मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अर्जेन्टिना पराजित भएपछि ब्युनस आयर्समा झडप, १५ जना पक्राउ

सोमबार, ०४ साउन २०८३, २२ : १७
सोमबार, ०४ साउन २०८३

सारांश

  • अर्जेन्टिना विश्वकप फाइनलमा स्पेनसँग पराजित भएपछि ब्युनस आयर्समा समर्थक र प्रहरीबीच झडप भएको छ ।
  • झडपमा समर्थकहरूले प्रहरीमाथि ढुङ्गा र सिसाका बोतल प्रहार गरेपछि प्रहरीले अश्रुग्यास र रबरको गोली प्रयोग गरेको थियो ।
  • यस झडपमा कम्तीमा १५ जना पक्राउ परेका छन् भने सात प्रहरी अधिकारीसहित दर्जनौँ घाइते भएका छन् ।

ब्युनस आयर्स । अर्जेन्टिना स्पेनसँग विश्वकप फाइनलमा १–० ले पराजित भएपछि आइतबार राति राजधानी ब्युनस आयर्समा आक्रोशित समर्थक र प्रहरीबिच झडप भएको छ ।

खेल सकिएलगत्तै हजारौँ समर्थक राष्ट्रिय टोलीको समर्थनमा ओबेलिस्क स्मारक आसपास जम्मा भएका थिए । सुरुआतमा अवस्था सामान्य रहे पनि राति करिब ११ः४५ बजे (स्थानीय समय) स्मारकको सुरक्षाका लागि लगाइएको घेराबार केही व्यक्तिले नाघेपछि स्थिति तनावग्रस्त बनेको थियो ।

त्यसपछि समर्थकहरूले प्रहरीमाथि ढुङ्गा र सिसाका बोतल प्रहार गरे । जवाफमा दङ्गा नियन्त्रण प्रहरीले रबरका गोली, अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको थियो । झडपमा कम्तीमा १५ जना पक्राउ परेका छन् भने दर्जनौँ घाइते भएका छन् ।

सार्वजनिक भएका तस्बिरहरूमा एक दङ्गा नियन्त्रण प्रहरीले एक समर्थकको टाउकोमा लात हानेको देखिन्छ । स्थानीय समाचार साइट इन्फोबेका अनुसार सात जना प्रहरी अधिकारी पनि घाइते भएका छन् । द टेलिग्राफले पनि सोही विवरण उल्लेख गरेको छ । घटनास्थलमा एक बेहोस भएका व्यक्तिलाई मानिसहरूको समूहले बोकेर सुरक्षित स्थानतर्फ लगेको दृश्य पनि देखिएको थियो ।

उक्त घटनामा आक्रोशित झडपले प्रहरीमाथि पनि ढुंगामुढा गरेको भिडियोहरू बीबीसीलगायत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले प्रसारण गरेका छन् । इन्डिया टुडेले पनि यसबारे समाचार प्रकाशन गर्नुका साथै घटनाका भिडियो फुटेजहरू सार्वजनिक गरेको छ । 

jhadap

स्थिति नियन्त्रणमा लिन प्रहरीले राजधानीका धेरै मुख्य सडक बन्द गरेको थियो ।

फाइनल खेल सकिएलगत्तै मैदानमा पनि केही समय तनाव देखिएको थियो । १–० को हारपछि अर्जेन्टिनाका केही खेलाडीहरूले स्पेनका खेलाडीहरूसँग धकेलाधकेल, समात्ने तथा मुक्का र लात हान्ने प्रयास गरेका थिए । यता, पराजयका बाबजुद अर्जेन्टिनाका राष्ट्रपति हाभियर मिलेईले राष्ट्रिय सार्वजनिक बिदा घोषणा गरेका छन् । उनले बिदा कुन दिन दिने भन्ने निर्णय खेलाडीहरूलाई नै गर्न दिने बताएका छन् ।

यसअघि सन् २०२२ मा फ्रान्सलाई हराएर विश्वकप जितेपछि अर्जेन्टिनाले सार्वजनिक बिदा घोषणा गरेको थियो । त्यसबेला टोली स्वदेश फर्किएपछि ब्यूनस आयर्समा लाखौँ समर्थकमाझ विजय र्‍याली आयोजना गरिएको थियो ।

स्पेनले भने हालसम्म सार्वजनिक बिदा घोषणा गरेको छैन । यद्यपि, सोमबार म्याड्रिडमा विजयी टोलीको सम्मानमा विजय र्‍याली आयोजना गरिने कार्यक्रम छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप