डिजिटल र सोलार बोर्डमा नाम चम्काउने रोशन
सारांश
- रोशन श्रीवास्तव, एक युवा, जसले रातमा साइकलमा बोर्ड झुन्डाउँदै व्यवसाय सुरु गरे, आज सफल व्यवसायी बनेका छन्।
- उनको कम्पनीले विज्ञापन बोर्डको डिजाइन, निर्माण, स्थापना र मर्मत गर्छ, र उनले नयाँ विज्ञापन अवधारणाहरू पनि ल्याए।
- उनले बाह्य विज्ञापन क्षेत्रमा सरकारको ध्यान नपुगेको र स्थानीय तहमा बिचौलिया र ठेकेदारी प्रथाका कारण समस्या रहेको बताए।
काठमाडौँ । कुनै बेला साइकलमा होर्डिङ बोर्ड बोकेर रातको अँध्यारोमा पोल-पोलमा झुन्ड्याउँदै हिँड्ने एक युवा आज एक सफल व्यवसायी बन्न सक्षम भएका छन् । यो हो, राजधानीको आरएबीएस इन्टरनेसनल प्रालिका प्रबन्ध निर्देशक रोशन श्रीवास्तवको संघर्षको रोचक कथा। दुई दशकभन्दा बढी समयको उनको व्यवसायिक यात्राको सुरुवात अनेक हन्डर र ठक्करले भरिपूर्ण रह्यो, जहाँ उनले हरेक चुनौतीसँग जुधे। संघर्षको भट्टीमा खारिएर निस्केका उनै रोशन आज नेपालको बाह्य विज्ञापन क्षेत्रका एक परिचित नाम बन्न सफल भएका छन् ।
रोशनको कम्पनीले विभिन्न प्रकारका विज्ञापन बोर्डहरू (जस्तैः डीपीएस बोर्ड, पोल बोर्ड, होर्डिङ बोर्ड, फ्ल्याक्स बोर्ड, लाइट बोर्ड, डिजिटल बोर्ड, सोलार पोलमा विज्ञापन) को डिजाइन, निर्माण, स्थापना र मर्मतको काम गर्छ। उसो त उनले नेपालमा ठूला होर्डिङ बोर्डहरू (२० फिट बाइ १०० फिट), पोल एड, ट्राफिक बुथ र सोलार पोल जस्ता धेरै नयाँ अवधारणाहरू भित्र्याएर बाह्य विज्ञापन क्षेत्रमा महत्त्वपूर्ण परिवर्तन पनि ल्याएका छन् ।

२०५७ सालमा रौतहटबाट उच्च शिक्षाका लागि काठमाडौँ आएका रोशन पढ्ने खर्च जुटाउने क्रममा एउटा विज्ञापन एजेन्सीमा जागिर खान पुगेका थिए । त्यही जागिर उनका लागि बिजनेस ‘आइडिया’ बनिदियो । जहाँ उनले काम गरे, त्यही सिकेर केही समयमा उनले आफ्नो व्यवसाय सुरु गरेका हुन् । जुन अनवरत जारी छ ।
सुरुवाती दिनमा एकदमै सानो स्तरबाट उनले काम थालेका थिए, ठुलो व्यवसायको परिकल्पना पनि थिएन। 'सानोतिनो, एकदम ठुलो होइन, एकदम न्यून सानो, जस्तै कि पसलहरूमा राख्ने डीपीएस बोर्ड, यो टाइपको बोर्डहरूबाट मेरो व्यवसाय सुरु भएको थियो,'रोशनले स्मरण गरे। सुरुवाती दिनमा प्रिन्टिङ, डिजाइनिङदेखि लिएर बोर्ड बनाएर रातिराति साइकलमा बोकेर पोल-पोलमा हाल्ने काम पनि उनी आफैँ गर्थे, साथमा एउटा भर्याङ हुन्थ्यो। उनी भन्छन्, 'त्यो दिन अहिलेजस्तो थिएन । म आफै हाकिम आफै पिएन थिएँ । साथमा एउटा साइकल हुन्थ्यो ।'

उसो त सुरुवाती दिनमा मान्छेलाई उनले थालेको बोर्डका नयाँ प्रविधिको बारेमा ज्ञान थिएन। 'सुरुवाती दिनमा त मान्छेले पत्याउँदै नपत्याउने नि। पत्याइसकेपछि पनि अनेक झमेला हुन्थे,' उनी स्मरण गर्छन्। त्यतिखेर बोर्डमा पेन्ट गर्ने चलन व्याप्त थियो, त्यसैले 'बोर्डस् के हो, फ्ल्याक्स के हो' भन्नेबारे मानिसहरू त्यति भिजिसकेका थिएनन्। ग्राहकहरूलाई मनाउनका लागि उनले ठुलो प्रयास गर्थे। उनी ग्राहककहाँ गएर बोर्ड राख्दा ब्रान्ड इमेज कस्तो देखिन्छ, यसले उत्पादनको बिक्रीमा कस्तो प्रभाव पार्छ भनी अनुमान गरेर बुझाउँथे। 'भरसक जे गरे पनि अलि कमै रेट भए पनि कन्भिन्स गराइन्थ्यो कि पहिला काम त उहाँले गर्नुपर्यो भनेर,' उनी भन्छन्।
उनका शुरुआती ग्राहकहरूमा साना पसलवालाहरूका साथै केही बैंकहरू पनि थिए। एनआईसी एसिया, स्ट्यान्डर्ड चार्टर्ड जस्ता बैंकहरू उनका प्रारम्भिक ग्राहक थिए। तीमध्ये एनआईसी एसियाले सुरुदेखि नै आफूलाई राम्रो विश्वास गरेको उनी बताउँछन्।
एकपछि अर्को नौलो पन
काम गर्दै गएपछि भने रोशन श्रीवास्तवको बजारमा विश्वसनीयता पनि बढ्दै गयो । त्यही मौकामा उनले विज्ञापन क्षेत्रमा नेपालमा धेरै नौलोपन भित्र्याउन सके। पहिले राजमार्गहरूमा १० फिट बाइ २० फिटका होर्डिङ बोर्डहरू विरलै देखिन्थे, र ती पनि बहुराष्ट्रिय कम्पनीहरूले मात्र राख्ने चलन थियो। तर, उनले यसलाई परिवर्तन गर्ने संकल्प गरे। विदेशमा २०० फिटसम्मका विशाल बोर्डहरू देखेर प्रभावित भई नेपालको भौगोलिक अवस्था अनुसार २० फिट बाइ १०० फिटको बोर्ड सम्भव छ भन्ने उनलाई लाग्यो।

उनले यसको सुरुवात धादिङको गल्छीको डाँडाबाट गरे। '२० फिट बाइ १०० फिटको नेपालमा सबभन्दा पहिलो होर्डिङ बोर्ड बनाउने मान्छे नै मै हो,' उनी गर्वका साथ बताउँछन्। यो बोर्ड बजाज पल्सर बाइकको ब्रान्डिङका लागि प्रयोग भएको थियो। उनका अनुसार यो २० बाइ १०० को बोर्ड उनको व्यवसायको लागि एउटा 'टर्निङ पोइन्ट' साबित भयो। बजाज बाइकले यसको सफलता देखेर तत्काल १० वटा यस्ता बोर्ड राख्यो र अहिलेसम्म पनि बजाजका १२-१३ वटा २० बाइ १०० फिटका बोर्डहरू देशभर उनकै कम्पनीले राखिरहेको छ।
यसबाट अन्य व्यवसायीहरू पनि यस्ता ठूला बोर्डहरू बनाउन प्रेरित भए।
होर्डिङ बोर्डबाहेक उनले ट्राफिक व्यवस्थापनमा पनि महत्त्वपूर्ण योगदान दिएका छन्। ट्राफिकको लागि 'नो पार्किङ', 'नो राइट टर्न', 'नो यु-टर्न' जस्ता बोर्डहरू देशभर नि:शुल्क जडान गरे। त्यतिबेला ट्राफिक प्रहरीको बजेट कम हुने भएकोले उनले विभिन्न विज्ञापनदाता कम्पनीहरूसँग समन्वय गरेर यो सेवा प्रदान गरेका थिए।

ट्राफिक आइल्यान्डमा राखिने 'ट्राफिक बुथ' को अवधारणा पनि आफूले ल्याएको उनको भनाइ छ। 'त्यो सेतो कलरको जुन अहिले आ'को छ नि, पहिला त्यस्तो थिएन। मैले त्यो कन्सेप्ट मैले नै ल्याएको हो,' उनले दाबी गरे । सुरुमा फलामको ट्रायाङ्गल टाइपको बुथ बनाएर ट्राफिकलाई नि:शुल्क दिएको उनको भनाइ छ । यसले ट्राफिक प्रहरीलाई घामपानीबाट ओत लाग्न र काम गर्न सहज बनायो, साथै चोक-चोकमा ट्राफिक उपस्थिति देखाएर व्यवस्थापनमा सहयोग पुर्यायो। यस्तो बनाएबापत केही भागमा उनको कम्पनीमार्फत विज्ञापन राखिएको हुन्थ्यो।
यसैगरी काठमाडौँको लोडसेडिङको तत्कालीन मारलाई कम गर्न पनि उनले पहल गरे। काठमाडौँ महानगरपालिकाभरि १२८५ वटा सोलार पोलहरू राख्ने काम उनले गरे, जुन उनको आफ्नै लगानीमा भएको थियो। त्यसबापत ती सोलार पोलहरूमा विज्ञापन राखिएको छ। उनका अनुसार एक दशकअघिको उक्त 'पोल एड अवधारणा' नेपालमा नौलो थियो र यसले बाह्य विज्ञापनको महत्त्व, ब्रान्डिङको शक्ति र कम्पनीहरूलाई हुने फाइदालाई प्रस्ट पारेको उनको दाबी छ।
व्यवसायको विस्तार र वर्तमान अवस्था
रोशन श्रीवास्तवको कम्पनीले हाल ठूला होर्डिङ बोर्डहरू (जसलाई 'बिलबोर्ड' भनिन्छ), राजमार्गका विभिन्न स्थानमा राखिने 'हाइवे बोर्डस्', सहरभित्रका 'सिटी पोल बोर्डस्', काठमाडौँ उपत्यकाभरका सोलार पोलहरूमा विज्ञापन र डिजिटल प्लेटफर्महरूमा पनि डिजिटल बोर्डस् लगायतका सेवाहरू उपलब्ध गराउँछ।

हाल उनको कम्पनीसँग अनुमानित १००-२०० को हाराहारीमा ग्राहकहरू छन्। केही प्रमुख ग्राहकहरूमा वर्ल्डलिङ्क, म्याक्स, टाइगर, एक्सट्रिम, एनएमबी बैंक, मारुती सिमेन्ट, नेपाल लाइफ इन्स्योरेन्स, युनिलिभर, कोकाकोला र पेप्सी जस्ता प्रतिष्ठित कम्पनीहरू समावेश छन्। उनको कम्पनीले प्रत्यक्ष-अप्रत्यक्ष रूपमा सयौँलाई रोजगारी दिएको छ ।
विज्ञापन क्षेत्रका चुनौती
रोशनका अनुसार बाह्य विज्ञापन क्षेत्रको सबभन्दा ठुलो चुनौती भनेको सरकारले यसमा पर्याप्त ध्यान नदिनु नै हो। नेपालमा समग्र विज्ञापन बजार वार्षिक ५०-६० अर्बको छ भने बाह्य विज्ञापनको मात्रै ३०-४० अर्बको हाराहारीमा कारोबार हुने अनुमान छ। तर, स्थानीय तहहरूको कारणले यो पेसा नै बदनाम हुने कन्डिसनमा रहेको उनी बताउँछन्। कम्पनीहरू बाह्य विज्ञापन गर्नै फ्रस्ट्रेटेड भइसकेको उनको दाबी छ ।

उनका अनुसार समस्याको जड भनेको स्थानीय तहहरूमा व्याप्त बिचौलिया र ठेकेदारी प्रथा हो। कुनै पनि विज्ञापन बोर्ड राख्न अनुमति माग्न नगरपालिका जाँदा त्यहाँका कर्मचारीहरूले 'मिल्दैन, यो त राख्नै मिल्दैन' भन्दै झुलाउने र पछि 'ठेक्का निकालिदिन्छ' भन्ने प्रवृत्तिले व्यवसायीहरूलाई हैरान बनाएको उनको भनाइ छ। 'एकचोटिमा तीन-तीन वर्षको ठेक्का निकाल्छ, विज्ञापन कर असुल्ने भनेर', उनी आक्रोश व्यक्त गर्छन्, 'यसले गर्दा बिचौलियाहरू सिर्जना भएका छन्, जसले कम्पनीहरूलाई तर्साउने, अनावश्यक कर लिने र काम गर्न नदिने गर्छन्।'
उनका अनुसार यसमा ठुलो घोटाला सुनिन्छ। 'तत्कालीन सञ्चार मन्त्रीले पनि भन्नुभयो, बर्सेनि २० अर्बभन्दा बढीको तपाईंको घोटाला छ यसम', यसमा सरकारको ध्यान जान जरुरी रहेको उनको भनाइ छ । करको अव्यवहारिकता पनि अर्को समस्या हो। २०० रुपैयाँ लागतको पसल बोर्डका लागि ५००० रुपैयाँसम्म कर तिर्नुपर्ने अवस्थाले कम्पनीहरूलाई विज्ञापन गर्न हतोत्साहित गर्ने रोशनको भनाइ छ ।
विज्ञापन बोर्ड गठन भएर नियम र मापदण्ड बनाए पनि स्थानीय तहले त्यसको पालना नगरेको उनको भनाइ छ। 'विज्ञापन बोर्डले अस्ति पत्राचार पनि गरेको छ। तर स्थानीय तहले कसैले टेरेको छैन,' उनी भन्छन्। राज्यले बिचौलिया हटाउन सक्नुपर्ने र स्थानीय तह आफैँले विज्ञापन कर उठाउनुपर्ने उनको माग छ। यसो गरिए भ्रष्टाचार कम हुने र राज्यको राजस्व बढ्ने उनको विश्वास छ।
विज्ञापनमा अर्को क्रान्ति !
वर्तमान बाह्य विज्ञापनको ट्रेन्ड विगत एक दशकदेखि खासै परिवर्तन नभएको रोशन बताउँछन्। डिजिटल विज्ञापन ल्याउने प्रयास भए पनि नेपालको भौगोलिक अवस्था (साना र साँघुरा सडक) र कम्पनीहरूको विज्ञापनमा खर्च गर्ने शैलीका कारण त्यो सफल हुन नसकेको उनको भनाइ छ ।
अब भने जसरी पनि नयाँ परिवर्तन ल्याउनुपर्ने आवश्यकता उनले महसुस गरेका छन्। तीन-चार महिनाभित्रै एउटा इनोभेटिभ बाह्य विज्ञापनको चिज ल्याउँदै गरेको उनले बताए । तर यसबारे उनले विस्तृतमा खुलाउन चाहेनन् । तर यो अन्तर्राष्ट्रिय स्तरको मापदण्ड पूरा गरेको र कुनै पनि कम्पनीलाई विज्ञापन गर्न आकर्षित गर्ने खालको हुने उनको दाबी छ।
विगतमा पनि आफूले प्रिन्टेड बोर्डबाट फ्ल्याक्स बोर्ड, फ्ल्याक्स बोर्डबाट लाइट बोर्ड, लाइट बोर्डबाट डिजिटल र त्यसपछि सोलार पोलमा कन्भर्ट गराएर सधैँ नयाँ ट्रेन्ड स्थापित गर्दै आएको उनको भनाइ छ। अब गर्न लागेको नयाँ प्रयोगले नेपालको विज्ञापन क्षेत्रको मुहार नै फेरिदिने उनको विश्वास छ । यसका लागि सरकारसँग प्रत्यक्ष सम्झौता गर्ने तयारीमा रहेको उनले बताए।
आजका दिनमा आइपुग्दा आफ्नो व्यावसायिक यात्राबाट रोशन सन्तुष्ट छन्। सुरुवाती दिनमा भोगेका गाह्रो अवस्थाहरूलाई फर्केर हेर्दा उनलाई लाग्छ, 'साँच्चै त्यहीँबाट यहाँ आएको हो र जस्तो लाग्छ।' उनी कामलाई आनन्द लिन सक्नुपर्ने र कुनै पनि काम ठुलो-सानो नहुने बताउँछन्। 'बिनासंघर्ष आजसम्म कसैले पनि सफलता हासिल गर्छजस्तो मलाई लाग्दैन,' उनको भनाइ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तुर्के पुल–झ्याउपोखरी–फालिदोबाटो सडकः १४ किमी कालोपत्र
-
नेपालको आँखा उपचार सेवाको कम्बोडियाद्वारा उच्च प्रशंसा
-
काभ्रेपलान्चोकमा ब्राउन सुगरसहित पाँच जना पक्राउ
-
के चीनले विद्युतीय सवारीसाधनमा झैँ रोबोट्याक्सीमा पनि विश्वबजार कब्जा गर्ला ?
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
पहिरो र नदी कटान रोक्न दग्नाममा बस्ती संरक्षण योजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण