनन्ददायक अनुभूति गराउँछ । यति मसिनो र मिहिन रूपमा उनले त्यसपछि अरू कृति लेखेकै छैनन् भन्न सकिन्छ । किनभने विभिन्न मामिला भाषण दिँदै हिँड्न थालेपछि उनको कामको स्वरूप नै फेरिन पुग्यो ।
राजनीतिबारे लेख्दा उनी व्यापक रूपमा तथ्याङ्क, किसिम–किसिमका मिश्रित विम्ब प्रयोग गर्दै सम्बन्धित सन्दर्भमा आफूले सोच्न सक्ने प्रत्येक विषयलाई एउटै निबन्धमा खाद्न खोज्छिन् । उनले ‘द मिनिस्ट्री अफ अटमोस्ट ह्यापिनेस’ लेख्दै गर्दा उनमा विकास भएको पछिल्लो लेखन शैली र आदतले कथा भन्ने उनको चाहना नै झन्डै खिइएको अवस्था थियो ।
दिल्ली र काश्मीरको परिवेशमा आधारित उक्त उपन्यासले दिल्लीको तेस्रो लिङ्गी समुदायकी एक महिला, एउटा भ्रष्ट पत्रकार, अर्को एउटा काश्मीरी स्वतन्त्रता सिपाही र ती सबैसँग जोडिने महिलाको कथा भन्छ । उपन्यास धेरै गौण पात्रहरूको चर्चा गर्न खोज्दा–खोज्दै कता–कता हराइजान्छ ।
उनी कथामा विरोध, आन्दोलनका असम्बन्धित पक्षहरू जोडेर तन्काउन थाल्छिन् । यसले अझ भद्रगोल बनाइदिन्छ । अरुन्धती आफूलाई लेखक–अधिकारकर्मी भन्न त्यति रुचाउदिनन् । यसलाई उनी सोफा–खाटसँग तुलना गर्छिन् । जुन न त ढंगको खाट हुन्छ न त गतिलो सोफा । सबै सन्दर्भलाई जोडजाड पार्न खोज्दा उनको उपन्यास त्यस्तै सोफा–खाट पनि राम्रोसँग हुन नसकेको भान हुन्छ ।
अरुन्धती आफ्नो कुरा राख्न ‘रेटोरिक’ शैलीको उपयोग गर्छिन् । ‘रेटोरिक’ उनको हतियार हो । घरी–घरी त उनको लेखाई उपदेशात्मक पो भयो कि भन्ने लाग्न थाल्छ । तर, राजनीतिको मामिलामा उनको अडान उस्तै छ । सन् २००२ मा लेखिएको एउटा निबन्धमा उनले फासीवादसँग लड्नु भनेको ‘हामी साँच्चै शक्तिहीनहरूको सुस्केरा सुन्न तयार हुनु हो’ भनेकी छन् ।
जुन पंक्ति भारतको आवादीको सबैभन्दा ठुलो हिस्सा पनि हो । उनी नरेन्द्र मोदी सरकारको कटु अलोचक हुन् । तर, अन्य आलोचकहरू जस्तो उनी भारत बाहिर बसेर लेख्दिनन् । उनी आफ्नै मुलुकमा बसेर त्यहाँका शक्तिशाली र शासकलाई क्रोधित बनाउनेगरी लेख्छिन् ।

पश्चिमा साहित्यिक जगत्ले उनलाई लोभलाग्दो विद्रोहीका रूपमा व्यवहार गर्छ । भारत बाहिर विभिन्न समयमा हुने गरेका कार्यक्रमहरूमा उनी संसारभर संघर्षरत मानिसका दुःख उजागर लेखिका बन्न पुग्छिन् । गत वर्ष लन्डनमा पेन पिन्टर पुरस्कार स्वीकार गर्ने क्रममा उनले इजरायलले प्यालेस्टाइनमा चलाइरहेको ‘नश्लभेदी राज्य’को आलोचना गरिन् ।
‘गाजा र लेबनानमा इजरायलले टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरेर नरसंहार मच्चाइरहेको’ भन्दै कठोर आलोचना गरिन् । साथै वर्तमान समयमा हमासलाई दोषी मान्न नसकिने उनको स्पष्ट विचार थियो । यसबाट प्रस्ट बुझ्न सकिन्छ, नागरिक बस्तीमा खस्ने प्रत्येक बमसँगैको चित्कार र गोली चलेसँगै ढलेको बालकको चिन्ताले उनलाई गाँजेको छ । अरूलाई उनका कुरा मन पर्छ कि पर्दैन, उनलाई त्यसमा कुनै टाउको दुखाइ छैन ।
उनको नयाँ पुस्तक आमाको वरपर रहेर लेखिएको छ । अरुन्धतीका लागि उनकी आमा अर्थात् मदर मेरी आदर्श र चुनौती दुवै थिइन् । सन् १९६० को दशकमा मेरीले केरलामा खोलेको विद्यालय अहिले पनि त्यहाँका मुख्य विद्यालयहरूमा पर्छ । सम्बन्धविच्छेदपश्चात् एकल आमाका रूपमा विभिन्न प्रकारका कठिनाइहरूसँग उनले संघर्ष गर्नुपर्यो ।
सिरियाली इसाई महिलाहरूलाई पारिवारिक तथा सम्पत्तिको उत्तराधिकारको मामलामा गरिने विभेद र त्यससम्बन्धी कानुनसँग जुधिन् । साथै त्यसमा केही परिवर्तन पनि गराइन् । सन् २०२२ मा उनको मृत्यु भयो, उनको निधनले अरुन्धतीलाई सघन चिन्तन गर्नुपर्ने अवस्थामा पुर्याइदियो ।
आफ्नो जीवनमा आमा कति महत्त्वपूर्ण थिइन् भन्ने थप महसुस गराइदियो । अरुन्धती मसिना सन्दर्भहरूमा क्षणिक मानव अनुभवहरू कैद गर्न माहिर छिन् । तर, यस पुस्तकमा भने उनी आफैभित्र फर्किएकी छिन् । धेरै मानिसका कथा बुन्ने मान्छे यस पुस्तकमा आफ्नै कथा स्पष्ट रूपमा भन्न केन्द्रित भएको भेटिन्छिन् ।
उनकी आमा मेरीले आफ्ना छोराछोरीलाई पनि अन्य विद्यार्थीहरू जस्तै ‘श्रीमती रोय’ भनेर बोलाउन लगाइन । पक्षपातको आरोप नलागोस भनेर उनले त्यसो गरेकी थिइन् । केही हदसम्म अरुन्धतीका लागि प्रेरक उदाहरण थिइन् । सत्यको पक्षमा दृढ, निर्भीक तथा अधिकारको पक्षमा सम्झौताहीन अडान लिन हरदम तयार ।
संस्मरणमा रोयले उनी र उनका भाइ आफ्नी आमाको कठोर व्यवहारबाट विस्मृत हुने गरेको पनि स्विकारेकी छिन् । मेरी दयालु थिइन् साथै छिट्टै आक्रामक पनि भइहाल्थिन् । उनले अरुन्धती नौ वर्षकी हुँदा एकपटक उनलाई ‘कुकुर्नी’समेत भनेकी थिइन् । छोरा एलकेसीलाई ‘उपद्राहा सुँगुर’ भनेकी थिइन् । परीक्षाको नतिजा आएको बेला आफ्नो छोराले ‘औसत’ स्तरको नतिजा ल्याएको भन्दै पिट्दा उनले काठको लबटा नै भाँचेकी थिइन् ।
अर्को दिन छोरीको नतिजा राम्रो भएको पाउँदा उनलाई प्रशंसा मात्रै गरिनन्, विरलै देखाउने शैलीमा अँगालोले बाँधेर मायासमेत देखाइन् । त्यो घटनाले अरुन्धतीलाई असाध्यै लज्जा महसुस गराएको छ । उनी सम्झिन्छिन, ‘त्यो घटनाले मेरो दिमागमा अनौठो आदत बनाइदिएको छ । आज पनि जब मेरो प्रशंसा हुन्छ, मलाई त्यसबेला अर्को कोठामा कोही शान्त व्यक्तिलाई पिटिँदै छ होला भन्ने लाग्छ ।’
मायालु आमाबाबु भएका बच्चाहरूलाई उनी ‘ममीड्याडी मान्छे’को रूपमा हेर्ने गर्थिन् । किशोरावस्थाको अन्त्यतिर मेरीसँग अरुन्धतीको भयंकर झगडा पर्यो । वर्षौंसम्म मेरीबाट टाढा रहेर अन्ततः उनीहरूले केहीअघि मेलमिलाप गरेका थिए । अरुन्धतीलाई आमा मेरीसँग बिताएको जीवन कुस्ती खेलजस्तै लाग्छ । जतिसुकै पीडादायी भएता पनि उम्कन भने असम्भव ।

संस्मरणमा आमासँगको सम्बन्धबारे मात्रै लेखिएको छैन । अरुन्धतीको आफ्नैबारे पनि सजीव ढंगले लेखिएको छ । आफ्नो आवाजलाई पृष्ठहरूमा उतार्दाका संघर्षबारे लेखिएको छ । उनी लेख्छिन्, ‘मलाई थाहा छ, यो पक्कै आफै आउँदैन । मैले यसलाई सिकार खेलेजस्तै खोजेर निकाल्नुपर्छ । यसलाई काट्नुपर्छ । खानुपर्छ । यति गरेर सकाएपछि बल्ल मैले त्यसका लागि आवश्यक भाषा पाउँछु । त्यसको खास भाषा पाउँछु, बल्ल मलाई आफ्नै शरिरमा रगत बगेजस्तै सहज रूपमा लेख्न मिल्ने अवस्था हुन्छ ।’
उनलाई पढ्ने औधि रुचि थियो । मेरीकै ढिपीका कारण उनी दिल्लीमा आर्किटेक्चर पढ्न गइन् । एकजना पाका चलचित्र निर्माता प्रदीप कृषेनलाई भेट्नुअघिसम्म उनी त्यसैमा रुमल्लिइरहेकी थिइन् । कृषेनले उनलाई ८०को दशकको चलचित्र ‘मासे साहिब’ मा खेलाउने भए ।
चलचित्रको सेटमा सम्बन्धमा देखिएका उनीहरू अन्ततः वास्तविक जीवनमा पनि आपसमा सम्बन्धमा गासिन पुगे । अरुन्धती र कृषेनले केही वर्षसँगै चलचित्र तथा टेलिभिजन कार्यक्रमहरूमा काम गरे । पटकथा लेखनबाट अरुन्धती विस्तारै आफ्नै सिर्जना जगत्मा लागिन् । उमेरको तीसको सुरुवातमै उनी आफ्नो पुस्तक ‘द गड अफ स्माल थिंग्स’ मा लागिसकेकी थिइन् ।
अरुन्धती आफूलाई सधैँ अन्जान मान्छेका रूपमा देखाउन खोज्छिन् । यसका पछाडि मानिसले उनकी आमा मेरीप्रति राखेको धारणा पनि छ । उनी जति टाढा पुगे पनि आफूलाई उनी केरलाको हुर्केको परिवेशमा पाउँछिन् । जहाँ उनको परिवारलाई सिरियाली इसाई परिवारमा वैवाहिक सम्बन्धको आधारमा जताततै अस्वीकृत गरिएको थियो ।
आफ्नी आमासँग बोलचाल बन्द भएको बेला उनी आफूलाई ‘बा–आमा, जागिर र कुनै फिक्री नभएको’ भन्ने गर्थिन् । विश्वविद्यालय वरपरका सामान्य खाजाघरमा भौँतारिएर समय काट्थिन् । आफूलाई जति नै गरिब दुःखीजस्तो भने पनि उनी एकदमै शिक्षित आमाले हुर्काएकी तथा राम्रो शिक्षा–दीक्षा पाएकी महिला थिइन् ।
कुशलतापूर्वक अंग्रेजी बोल्न सक्ने तथा सुन्दर महिला थिइन् (उनले कतै–कतै आफूलाई सुन्दर महिला भनेको छक्क परेको पनि उल्लेख गरेकी छन्) । उनी आफूले पाएको विशेषाधिकार स्वीकार पनि गर्छिन् । उनलाई अझै आफ्नो आमाबाट पाएको विशेष कुरा भने निर्भीकताको गुण हो भन्ने लाग्छ ।

आफ्नो पहिलो उपन्यास प्रकाशित हुने बेलासम्म उनी आर्थिक समस्याबाट गुज्रिरहेकी थिइन् । त्यसबेला कुनै निर्माताले उनलाई निश्चित रकम लिएर आफूले लेखेका सबै रचना बेच्न प्रस्ताव गर्यो । उनले सोझै प्रश्न गरिन्, ‘के मेरो निधारमा मूर्ख लेखिएको छ ?’
उनलाई त्यति भन्ने साहस आमाकै कारण आएको हो भन्ने लाग्छ । आफू अप्ठेरोमा परेको वा दुःख पाएको घडीमा पनि उनी आफूलाई ‘मेरी रोयकी छोरी हुँ’ भने लागिरहन्छ । केही अविभावकहरू आफ्ना सन्तानले आफैलाई जितून् भन्ने लाग्छ । कसैले भने केही ध्यानै दिँदैनन् ।
अरुन्धतीका बुबा पनि यस्तै थिए (केटाकेटी सानै हुँदा छाडेर गएका उनी २० वर्ष कटेपछि मात्रै देखापरेका थिए) । कोही त आफ्ना सन्तानको उपलब्धि देखेर क्रूद्ध हुने समेत हुन्छन् । अरुन्धतीलाई आफ्नी आमा तेस्रो खालको हुन भन्ने लाग्छ । ‘द गड अफ स्माल थिंग्स’ सफल भइसकेपछि एकदिन मेरीले अरुन्धतीलाई पुस्तक पढेर सुनाउन विद्यालयमा बोलाइन् । मेरीले उनलाई बिच–बिचमा अनावश्यक कुराकानी गरेर दिक्क बनाइन् ।
उनीहरूको गफगाफ माइकमै सुनिन्थ्यो । अरुन्धतीलाई चोट पर्यो । यद्यपि अचम्म भने लागेन । रोय लेख्छिन्, ‘त्यहाँ उनले मलाई प्रस्तुत मात्रै गरिनन्, त्यससँगै कमजोर पनि बनाइन् ।’ आफूले पाएको स्वतन्त्रताले आफ्नी आमालाई तर्साउँछ भन्ने उनलाई थाहा थियो । अरुन्धतीले लेखेको पुस्तकले घरभित्रका गोप्य कुरा छरपस्ट पार्ला भन्ने डरले मेरीले त्यसको जाँचसमेत गरेकी थिइन् । त्यसकै लागि भनेर उनी अस्पतालको बेडमा गएर बसेकी थिइन् ।
‘मदर मेरी कम्स टु मी’ अरुन्धतीको जीवनका उकाली–ओरालीमा सललल बगेको छ । तर, उनी ठाउँ–ठाउँमा टिप्पणी र ‘साइड नोट’हरू राखेर सललल बगेको कथालाई बाधा पुर्याउँछिन् । यसपछि के हुनेवाला छ भन्ने संकेत गर्दै, नितान्त व्यक्तिगत टिप्पणीहरू थप्दै र मसिना सन्दर्भहरू जोडेर अलि खल्लो अनुभव गराउँछिन् । कथामा नयाँ देखिएको पात्रलाई भविष्यमा दशकौँसम्म साथी हुने उल्लेख गरिहाल्छिन् ।
दिनहरू बित्दै गए, अधवैँशे उमेरमा पुगेपछि उनी कृषेनसँग अलग्गिइन् । दिल्ली नजिकै एउटा फ्ल्याट किनेर बस्न थालिन् । उनी लेख्छिन्, ‘म घरीघरी भित्तामा चुम्बन गर्छु । ग्लास उठाउँछु र आफ्ना आलोचकहरूलाई माझी औँलो देखाइदिन्छु । जसले मेरो लेखाइ र आलोचनाका लागि म गरिब नै हुनुपर्ने धारणा राख्छन् ।’
खासमा अरुन्धती विस्तारमा लेख्ने लेखिका हुन् । उनले मसिनो कुरालाई केलाएर लेख्दा झनै सुन्दर लेख्न सक्छिन् । उनको नयाँ किताबमा उनले कसरी आफू राजनीतिक लेखनीमा पुगिन्, निर्माणाधीन बाँध तथा सैन्य क्षेत्रमा कसरी पुगिन् भन्ने उल्लेख गरेकी छन् ।
तर यी भागहरू आमासँगको कथाका भागजत्ति सघन भने छैनन् । मेरीको उमेर बढ्दै गएर बुढ्यौलीले छोपेपछि अरुन्धती उनीसँग सावधानीसाथ जोडिन थालिन् । उनी लेख्छिन्, ‘मैले उनको घेरामा जान माकुराको जालोमा छिरेजस्तै तरिका लगाउन थालेँ । आफ्ना पखेटा बन्द गरेर साँघुरो बाटोबाट छिर्ने जुक्तिहरू खोज्न थालेँ ।’
मेरीले कुनै समय अरुन्धतीलाई घाँटीमा अल्झिएको काँढाझैँ भनेकी थिइन् । तथापि अरुन्धतीले आमालाई माया गरी नै रहिन् । अरुन्धती अबका दिनमा पनि आफ्नै आमा जस्तै योग्य प्रतिद्वन्द्वी खोजिरहन्छिन् ।
(अमेरिकी अखबार भल्चरबाट अनुवाद गरिएको हो )
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको महाधिवेशनमा गण्डकीबाट ४७७ प्रतिनिधि सहभागी (सूचीसहित)
-
रास्वपाको महाधिवेशनमा लुम्बिनीबाट ६३६ प्रतिनिधि सहभागी (सूचीसहित)
-
रास्वपाको महाधिवेशनमा सुदूरपश्चिमबाट ५५० प्रतिनिधि सहभागी (सूचीसहित)
-
प्रवासबाट १६३ प्रतिनिधि सहभागी हुँदैछन् रास्वपाको महाधिवेशनमा (सूचीसहित)
-
कोशी प्रदेशबाट रास्वपा महाधिवेशशनमा ३९३ प्रतिनिधि (सूचीसहित)
-
कर्णाली प्रदेशमा रास्वपाका ३४३ प्रतिनिधि (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण