हल्लाबाट बनेको सरकारलाई देश जिम्मा लगाएर विदेश भाग्दिन : ओली
सारांश
- केपी शर्मा ओलीले आफूलाई देशभक्तिको कुरा गर्दा झोलेको बिल्ला भिराइदिने गरेको टिप्पणी गरे।
- ओलीले एमाले सरकारले गरेका काम र वर्तमान सरकारको आलोचना गर्दै आफूमाथि लागेका आरोपबारे बोले।
- उनले सामाजिक सञ्जालमा घर घेरा हाल्ने हल्ला चलेको र शान्ति सुव्यवस्था कायम गर्नुपर्ने कुरा गरे।
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूले देशभक्तिको कुरा गरे पनि झोलेको बिल्ला भिराइ दिने गरेको टिप्पणी गरेका छन् । शनिबार एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सो कुरा बताएका हुन् ।
उनले एमाले नेतृत्वको सरकारले राम्रो काम गरेको दोहोर्याउँदै २०५२ मा मनमोहन अधिकारीका नेतृत्वको सरकारले असाधारण काम गरेको दाबी गरे । २०७२ मा सरकारको नेतृत्व गर्दै एमालेले ऐतिहासिक काम गरेको दाबी गर्दै उनले २०७४ मा पनि भ्रष्टाचार नियन्त्रण लगायतका कामहरू गरेको दाबी गरे । आफूले पनि भ्रष्टाचार नगरेको र अरूलाई पनि सकेसम्म गर्न नदिएको बताए ।
अहिलेको जेनजी सरकार संवैधानिक बाटोबाट नभई तोडफोड र आगजनीबाट बनेको सरकार रहेको बताउँदै उनले आफूले बोलेको र प्रहरीलाई दिएको निर्देशनका कुरा बाहिर ल्याउन सरकारलाई चुनौती दिए । उनले भने– ‘हामी कुनै छलछाम गर्दैनौँ, नीतिगत काम गर्छौ । सरकारले हामीलाई एक्सपोज गरोस् ।’
उनले भने– ‘पासपोर्ट रोक्ने रे, के भनेको यो ? हल्लाबाट बनेको सरकारलाई देश जिम्मा लगाएर हामी विदेश भाग्नेछाैँ के सोचेको हो यो ? उनीहरुलाई देश जिम्मा लगाएर विदेश भागिन्न, देशलाई सुशासनमा ल्याएर शान्ति सुव्यवस्था कायम गर्छाैँ ।’
उनले सामाजिक सञ्जालमा आफ्नो घर घेर्न आउने हल्ला चलेको भन्दै सुरक्षा दिन सरकार के हेरेर बसेको भन्दै प्रश्न समेत गरे । ‘घर घेर्न जान्छौँ, यहाँ छ घर, त्यहाँ छ घर भनी सामाजिक सञ्जालमा भनिरहेका छन्, सरकारले के हेरेर बसेको छ ? उनले प्रश्न गरे । ओलीले मौसम सधैँ एकनासको नरहने समेत बताए ।
उनले संसद् पुनर्बहालीको आवश्यकतामा पनि जोड दिए । देशमा आतंक मच्चाएर होइन, शान्ति र सुव्यवस्था कायम गरेर अघि बढ्नुपर्ने उनले बताए ।
‘एकपल्ट माओवादीले उत्पात मच्चायो, त्यो सम्हालेपछि फेरि अरू प्रकारको क्रियाकलाप हुन लागेको छ’ ओलीले भने । उनले उद्योगी व्यवसायीका लागि लगानी गर्ने वातावरण सृजना गर्नुपर्नेमा समेत जोड दिए ।
जेनजीको नाममा केही युवालाई भ्रमित पारिएको बताउँदै उनले ऐतिहासिक सम्पदा जलाउँदै जाने हो भने खरानीमाथि बसेर सुखी हुन सकिन्छ ? भन्दै प्रश्न गरे । उनले भने– ‘भदौ २३ गतेको आन्दोलन शान्तिपूर्ण थियो तर त्यसपछि भड्किएको थियो ।’
पत्रकारिता पनि फिक्सनमा चल्न थालेको भन्दै उनले सञ्चारकर्मीहरूलाई चाहिँदो नचाहिँदो कथा बनाएर नपस्किन समेत आग्रह गरे । उनले भने– ‘हाम्रो जेनजीले नेपालको झन्डा ओढेर सिंहदरबारमा आगो लगाउँदैन, सर्वोच्च अदालतमा आगो लगाउँदैन, छानिछानी आगो लगाउँदैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तापक्रम ह्वात्तै घट्यो, ठाउँठाउँमा भारी वर्षा
-
सन् २०२६ विश्वकप: खेलकुदमा ‘ट्रम्पवाद’को युग
-
जसपा नेपालले १० जिल्लामा अगुवा कार्यकर्ता भेला गर्ने
-
सुडानमा ड्रोन आक्रमणमा परी २३ जनाको मृत्यु
-
सार्वजनिक सेवा प्रसारणको अध्यक्ष नियुक्तिका लागि कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताको मिति तय
-
लाइसेन्स परीक्षामा नक्कली परीक्षार्थी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण