बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
केन्द्रीय समिति बैठक

फेरि अध्यक्ष नै बस्न खोज्यो भन्ने आशंका नगरियोस् : प्रचण्ड

शुक्रबार, १० असोज २०८२, १७ : ४२
शुक्रबार, १० असोज २०८२

सारांश

  • प्रचण्डले जीवनको अन्तिम समयसम्म पार्टी, आन्दोलन र देशप्रति सक्रिय रहने बताए ।
  • वरिष्ठ उपाध्यक्ष र उपमहासचिवले नेतृत्व हस्तान्तरणको प्रस्ताव गरेपछि प्रचण्डले यस्तो प्रतिक्रिया दिएका हुन् ।
  • प्रचण्डले पार्टी निर्णयविपरीत गतिविधि गर्ने नेताहरूलाई सचेत गराए, विशेष महाधिवेशनको प्रस्तावबारे प्रष्ट पारे ।

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जीवनको अन्तिम समयसम्म जिम्मेवारी, पार्टी, आन्दोलन, देशप्रति सक्रिय रहने बताएका छन् । शुक्रबार राजधानीमा जारी केन्द्रीय समिति बैठकमा नेताहरूले उठाएको प्रश्नको जवाफ दिँदै प्रचण्डले अन्तिम समयसम्म जिम्मेवारीबाट विश्राम नलिने जवाफ दिएका हुन् । बैठकमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माले अहिलेकै नेतृत्वबाट पार्टी अगाडी जान नसक्ने भन्दै नेतृत्व हस्तान्तरण गर्न प्रस्ताव पेस गरेका थिए ।

‘म यति वर्षपछि छोड्छु भन्ने, छोडेर सुख पाइने चीज होइन भन्ने छ मेरो बुझाइ  । तर त्यसको अर्थ बिलकुल के नलागोस् भने अध्यक्ष नै बस्न खोजेको, महाधिवेशन गरेको दुराशयपूर्ण छ भन्ने, प्रिय कमरेडहरू, यो स्तरको आशंका नगरियोस्’, प्रस्ट पार्दै उनले भने– ‘यो पार्टी सामान्य रूपमा रूपान्तरण हुने स्थिति नदेखिएपछि आखिरमा उपाय के हुन सक्छ त भन्दा हामी तलसम्म बहस पुर्‍याउनु, छलफल पुर्‍याउनु, हजारौँ र लाखौँ पार्टीका सदस्यहरूका विचार र भावनाहरूलाई केन्द्रित गर्नु, ती सबैलाई सम्मेलन र प्रतिनिधि निर्वाचन हुँदै महाधिवेशनसम्म ल्याएर केन्द्रित गर्ने भन्दा वृहत् जनवादी अभ्यासहरू केही हुनै सक्दैन ।’

पार्टीका निर्णयविपरित पदाधिकारीबाट नै बाहिर जनतालाई निराश पार्ने ढङ्गले, पार्टीका हजारौँ र लाखौँ इमानदार कार्यकर्ताहरूलाई कन्फ्युज्ड गर्ने किसिमले गतिविधि गरेको उनले आरोप लगाए ।  उपमहासचिव शर्माप्रति लक्षित गर्दै प्रचण्डले पार्टी निर्णय प्रस्ताव तल पुग्दा नपुग्दै फेरि हामी पदाधिकारीहरूमध्येबाट नै आफ्ना–आफ्ना भनाइ, आफ्ना–आफ्नै तरिकाले बाहिर व्यक्त गर्ने परिस्थिति जेनजी आन्दोलनभन्दा अगाडि बनेको बताए । अध्यक्ष प्रचण्डले विशेष महाधिवेशनमा जाने घोषणा गर्नुको अर्थ अध्यक्षमै बस्न खोजेको वा महाधिवेशन गर्न दुराशयपूर्ण भन्ने अर्थ नलागोस् भनेका छन् ।

‘त्यसको अर्थ बिल्कुल के नलागोस् भने, अध्यक्ष नै बस्न खोजेको, महाधिवेशन गरेको दुराशयपूर्ण छ भन्ने, प्रिय कमरेडहरू, यो स्तरको आशंका नगरियोस् । यो पार्टी सामान्य रूपमा रूपान्तरण हुने स्थिति नदेखिएपछि विशेष महाधिवेशनको प्रस्ताव गरिएको हो’, उनले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप