१० बजे १० समाचार : रास्वपाका सांसदद्वारा सर्कुलर बेवास्ता, दीपक भट्टलगायतविरुद्ध मुद्दा
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय कार्यालयको सर्कुलर विपरीत प्रदेश सभापति पदका लागि सांसदहरू नै दौडधुप गरिरहेका छन् ।
- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूमाथि लागेका भ्रष्टाचारका आरोपहरूको प्रतिवाद गर्दै अनियमितता प्रमाणित भए पद त्याग गर्ने घोषणा गरेका छन् ।
- सेयर बजारमा करोडौँ ठगी गरेको अभियोगमा व्यवसायी र बीमा कम्पनीका पदाधिकारीहरू सहित ८१ जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ ।
काठमाडौँ । आज मिति २०८३ साल जेठ महिनाको २८ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती 'रातोपाटी ब्रिफिङ'मा '१० बजे १०' समाचार लिएर हाजिर भएका छौँ-
१. रास्वपा सांसदद्वारा सर्कुलर बेवास्ता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय कार्यालयको सर्कुलर विपरीत प्रदेश सभापति पदका लागि निर्वाचित सांसदहरू नै दौडधुप गरिरहेका छन् । रास्वपाको प्रथम प्रदेश अधिवेशन जेठ २६ देखि असार १ गते हुने गरी कार्यतालिका सार्वजनिक भइसकेको छ । जेठ २२ गते संघीय सांसदहरूलाई केन्द्रीय तह बाहेक तल्लो समितिमा उम्मेदवारी बन्न नपाउने सर्कुलर रास्वपाको केन्द्रले जारी गरेको थियो ।
‘संघीय सांसदहरू पार्टीको केन्द्रीय तह बाहेक पालिका र क्षेत्ररजिल्लारप्रदेश तहमा उम्मेदवारी दिन पाउने छैनन्’, सर्कुलरमा भनिएको थियो । तर, पार्टीको सर्कुलरलाई लत्याउँदै निर्वाचित सांसदहरू नै चुनावी प्रतिस्पर्धामा उत्रिएपछि पार्टी स्थापनाकालदेखि भूगोलमा काम गरेका नेताहरू मर्कामा परेका छन् ।
उनीहरू चुनावी प्रतिस्पर्धामा उत्रिएकामात्र नभई जिल्ला र पालिकामा आफू अनुकूलका व्यक्तिलाई ल्याउन हस्तक्षेप बढाउन थालेपछि जिल्लास्तरीय नेताहरूले असन्तुष्टी पोखेका छन् । जिल्लाका नेताहरूका कारण जिल्ला र प्रदेशका अधिवेशनहरू नै प्रभावित भएका छन् । सभापतिका लागि हानथाप हुँदा बागमती प्रदेश, कोशी प्रदेश र मधेस प्रदेशको निर्वाचन प्रक्रिया नै अवरुद्ध भएको छ ।
यद्यपि संगठन विभागका उपप्रमुख बोधनारायण श्रेष्ठले सांसदहरूले तल्लो समितिमा उम्मेदवारी दिन नपाउने विषय बाध्यकारी नभई नैतिक विषय भएको बताए ।
२. अर्थमन्त्रीको चेतावनी
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूमाथि लागेका भ्रष्टाचारका आरोपहरूको प्रतिवाद गर्दै अनियमितता प्रमाणित भए पद त्याग गर्ने घोषणा गरेका छन्।
बिहीबार प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले प्रश्न उठाउने नेताहरूका पुराना काण्डहरू समेत सार्वजनिक हुने चेतावनी दिएका हुन्।
संसद बैठकका थप
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बजेट निर्माणका क्रममा भएका भनिएका त्रुटि र करका दर परिवर्तनका विषयमा कुनै पनि छानबिनको सामना गर्न आफू तयार रहेको बताएका छन् ।
बिहीबार सार्वजनिक लेखा समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले मानवीय र प्राविधिक त्रुटिलाई नीतिगत भ्रष्टाचारको रूपमा व्याख्या नगर्न आग्रह गरे ।
३. दीपक भट्टलगायतविरुद्ध मुद्दा
सेयर बजारमा करोडौँ ठगी गरेको अभियोगमा व्यवसायी र बीमा कम्पनीका पदाधिकारीहरू सहित ८१ जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले धितोपत्र सम्बन्धी ऐन २०६३ अन्तर्गतको कसूरमा उक्त अभियोग पत्र बिहीबार दर्ता गरेको हो।
मुद्दा दायर गरिएका ८१ जनामध्ये नेपालका प्रतिष्ठित व्यावसायिक घरानाका व्यक्तिहरू रहेका छन् । मुख्य प्रतिवादीहरूमा ईन्फिनिटी होल्डिङ्सका सञ्चालक अध्यक्ष दीपक भट्ट, हिमालयन रिइन्स्योरेन्सका तत्कालीन अध्यक्ष शेखर गोल्छा,हिमालयन लाइफ इन्स्योरेन्सका अध्यक्ष तथा शौर्य सिमेन्टका सञ्चालक सुलभ अग्रवाल, भृकुटी स्टक ब्रोकिङ कम्पनी (ब्रोकर नं. ५५) का कार्यकारी अध्यक्ष सन्दीप चाचन अग्रवालसहित रोहित गुप्ता, अमित मोर, ऋषिराज मोर लगायत विभिन्न बिमा कम्पनीका सञ्चालक तथा पदाधिकारीहरू रहेका छन् ।
४. संविधान संशोधन कार्यदल
सरकारले गठन गरेको संविधान संशोधन कार्यदलले नेपाली कम्युनिस्ट पार्टीकोतर्फबाट पूर्वप्रधानमन्त्रीत्रय प्रचण्ड, माधव नेपाल र झलनाथ खनालसँग सुझाव लिएको छ। प्रचण्ड निवास मानभवनमा असीम शाह नेतृत्वको कार्यदलले बिहीबार करिब एक घण्टा छलफल गरेको हो।
बैठकमा असीम शाह नेतृत्वको कार्यदलले संविधान संशोधनका विषयमा सुझाव मागेको थियो।
५. ओलीलाई अर्को आपत
नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौँमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहितलाई अदालतमा बयानका लागि बोलाउनु पर्ने माग गर्दै बिहीबार निवेदन दर्ता भएको छ।
अधिवक्ता भद्रप्रसाद नेपाल (स्वागत) का अनुसार पूर्वप्रधानमन्त्री ओली, पूर्व गृहमन्त्री रामबहादुर थापा बादल, अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राई, कांग्रेस नेतृ आरजु देउवा, मञ्जु खाण र राजेश बज्राचार्यलाई बयानमा बोलाउन माग गर्दै निवेदन दर्ता भएको हो ।
६. सबै मन्त्रालयमा एकरएक सचिव
सरकारले अब सबै मन्त्रालयमा एकरएक जना सचिव राख्ने भएको छ । त्यसको कार्यान्वयन गत शुक्रबारदेखि भएको हो । शुक्रबार सरकारले १० सचिव सरुवा गर्दै हरेक मन्त्रालयमा एक जना सचिवमात्र रहने व्यवस्था लागु गरेको हो । त्यसलाई कानुनी रूप अब मन्त्रालयहरूले संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) गर्दा दिनेछन् ।
७. राज्य व्यवस्था समिति
प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले सरकारका विभिन्न मन्त्रालय र संवैधानिक निकायहरूको कामकारबाहीलाई सूक्ष्म रूपमा अध्ययन र सहजीकरण गर्न छुट्टाछुट्टै उपसमितिहरू गठन गर्नेलगायतका चार निर्णय गरेको छ ।
बिहीबार सिंहदरबारस्थित समितिको कार्यालयमा बसेको बैठकले प्रधानमन्त्री कार्यालयदेखि गृह मन्त्रालयसम्मका कामकारबाहीको सहजीकरण गर्नेलगायतका निर्णय गरेको हो । समितिले समितिको कामलाई प्रभावकारी बनाउन विभिन्न उपसमितिहरू बनाएको छ ।
८. खोप खेर
राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत सरकारले उपलब्ध गराउँदै आएका खोप प्रत्येक वर्ष खेर जाने गरेको पाइएको छ । खोपको आवश्यकता निर्धारण र उपयोग व्यवस्थापन प्रभावकारी नभएका कारण खोप खेर गएको देखिएको हो ।
९. अण्डाको मूल्य
नेपाल लेयर्स कुखुरापालक सङ्घले जेठ महिनामा मात्रै अण्डाको समर्थन बिक्री मूल्य चार पटक वृद्धि गरेको छ । सङ्घले जेठ ३ गतेदेखि जेठ २८ गतेसम्मको अवधिमा विभिन्न चरणमा भौतिक तथा भर्चुअल बैठकहरू आयोजना गरी चितवनलाई आधार मानेर नयाँ फार्म समर्थन मूल्य निर्धारण गरेको हो ।
यस निर्णयसँगै जेठ महिनाभरिमा (एक्सएल) सबैभन्दा ठुलो, ठुलो र मिडियम साइजका अण्डाको फार्म मूल्य प्रति क्रेट कुल ४५ रुपैयाँले वृद्धि भएको छ भने सानो अण्डाको मूल्य प्रति पेटी ५०० रुपैयाँले बढेको छ ।
१०. कांग्रेस विवाद
नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले निर्वाचनपछि पार्टीको जनाधार खस्किएको र देशभर कार्यकर्तामा मनोवैज्ञानिक निराशा छाएको भन्दै चिन्ता व्यक्त गरेका छन् । चुनौतीपूर्ण घडीमा रहेको पार्टीलाई थप कमजोर हुन नदिन नेतृत्वले विशेष पहल गर्नुपर्नेमा डाक्टर महतले बताए।
पार्टीभित्र बढ्दो निष्क्रियता र पलायन रोक्न बृहत्तर एकता आवश्यक रहेको उल्लेख गर्दै डा. महतले १५औँ महाधिवेशनको निष्पक्षतामा प्रश्न उठाए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्घाटन खेलका लागि मेक्सिको र दक्षिण अफ्रिका मैदानमा, घन्कियो राष्ट्रिय गान
-
कस्ताे छ मेक्सिको सिटीकाे माैसम ?
-
एउटा ब्याच नम्बरबाहेक अन्य उत्पादन सुरक्षित रहेको यशोदा फुड्सको स्पष्टोक्ति
-
तस्बिरमा फिफा विश्वकप २०२६ को उद्घाटन समारोह
-
उद्घाटन खेलका लागि मेक्सिको र दक्षिण अफ्रिकाको सुरुवाती टोली सार्वजनिक
-
सकिरा र बर्ना ब्वायको प्रस्तुतिले तात्यो उद्घाटन समारोह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण