बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

जीर्ण बन्दै वनकरिया होमस्टे

सोमबार, १३ असोज २०८२, ०५ : ५२
सोमबार, १३ असोज २०८२

सारांश

  • मनहरी गाउँपालिकामा रहेको लोपोन्मुख वनकरिया समुदायको आर्थिक उत्थानका लागि बनाइएको होमस्टे जीर्ण बनेको छ।
  • पर्यटकको अभावका कारण होमस्टे लामो समयदेखि प्रयोगमा आउन सकेको छैन, जसले गर्दा संरचना कमजोर बन्दै गएको छ।
  • होमस्टे सञ्चालनको दिगोपन र व्यवस्थापनमा ध्यान नदिँदा वनकरिया समुदायको जीवनस्तर उकास्ने योजना असफल भएको छ।

हेटौँडा । लोपोन्मुख वनकरिया समुदायको आर्थिक उत्थान गर्ने उद्देश्यले निर्माण गरिएको होमस्टे जीर्ण बनेको छ । मकवानपुरको मनहरी गाउँपालिकामा रहेका लोपोन्मुख वनकरिया समुदायको आर्थिक उन्नति र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सुरु गरिएको वनकरिया होमस्टे अहिले संकटमा परेको हो ।

मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–४, मुसेधापस्थित वनकरिया बस्तीमा निर्माण गरिएको होमस्टे प्रयोगविहीन भएपछि जीर्ण बनेको हो । साढे तीन वर्षअघि मनहरी गाउँपालिकाको ८ लाख रुपैयाँको लगानीमा निर्माण गरिएको उक्त होमस्टे संरचना कमजोर बन्दै जाँदा अहिले जीर्ण अवस्थामा पुगेको हो ।

home stay 2 -001

 पर्यटक नआएकै कारण लामो समयदेखि प्रयोगमा नआउँदा संरचना कमजोर बन्दै गएको स्थानीयको भनाइ छ । बाँसले बारिएको संरचना चिराचिरा पर्न थालेपछि होमस्टेमा अहिले बस्न सक्ने अवस्थामा छैन । वनकरिया बस्तीलाई पर्यटकीय गन्तव्य स्थलको रूपमा विकास गर्ने उद्देश्यले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई बसेको घरलाई स्तरवृद्धि गरी दुई कोठे होमस्टे बनाइएको थियो ।

 व्यावसायिक रूपमा सञ्चालन गर्ने गरी उक्त होमस्टे निर्माण गरिएको थियो । तर, पर्यटक नआउँदा प्रयोग विहीन बन्दै गएको होमस्टे अहिले पूर्णरुपमा जीर्ण बनेको वनकरिया समुदायकी अगुवा सन्तोषी वनकरियाले बताइन् । वनकरिया समुदायको परिकार सहित अन्य रैथाने परिकार उपलब्ध गराउने र वनकरिया समुदायको आयआर्जनमा सघाउने उद्देश्यले निर्माण गरिएको होमस्टे हाल सञ्चालन हुने अवस्था नरहेको उनको भनाई छ ।

home stay 3-001

लोपोन्मुख जाति बनकरिय क्षेत्रमा पर्यटकहरूको आवतजावत नै नहुँदा होमस्टे जीर्ण बनेको उनले बताइन् । पर्यटकको चहलपहल नहुँदा होमस्टेको संरक्षण र मर्मतमा मात्र समय खर्च गर्नुपर्ने र उत्पादनहीन बन्नु पर्ने बाध्यता रहेको उनले बताइन् ।

 ‘वनकरिया बस्तीलाई पर्यटकीय गन्तव्य बनाउने सोचका साथ होमस्टे सञ्चालनमा ल्याइएको थियो । तर पर्यटकको अभावमा होमस्टे सोचे अनुरूप सञ्चालनमा ल्याउन सकिएन,’ उनले भनिन्, ‘पर्यटक नै भएनन् । पर्यटक नभएपछि पैसा भएन र होमस्टेलाई व्यवस्थित रूपमा सञ्चालन गर्न सकिएन ।’

home stay 4-001

 तत्कालीन समयमा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गरेको उक्त होमस्टे मनहरी गाउँपालिकाले लोपोन्मुख समुदाय वनकरियाको जीवनस्तर उकास्ने सोचका साथ सञ्चालनमा ल्याएको थियो । 

home stay 5-001

 होमस्टे सञ्चालनसँगै त्यसको दिगोपन र व्यवस्थापनमा ध्यान दिन नसक्दा वनकरिया समुदायको आशा धराशायी अवस्थामा पुगेको छ । अहिले दिउँसो बस्ती घुम्न आउने पाहुनालाई खाना खुवाउने व्यवस्था भए पनि राती बास बस्न सक्ने अवस्था नरहेको वनकरियाकी अगुवा सन्तोषी बताउँछिन् ।

home stay 6-001

 नेपालमै लोपोन्मुख वनकरिया समुदायको बस्ती हेर्न र उनीहरूको रहनसहन बुझ्नका लागि आउनेलाई बस्नका लागि सहज होस भन्ने उद्देश्यले होमस्टे निर्माण गरिएको हो । होमस्टेले वनकरिया वस्तीको झल्को दिनेगरी निर्माण गरिएको थियो ।

 वनकरिया बस्तीमा उत्पादन भएको तरकारी, अन्न, फलफूल, सँगैको खोलाको माछा, त्यहीको घट्टमा पिसेको पिठोका परिकार खुवाउने लक्ष्यका साथ होमस्टे निर्माण गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप