शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

राष्ट्रिय भलिबल टिमको खेलाडी छनोटमा संलग्न नहुने प्रशिक्षक भट्टको घोषणा

बुधबार, ०८ असोज २०८२, ११ : ०५
बुधबार, ०८ असोज २०८२

सारांश

  • जगदीश भट्टले राष्ट्रिय पुरुष भलिबल टिमको प्रशिक्षक पदबाट राजीनामा दिएका छन्।
  • भट्टले खेलाडी छनोट विवादका कारण आफू प्रशिक्षक पदमा नरहने बताएका छन्।
  • उनले राष्ट्रिय खेलकुद परिषद्को कार्यक्रममा मात्र संलग्न रहने घोषणा गरेका छन्।

काठमाडौँ । नेपाली भलिबल टिमका मुख्य प्रशिक्षक प्रशिक्षक जगदीश भट्टले अब राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कार्यक्रममा मात्र संलग्न रहने घोषणा गरेका छन् । उनले पछिल्लो समय राष्ट्रिय पुरुष भलिबल टिममा आएको खेलाडी छनोट विवादका कारण प्रशिक्षकमा भने नरहने बताए । 

भट्टले व्यक्तिगत इच्छा–चाहनालाई त्यागेर नेपाली भलिबललाई राष्ट्रिय खेलको रूपमा स्थापित गर्न र परिणाममुखी बनाउन अथक प्रयास गरेको भए पनि प्रशिक्षकमा भने नरहने घोषणा गरेका हुन् ।   त्यस्तै उनले राष्ट्रिय भलिबल टोलीको छनोटमा पनि आफ्नो सहभागिता नरहने घोषणा गरेका छन् । 

भट्टले भने– ‘मैले जे–जे गरेँ, त्यो पेसा र राष्ट्रको धर्म सम्झेर मात्र गरेँ । नेपाली भलिबललाई राष्ट्रिय खेलको रूपमा स्थापित गर्न र परिणाममुखी बनाउनका लागि आफ्ना व्यक्तिगत इच्छा–चाहनालाई त्यागेर यहाँसम्म ल्याइपुर्‍याउन जे जति गरेँ, सबै माझ छर्लङ्ग छ,’ भट्टले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । 

उनले अझ राम्रो गर्न खोज्दा आइपर्ने हरेक समस्याको समाधान गर्दै यहाँसम्म आइपुगेको र यस यात्रामा साथ, सहयोग वा आलोचना गर्ने सबैप्रति हार्दिक आभार प्रकट गरेका छन् । पेसा र राष्ट्रका खातिर पटक–पटक अवहेलना सहँदै ‘थोरै भए पनि केही गरौँ भन्ने सोचका साथ अगाडि बढेको भए तापनि अब त्यो अवस्था नरहेको उनको भनाइ छ ।

‘आगामी दिनमा राष्ट्रिय खेलकुद परिषद्को कार्यक्रमबाहेक, त्यो पनि जागिरमै रहेसम्म, मात्र संलग्न रहनेछु । अन्यथा, काम गर्न नसकिने अवस्थामा बसिरहनुभन्दा बाहिरबाटै भलिबल खेललाई सहयोग गर्ने बाटो रोज्नेछु । यसबाहेक अन्य कुनै गतिविधि (छनोट वा सहभागिता) मा संलग्न नहुने निर्णय लिएको छु ,’ भट्टले भने । 

भट्ट पछिल्लो समय काभा पुरुष भलिबल टिमको छनोटका क्रममा विवादमा तानिएका  थिए । सो विवादमा विशेष गरी गण्डकी प्रदेशका समर्थकले आफ्नो ठाउँको खेलाडी छनोटमा नपरेको भन्दै आलोचना गर्दै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप