शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कास्की कांग्रेसले माग्यो विशेष महाधिवेशन, औपचारिक बैठकबाटै गरियो निर्णय

आइतबार, ०५ असोज २०८२, १८ : १३
आइतबार, ०५ असोज २०८२

सारांश

  • नेपाली कांग्रेस कास्कीले पार्टीको केन्द्रीय विशेष महाधिवेशनको माग गरेको छ ।
  • बैठकले क्रियाशील सदस्यता नवीकरण गरी मंसिरभित्रै विशेष महाधिवेशन गर्नुपर्ने निर्णय गरेको छ ।
  • कांग्रेसले सभापति देउवा र आरजु देउवामाथिको आक्रमणको निन्दा गर्दै शालिक पुनर्निर्माण गर्ने जनाएको छ।

पोखरा । नेपाली कांग्रेस कास्कीले पार्टीको केन्द्रीय विशेष महाधिवेशनको माग गरेको छ ।

आइतबार बसेको बैठकले देशको पछिल्लो अवस्थाबारे समीक्षा गर्दै विशेष महाधिवेशनको माग गरेको हो । बैठकले यथाशीघ्र क्रियाशील सदस्यता नवीकरण गरी मंसिरभित्रै विशेष महाधिवेशन हुनुपर्ने निर्णय गरेको उपसभापति युवराज कुवँरले जानकारी दिए । 

‘नियमित महाधिवेशन नै गर्ने समय भइसकेको छ । कि १५ औं महाधिवेशनको तयारी थालियोस् । नत्र सकिँदैन भने विशेष महाधिवेशन गरियोस् भनेर औपचारिक निर्णय गरिएको हो,’ उनले भने । बैठकमा क्षेत्रीय सभापतिदेखि पालिका सभापतिसमेत उपस्थित थिए । केहीबाहेक सबैले महाधिवेशनबाट मात्रै अहिलेको समस्याबाट मुक्ति मिल्ने निष्कर्ष निकालेका छन् । 

‘जिल्लाको निर्णयमा कसैले असहमति जनाएको छैन,’ उनले भने, ‘यो निर्णय तुरुन्तै केन्द्रमा पठाउनेछौँ ।’

जिल्ला सभापति किशोरदत्त बराल यतिबेला विदेश भ्रमणमा छन् । कार्यवाहक सभापति रामबाबु भण्डारीको अध्यक्षतामा बैठक बसेको हो । तत्काल क्रियाशील सदस्यता वितरण र नवीकरण सम्भव नभए १४ औँ महाधिवेशनका प्रतिनिधिबाटै नयाँ महाधिवेसनमा जानुपर्ने कांग्रेस कास्कीको माग छ । 

बैठकले कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र केन्द्रीय सदस्य तथा पूर्वपरराष्ट्रमन्त्री आरजु देउवा राणा माथिको भौतिक आक्रमणसँगै देशभर भएका तोडफोड र आगजानीको घटनाप्रति निन्दा गरेको छ ।

यस्तै, कास्कीभित्र रहेका आफ्ना दलका नेताहरूको शालिकमा तोडफोड भएको भन्दै कांग्रेसले पुनः निर्माणको घोषणा गरेको छ । खासगरी चिप्लेढुंगामा रहेको बीपी कोइरालाको शालिक र हरिचोकमा रहेको हरिप्रसाद गुरुङको शालिक पुनः निर्माणको निर्णय गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप