बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

अब बदलिनेले नेतृत्व र नबदलिनेले बिदा लिन्छन् : महामन्त्री शर्मा

मङ्गलबार, ०७ असोज २०८२, १९ : ५६
मङ्गलबार, ०७ असोज २०८२

झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ‘जेनजी’ को भावना र आन्दोलनको सन्देशलाई आत्मसात गर्दै कांग्रेस नयाँ ढङ्गले रूपान्तरण हुने बताएका छन् । 

पार्टीको झापा निर्वाचन क्षेत्र नम्बर १, क्षेत्रीय समितिले आज गृहनगर धुलाबारीमा आयोजना गरेको ‘अबको राजनीति र अबको नेपाल’ विषयक अन्तरक्रियामा उहाँले पार्टीमा रूपान्तरणको विकल्प नरहेको धारणा राखे । 

महामन्त्री शर्माले भने,“समय बदलिएको छ, सबै बदलिनुपर्छ । नेता, कर्मचारी संयन्त्र सबै बदलिनुपर्छ । सिंहदरबार मात्र होइन, गाउँ गाउँका हरेक तह बदलिनुपर्छ, चिया पसल गर्नेहरू पनि बदलिनुपर्छ । पार्टीको कुरा गर्दा अब जो बदलिन्छन्, तिनले नेतृत्व लिन्छन्, जो बदलिँदैनन् तिनले बिदा लिन्छन् ।”

‘जेनजी’ प्रदर्शनले सबैको आँखा खोलिदिएको धारणा व्यक्त गर्दै उनले लोकतान्त्रिक पद्धतिप्रतिको उच्च चेत, भ्रष्टाचार नियन्त्रणका लागि कठोर कदमको आवश्यकता र नेतृत्व परिवर्तन यो आन्दोलनको सन्देश रहेको बताए ।

आन्दोलनको पहिलो दिन प्रदर्शनकारीमाथि गोली हान्न आदेश दिने र दोस्रो दिन आगजनी एवम् तोडफोड गर्नेहरूका विषयमा गहन छानबिन हुनुपर्ने बताउँदै महामन्त्री शर्माले दोषी जो छन्, उनीहरूप्रति कुनै मोलाहिजा नराखी कडा कानुनी कारबाही हुनुपर्नेमा जोड दिए । 

उनले आजै मेचीनगर–१० स्थित पार्टीको क्षेत्रीय कार्यालय, मेचीनगर नगरपालिकासहित भदौ २४ गते आगजनी तथा तोडफोडबाट ध्वस्त भएको आफ्नो निजी निवासको अवलोकन गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप