बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
प्रदेश

बारामा सौर्य ऊर्जा उत्पादनका लागि धमाधम संरचना निर्माण हुँदै

बगरबाट वार्षिक लाखौँ रुपैयाँ आम्दानी भएपछि किसान मक्ख
सोमबार, १३ असोज २०८२, १७ : ००
सोमबार, १३ असोज २०८२

सारांश

  • बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा सौर्य ऊर्जा उत्पादन कम्पनीले काम सुरु गरेको छ, जसले स्थानीय किसानलाई जग्गा भाडाबाट आम्दानी गराएको छ।
  • अपि पावर कम्पनी लिमिटेडले ४८ करोडको लागतमा ८ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ, जसले गर्दा स्थानीयबासीले रोजगारी पाएका छन्।
  • कम्पनी र सरकारबीच विद्युत खरिद बिक्री सम्झौता भएको छ, जसले गर्दा स्थानीय स्तरमा लोडसेडिङको समस्या कम हुने र देशको ऊर्जा संकट समाधानमा सहयोग पुग्नेछ।

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–२३ का जमिर देवान गाउँमा सौर्य ऊर्जा उत्पादन कम्पनी आएपछि असाध्यै खुसी छन् । ५० किलो धान पनि नफल्ने खोला छेउको जग्गाबाट वार्षिक ६० हजार आम्दानी हुन थालेपछि उनी खुसी भएका हुन् । 

अपि पावर कम्पनी लिमिटेडले बाराको जीतपुरसिमरा–२३ मा सौर्य ऊर्जा उत्पादनका लागि संरचना निर्माण सुरु गरेको हो । यसका लागि कम्पनीले स्थानीयलाई प्रतिकट्ठा वार्षिक १० हजारका दरले भाडा तिरेर १२ बिघा जग्गा लिएको छ । 

४८ करोड लागतमा आगामी ३ महिनाभित्र ८ मेगावाट विद्युत् उत्पादन गर्नेगरी कम्पनीले संरचना निर्माण थालेको हो । गाउँमा सौर्य ऊर्जा कम्पनी आएपछि स्थानीयले रोजगारी पाएका छन् भने खेती नभएको खोला छेउको जग्गासमेत भाडामा लगाएर आम्दानी गर्न पाउँदा किसान खुसी छन् ।

a5

‘६ कट्ठा जग्गाबाट वर्षको ५० किलो धान पनि आउँदैनथ्यो, तर अहिले १ रुपैयाँ लगानी नगरी वर्षको ६० हजार आम्दानी हुन्छ,’ स्थानीयवासी देवानले भने, ‘गत वर्ष खेत जोत्दा २० हजार खर्च भयो । धान १६ हजारको मात्रै बेचियो । आम्दानीको तुलनामा धेरै खर्च लागेपछि मैले खेती नै गर्न छोडिदिएँ ।’

सिर्सिया खोला छेउको सो जग्गा २ वर्षअघिसम्म काँसघारी थियो । सिँचाइका लागि पानी र मलखादको अभाव भएपछि यहाँका किसानले खेती नै गर्न छाडेका थिए ।

देवानजस्तै सोही वडाका जुमाई मियाँ अन्सारी पनि गाउँमा सौर्य ऊर्जा उत्पादन कम्पनी आएपछि उब्जनी नहुने जमिनबाट पनि आम्दानी भएको बताउँछन् ।

‘खेती गर्न पानी छैन । भाडामा दमकल चलाउँदा घण्टाको ४ सय रुपैयाँ तिर्नुपर्थ्यो । मलखाद पनि पाइँदैन । धेरै गाह्रो थियो,’ अन्सारीले भने, ‘तरकारी खेती गर्दा सधैँ घाटा हुन्थ्यो तर अहिले घरमै बसेर डेढ कट्ठा जग्गाको १५ हजार भाडा आइरहेको छ । हामी त साहै्र खुसी छौँ ।’ 

a6

जीतपुरसिमरा–२३ का पूर्ववडाध्यक्ष अस्लम देवानले गाउँमा विद्युत् उत्पादन उद्योग आएपछि स्थानीयले रोजगारी पाउनेमात्रै नभएर अगामी दिनमा लोडसेडिङको समस्या पनि समाधान हुने बताए ।

‘खोला छेउको यो ठाउँ पहिला अवैध गतिविधि हुने अखडा थियो । आयोजना आएपछि गाउँ पनि सुरक्षित भएको छ, स्थानीय पनि खुसी छन् । भोलि विद्युत् उत्पादन सुरु भएपछि हाम्रो ठाउँमा लोडसेडिङ कम हुन्छ,’ पूर्ववडाध्यक्ष देवानले भने, ‘यस्ता आयोजना आफ्नै गाउँमा ल्याउँदा गाउँको विकास हुन्छ भनेर हामीले नै पहल गरेका हौँ ।’ 

२०८१ फागुनदेखि अपि पावर कम्पनीले सो क्षेत्रमा संरचना निर्माणको काम सुरु गरेको हो । ऊर्जा मन्त्रालय, विद्युत् विकास विभाग र अपि पावर कम्पनी लि.बिच उत्पादित विद्युत् प्रतियूनिट ७ रुपैयाँ ३० पैसामा खरिदविक्री गर्ने सम्झौता भएको हो । 

यो परियोजनाबाट उत्पादन भएको विद्युत् परवानीपुरस्थित ११ केभीए क्षमताको सबस्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिने जनाइएको छ । 

सो कम्पनीका साइट इन्चार्ज दुर्गामणि त्रितालले ४८ करोड लागतमा ८ मेगावाटको सौर्य ऊर्जा उत्पादनका लागि संरचना निर्माणको काम भइरहेको बताए । 

‘माघ १ गतेदेखि हामीले उत्पादन गरेको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान गरेर नेपाल सरकारलाई हस्तान्तरण गर्ने योजना छ,’ त्रितालले भने । उनका अनुसार १ मेगावाट विद्युत् उत्पादन खर्च ६ करोड लागत पर्दछ ।

a3

कम्पनीले टिना सोलारबाट बनेको अत्याधुनिक प्यानल चीनबाट ल्याएको हो । अपि पावर कम्पनी र विद्युत् प्राधिकरणबिच ३ वर्षअघि सम्झौता भएको हो । त्रितालले भने, ‘गाउँमा सौर्य ऊर्जा उत्पादन कम्पनी आएपछि जग्गाधनीहरूले आम्दानी गर्न पाउनुभयो, स्थानीयले योग्यता र क्षमता अनुसारको रोजगारी पाउँछन् ।’

मधेसमा अपि पावरको आधा दर्जन परियोजना

अपि पावर कम्पनी लिमिटेडले मधेस प्रदेशका ८ जिल्लामा सौर्य ऊर्जा उत्पादनमा ४ वटा परियोजना सञ्चालन गरेको छ । जसमा प्रथम सौर्य आयोजनाको रुपमा रौतहट जिल्लाको, चन्द्रपुरमा ४ मेगावाट, धनुषाको ढल्केवरमा १ मेगावाट, जीतपुरसिमराकै वडा नं १४ को मौलापुरमा १ मेगावाट र जीतपुरसिमरा–२३ मा ८ मेगावाट विद्युत् उत्पादनका लागि संरचना निर्माणको काम भइरहेको छ । 

यी परियोजनामा कम्पनीले १ अर्बभन्दा बढीको लगानी गरेको सो कम्पनीका साइट इन्चार्ज त्रितालले जनाए । ‘देशमा अझै पनि ऊर्जा संकट छ । भारतबाट विद्युत् खरिद गरेर ल्याउनुपर्ने अवस्था भएकाले सौर्य ऊर्जा उत्पादनबाट पनि सरकारको लागि केही योगदान हुन्छ भन्ने हाम्रो उद्देश्य हो,’ उनले भने ।

a2

सरकारले विद्युत् खरिद गर्ने सुनिश्चित भएपछि मात्रै आफूहरूले लगानी गर्ने जिकिर गर्दै उनले २५ वर्षका लागि उत्पादन सम्झौता भएको बताए । 

अपि पावर कम्पनीले सौर्य तथा वायु ऊर्जाको अध्ययन, अनुगमन विकास तथा निर्माणको काम गर्दै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शारदा पोखरेल
शारदा पोखरेल
लेखकबाट थप