शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

वित्तीय अवस्था सुरक्षित रहेको रमाइलो जनएकता बचत तथा ऋण सहकारी संस्थाको दाबी

मङ्गलबार, ०७ असोज २०८२, १३ : २४
मङ्गलबार, ०७ असोज २०८२

सारांश

  • कानेपोखरीको रमाइलो जनएकता बचत तथा ऋण सहकारी संस्थाले वित्तीय अवस्था सुदृढ रहेको दाबी गरेको छ।
  • सहकारीले विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारको खण्डन गर्दै नियमको पालना गरेको जनाएको छ।
  • कोशी प्रदेश सहकारी रजिस्ट्रारको अनुगमनमा सहकारीको भाखा नाघेको ऋण ठूलो देखिएको छ।

विराटनगर । मोरङको कानेपोखरीमा रहेको रमाइलो जनएकता बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो वित्तीय अवस्था सुदृढ रहेको दाबी गरेको छ । संस्थाले प्रेस विज्ञप्ति जारी जारी गरेर हालै विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचारको खण्डन गरेको हो ।

संस्थाका अध्यक्ष त्रिभुवन फुयालद्वारा हस्ताक्षरित विज्ञप्तिमा संस्था संघीय सहकारी ऐन २०७४, सहकारी नियमावली २०७५, प्रदेश सहकारी ऐन २०७६ लगायत राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरेका मापदण्ड तथा निर्देशनहरूको पूर्ण पालना गर्दै पारदर्शी र नियमसम्मत् रूपमा सञ्चालित रहेको उल्लेख छ ।

संस्थामा हाल एक हजार ४३४ सदस्य आवद्ध रहेको र संस्थाको कुल सम्पत्ति १ अर्ब १३ करोड ३२ लाख २० हजार २७३ रुपैयाँ रहेको जनाइएको छ । त्यसैगरी, तरलता ३५ करोड ४७ लाख रूपैयाँ (कुल बचतको ३६.०५ प्रतिशत) र ऋण लगानी ७३ करोड ९६ लाख रुपैयाँ रहेको पनि विज्ञप्तिमार्फत जनाइएको छ ।

बचतमा ७८ करोड ७२ लाख रुपैयाँ र संस्थाको तिर्न सक्ने क्षमता कुल बचतको ११० प्रतिशत हुनुपर्नेमा हाल ११३ प्रतिशत रहेको उल्लेख गरिएको छ । संस्थाको अन्य कोषमा १ करोड ६८ लाख रुपैयाँ, ऋण सुरक्षा कोषमा ८ करोड ४६ लाख रुपैयाँ र संस्थागत पुँजी १० करोड ४ लाख रुपैयाँ रहेको संस्थाको दाबी छ ।

संस्थाले ऋण वर्गीकरणको मापदण्ड पनि स्पष्ट पारेको छ । ३ महिनासम्म भाखा नाघेको ऋणलाई कमसल, ३ देखि ६ महिनासम्मलाई शंकास्पद, ६ महिनादेखि १ वर्षसम्मलाई खराब र १ वर्षभन्दा बढी भाखा नाघेको ऋणलाई खराब ऋणमा वर्गीकरण गर्ने व्यवस्था रहेको बताइएको छ ।

संस्थाले ऋण सुरक्षा व्यवस्था सुदृढ रहेको र निरन्तर रुपमा ऋण असुलीका लागि लागिरहेको जनाएको छ । भाखा नाघेका ऋणीहरूलाई सम्पर्कमा आउन र सहयोग गर्न संस्थाले अनुरोध समेत गरेको छ ।

कोशी प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयले गरेको अनुगमनका क्रममा फेला परेको तथ्यलाई आधार बनाएर सञ्चारमाध्यममा उक्त सहकारीले ३ करोड ७४ लाख २४ हजार रुपैयाँ शङ्कास्पद लगानी गरेको समाचार प्रकाशित भएको थियो । प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयका अनुसार सहकारीको भाखा नाघेको ऋण ३३ करोड बढी छ । यो रकम कुल ऋण लगानीको ४५.१३ प्रतिशत हो । मापदण्ड अनुसार यस्तो ऋण बढीमा ५ प्रतिशतमात्र हुनुपर्छ । यस्तै ३ करोड ४८ लाख ३६ हजार कमसल ऋण लगानी गरेको सहकारीमा खराब ऋणमात्रै २० करोड ९६ लाख ८२ हजार रुपैयाँ अर्थात् २८.३५  प्रतिशत छ ।

अनुगमन टोलीले उक्त सहकारीलाई यथाशीघ्र भाका नाघेको ऋणको सावाँब्याज उठाउन प्रभावकारी कार्ययोजना १५ दिनभित्र बनाइ पेस गर्न तथा सोअनुरुप तुरुन्त असुल उपर गर्न निर्देशन दिएको छ ।

1000174397

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप