रौतहटका ४ पालिकाका कर्मचारी दसैँमा तलबविहीन
सारांश
- रौतहटमा दसैँको अवसरमा हजारौँ सरकारी कर्मचारी र सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीले तलब र भत्ता पाउन सकेका छैनन्।
- फतुवा विजयपुर, बौधिमाई, गुजरा र देवाही-गोनाही नगरपालिकाले खाता सञ्चालन गर्न नसक्दा शिक्षक र कर्मचारीहरू समस्यामा परेका छन्।
- नगरपालिकाको आन्तरिक कमजोरीका कारण दसैँमा तलब र भत्ता नपाउँदा कर्मचारी र वृद्धवृद्धाहरूको पर्व मनाउने सपना अधुरो भएको छ।
रौतहट । हिन्दुहरूको महान् पर्व बडा दसैँमा पनि रौतहटका हजारौँ सरकारी कर्मचारी र लक्षित वर्गका वृद्ध, अपाङ्ग, एकल महिला लगायतका लाभग्राहीले तलब र सामाजिक सुरक्षा भत्ता पाउन सकेका छैनन् ।
जिल्लामा रहेका १६ नगरपालिका र २ गाउँपालिका (कुल १८ पालिका) मध्ये फतुवा विजयपुर, बौधिमाई, गुजरा र देवाही–गोनाही नगरपालिकाले अझै खाता सञ्चालन गर्न नसकेका कारण ती पालिकाका शिक्षक, कर्मचारी र सामाजिक सुरक्षा भत्ता पाउने वर्गलाई दसैँअघि रकम उपलब्ध हुन सकेको छैन। बाँकी १४ पालिकाको खाता सञ्चालन भइसकेको कोलेनिकाले जनाएको छ।
कोष तथा लेखा नियन्त्रण कार्यालय रौतहटका प्रमुख देवीप्रसाद गौतमका अनुसार नेपाल सरकारको नीति अनुसार असार १० गतेभित्र नगरसभा सम्पन्न गर्नुपर्ने भए पनि देवाही–गोनाही र बौधिमाई नगरपालिकामा अहिलेसम्म नगरसभा हुन सकेको छैन।
नगरसभा सम्पन्न गरेका फतुवा विजयपुर र गुजरा नगरपालिकाले पनि बन्दसत्र र अन्य आवश्यक प्रशासनिक प्रक्रिया समयमै पूरा नगरेका कारण खाता खोल्न ढिलाइ भएको हो।
यस कारण चार पालिकामा कार्यरत शिक्षक र कर्मचारीहरूलाई समयमै तलब वितरण गर्न र लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन नसकिएको कोष लेखा कार्यालयले जनाएको छ।
फतुवा विजयपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरतप्रसाद यादवले भने, “ढिलाभए पनि नगरसभा र बन्दसत्र दुवै सम्पन्न भइसकेका छन्। बाँकी रहेको योजनाको पोस्टिङ प्रक्रिया पूरा भएपछि २–४ दिनमै खाता सञ्चालन गर्ने तयारी छ।”
यसबाट पालिकाहरूको आन्तरिक कमजोरीकै कारण दसैँ जस्तो महत्त्वपूर्ण पर्वमा कर्मचारीहरूलाई पारिश्रमिक नपुग्ने अवस्था सिर्जना भएको स्पष्ट हुन्छ।
तलब र भत्ता नपाउँदा दसैँका लागि नयाँ कपडा, मिठा परिकार र घरफर्केर पर्व मनाउने सपना अधुरो हुने अवस्था आएको कर्मचारीहरूले गुनासो गरेका छन्।
विशेषगरी टाढा गाउँ र बाहिर जिल्लाबाट आएका शिक्षक र कर्मचारीहरूले यात्रा खर्च अभावमा घर जान नसकेको दुखेसो सार्वजनिक गरेका छन्।
सामाजिक सुरक्षा भत्ता पाउने वृद्ध, अपाङ्ग, एकल महिलाहरूलाई पनि दसैँअघि राहत र सहयोगको रकम नपाउँदा पर्व फिका हुने देखिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उडान सुरक्षाको यथार्थ र प्राधिकरण विभाजनको राजनीतिक अर्थशास्त्र
-
बागमती खेलकुद: पुरुष क्रिकेटको उपाधि चितवनलाई
-
चूडामणि शर्माविरुद्धका दुई भ्रष्टाचार मुद्दामा विशेष अदालतद्वारा कागजात झिकाउने आदेश
-
सम्झौता उल्लङ्घन भए इरानमाथि फेरि कडा नाकाबन्दी लगाउँछौँ : अमेरिकी रक्षामन्त्री
-
युद्ध अन्त्य गर्ने सम्झौता अमेरिकाको हार : इरानी पत्रपत्रिका
-
फेरिँदै विद्यालय पाठ्यक्रम, नैतिक शिक्षालाई समेट्ने गरी अघि बढ्यो कार्यदल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण