पोखरालाई दातृ निकायको सहयोग कति ?
सारांश
- पोखरा महानगरपालिकाका प्रमुखले पोखरामा विकास साझेदारको सहयोग रहेको दाबी गरे पनि यथार्थ तथ्याङ्क स्पष्ट छैन।
- महानगरले विभिन्न परियोजनाका लागि ३९ अर्बको सहयोग रहेको दाबी गरे पनि धेरै परियोजना कार्यान्वयनको चरणमा छैनन्।
- विभिन्न दातृ निकायहरूले पोखरामा लगानी गर्ने प्रतिबद्धता जनाएका छन्, तर कतिपय परियोजना प्रक्रियामै रहेको र रकम आइनसकेको अवस्था छ।
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले अचेल औपचारिक भाषणमा भन्ने गरेको एउटा बुँदा छ– हामी आएपछि पोखरालाई कालोसूचीबाट हटायौँ । अहिले पोखरामा विकास साझेदारको सहयोग प्रशस्त छ ।
महानगर प्रमुख आचार्यले कतै सहयोगको रकम नै उल्लेख गर्छन्, तर पोखरामा अहिले विकास साझेदारको लगानी कति हो भन्ने स्पष्ट तथ्याङ्क महानगरसँग पनि छैन ।
महानगर प्रमुखको सचिवालयले प्रक्रियामा रहेको र कार्यान्वयन भएको समेत जोडेर ३९ अर्बको सहयोग पोखरा महानगरमा रहेको दाबी गरेको छ । महानगर प्रमुखका प्रेस संयोजक भीम थापाले दिएको विवरण अनुसार ८ अर्ब ४५ करोडको योजना कार्यान्वयनको चरणमा छ ।
दिगो पर्यटन विकास परियोजनाको लागि साढे ७ अर्ब रुपैयाँको सम्झौता हुने चरणमा छ । ५ अर्बको ई–मोबिलिटी परियोजना, ११ अर्बको फोहोर पानी प्रशोधन केन्द्र गरी १६ अर्ब रुपैयाँ आउने क्रममा रहेको सचिवालयको दाबी छ ।
यस्तै, १ अर्ब ५० करोडको हरित यातायात प्रणाली विकास परियोजना अहिले पाइलटिङको क्रममा रहेको देखाइएको छ । सबै हिसाब गर्दा ३३ अर्ब ४५ करोड हुन्छ । महानगरको दाबी अनुसार ५ अर्ब ५० करोड रुपैयाँको खानेपानी शुद्धीकरण परियोजना सम्पन्न भएको छ । तर महानगर प्रमुखको सचिवालयले दाबी गरेजति रकम के पोखरामा कार्यान्वयन हुँदैछ ?
महानगरमा भएको डकुमेण्टका आधारमा हिसाब गर्दा करिब १० अर्ब अहिले कार्यान्वयनको चरणमा देखिन्छ । विश्व बैंकका ३ वटा योजनाहरूमा २ करोड ५६ लाख अमेरिकी डलर विनियोजन भएर काम अघि बढिरहेको छ । तालचोकदेखि बेगनासतालसम्मको सडक, शिशुवादेखि सिसाघाट सडक र दोविल्लादेखि बाघमारा हुँदै तल्लो पुँडीटार हुँदै झिंगटे जोड्ने सडक निर्माणाधीन छन् ।

अरु सडकमा राम्रो प्रगति देखिए पनि तालचोकदेखि बेगनासताल सडकमा अनेक विवादका कारण काम सुस्त छ । परियोजनाको म्याद कात्तिकसम्मका लागि थप भएको छ । त्यसपछि थप नहुने बताइएको छ । सहरी शासकीय पूर्वाधार आयोजना अन्तर्गत चालु रहेका परियोजना पूरापूर कार्यान्वयन हुनेमा शंका छ ।
अर्को महत्त्वपूर्ण विकास साझेदार एसियाली विकास बैंकले ३ करोड १२ लाख अमेरिकी डलर लगानी गर्दैछ । पोखराको ढल, सडक, फुटपाथ र बाटो स्तरोन्नति गर्न ५३ लाख अमेरिकी डलर, पोखरादेखि पञ्चासे जोड्ने साइकल ट्रयाक र सडक निर्माणका लागि ३० लाख ५ हजार अमेरिकी डलर, फेवातालमा ट्रेल बनाउन र पञ्चासे पर्यावरण विकासमा ६३ लाख ९० हजार अमेरिकी डलर, केआइसिंहमा पार्क निर्माण, पोखरामा हरित विकास र शान्ति वनमा बोटानिकल गार्डेन बनाउन ७६ लाख ७० हजार अमेरिकी डलर खर्च हुँदैछ । यस्तै, विन्ध्यावासिनीमा सडकको पुनः विकास, तालदेखि ताल जोड्ने साइकल ट्रयाक बनाउन ४५ करोड ८० लाख डलर, पोखराको डिजाइन र सुपरभिजनको लागि १५ लाख अमेरिकी डलर लगानी गर्न लागेको हो ।
यसबाहेक कोइका र एडीबीले पोखराको फोहोरलाई मोहोरमा रुपान्तरण गर्न १ करोड ६ लाख अमेरिकी डलर लगानी गर्दैछ । यसमा कोइकाको ९८ लाख अमेरिकी डलर र युएनडीपीको ८ लाख ७० हजार अमेरिकी डलर लगानी छ । त्यसबाहेकका दाबी गरिएका परियोजनाको आधिकारिक डकुमेन्ट महानगरको सूचना शाखाले उपलब्ध गराउन सकेन । ‘हामीसँग जे डकुमेन्ट छ त्यही दिने हो । प्रक्रियामा रहेका कुराको डकुमेन्ट हामीसँग छैन । अहिले भएको डकुमेन्ट यही हो,’ सूचना अधिकारी कृष्ण तिवारीले भने ।
महानगरका प्रवक्ता मोति तिमिल्सिनाले दातृ निकायको पटक पटकको भेटमा भएको प्रतिबद्धता र नेपाल सरकारले प्रक्रियासमेत अघि बढाइसकेको रकम उल्लेख गरिएको बताए । ‘कतिपय योजना कार्यान्वयनमा गइसकेका छन् । कतिपय प्रक्रियामा छन् । धेरै परियोजनाको डीपीआर र अध्ययन सकिएर कार्यान्वयनको चरणमा छन्,’ उनले भने, ‘प्रक्रियामा रहेका परियोजनामा पनि प्रतिबद्धता आइसकेको हो । विभिन्न चरण पार गरेर सम्झौताको अन्तिम अवस्थामा पुगेको छ ।’
यसअघि अमेरिकी सहयोग नियोग (युएसएड) ले ‘ग्रीन पोखरा क्लिन पोखरा’ अभियान र पर्यटन क्षेत्रको मूल योजना निर्माणमा सहयोग गरेको थियो ।
यस्तै, बेलायती सहयोग संस्था (युकेएड)को सुदृढ परियोजना पोखरामा कार्यान्वयनमा छ । जर्मन सहयोग संस्था (जीआईजेड) र युरोपियन युनियनको सहयोगमा ऊर्जा परियोजना र युरोपियन युनियनको बिल्डिङ कोड तथा वातावरणमैत्री सहर परियोजनाले पनि पोखरामा लगानी गरेका छन् । पोखरा महानगरकै एक कर्मचारी विकास साझेदारको सहयोग पोखरामा राम्रो भए पनि दाबी गरिएजस्तो नभएको बताउँछन् ।

‘कतिपय परियोजना भर्खरै छलफलमा अघि बढेको छ । त्यसमा पनि लगानी यति आयो भनेर प्रचार गर्नु गलत हो,’ उनले भने, ‘विकास साझेदारबाट पैसा लिन धेरै लामो प्रक्रिया पूरा गर्नुपर्छ । यहाँ छलफल हुने बित्तिकै पैसा आइहाल्यो झैँ गरी प्रचार गरिन्छ । केही रकम यहाँ कार्यान्वयनमा छ, दाबी गरिएको अधिकांश परियोजना सुरु नै भएको छैन ।’
सम्झौताको तयारीमा रहेको भनिएको ११ अर्ब दाबी गरिएको फोहोर पानी प्रशोधन परियोजनाको भर्खरै डीपीआर तयार भएको छ । यसमा जाइकाले लगानी गर्ने भनिएको छ, तर औपचारिक निर्णय भइसकेको छैन । कोइकाको हरित यातायात प्रणाली विकास परियोजना पाइलोटिङ भनिए पनि पैसा आउने छाँटकाँट छैन । परियोजनासँग सम्बन्धित एक दातृ निकायका प्रतिनिधिले भने, ‘कतिपय प्रस्ताव महानगरले राखेको हो, तर एप्रुभ भइसकेको छैन । एप्रुभ भइहाल्ने निश्चय पनि छैन । सिधै रकम तोकेर प्रचार गर्दा झन् ब्याक फायर हुन सक्छ । महानगर सचेत हुनुपर्छ ।’
कुन परियोजनामा कसको कति लगानी ?

तालिकामा रहेको लगानी महानगरको दाबी हो । यसमध्ये अधिकांश योजना दाबी गरिएजस्तो प्रगति भएको छैन । केही योजना कार्यान्वयनको चरणमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण