बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

रुसी राजदूत नोभिकोभले गरे उपराष्ट्रपति यादवसँग बिदाई भेट

शुक्रबार, १० असोज २०८२, १९ : ४५
शुक्रबार, १० असोज २०८२

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि रुसका राजदूत एलेक्सी नोभिकोभले शिष्टाचार बिदाई भेट गरेका छन् । 

भेटका अवसरमा उपराष्ट्रपति यादवले सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नेपाल र रुसबिचको मित्रवत् सम्बन्ध पारस्परिक सम्मान र सहयोगमा आधारित रहँदै आएको बताए । उपराष्ट्रपतिको सचिवालयका अनुसार राजदूत नोभिकोभको कार्यकाल सफलतापूर्वक सम्पन्न भएकोमा बधाई दिँदै दुई देशबिचको सम्बन्ध सुदृढ बनाउन पुर्‍याएको योगदानको उनले उच्च प्रशंसा गरे । 

‘आफ्नो कार्यकालको दौरान नेपाल र रुसी महासंघबिचको सम्बन्धलाई थप घनिष्ठ र सुदृढ बनाउन योगदान गर्नुभएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछु’, उपराष्ट्रपति यादवले भने, ‘साथै, नेपाल र रुसी महासंघबिचको सहकार्य एवम् मित्रताको लागि महामहिम राजदूतले आगामी दिनमा पनि आफ्नो तहबाट सदैव सदभाव राख्नु हुनेछ भन्नेमा हामी विश्वस्त छौं ।’ 

नेपालले रूससँगको साझेदारीलाई विशेष महत्व दिँदै आएको र पूर्वाधार तथा मानव संशाधन विकासमा रूसको दीर्घकालीन सहयोग सराहनीय रहेको उपराष्ट्रपतिको भनाइ थियो । 

राजदूत एलेक्सीले नेपाल र रुसबिच ‘मनी ट्रान्जेक्सन’ विषय अगाडि बढाइएको उल्लेख गर्दै दुई मुलुकबीच सिधा हवाई उडान सुचारु गर्ने तयारी भइरहेको बताए । उनले रुसमा नेपाली विद्यार्थीहरुका लागि विभिन्न विषयहरुमा छात्रवृत्तिको संख्या वृद्धि गर्नेबारे सकारात्मक पहल भएको पनि बताए । राजदूत एलेक्सीले वीरगञ्जमा रहेको चिनी मिललाई पुनः सञ्चालनमा ल्याउनेबारे आफूले नोट रुस सरकारलाई प्रेषित गरिसकेकोमा स्वदेश फर्किएपछि यसबारे थप पहल गर्ने समेत बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप