भारी वर्षाको चेतावनीः मोरङमा लामो दूरीका बस सेवा स्थगित
सारांश
- मोरङ जिल्ला विपद् व्यवस्थापन समितिले भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै लामो दूरीका बस सेवा स्थगित गर्ने निर्णय गरेको छ।
- बाढी प्रभावित क्षेत्रका बासिन्दालाई सचेत गराउन र सुरक्षित स्थानमा सार्न माइकिङ गरिनेछ, साथै LEOCs लाई सक्रिय रहन निर्देशन दिइएको छ।
- प्रतिकार्यका लागि नेपाली सेनाको हेलिकप्टर स्ट्यान्डबाई रहनेछ र नागरिकलाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ।
विराटनगर । मोरङ जिल्ला विपद् व्यवस्थापन समितिले आगामी असोज १७ देखि २० गतेसम्म भारी वर्षा तथा प्रतिकूल मौसमको सम्भावनालाई दृष्टिगत गर्दै महत्त्वपूर्ण निर्णयहरू गरेको छ ।
प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकले रत्नकालिन लामो दूरीका बस सेवाहरू स्थगित गर्ने र विपद् पूर्वतयारी तथा प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउने निर्णय गरेको हो ।
समितिको निर्णयअनुसार आगामी असोज १७, १८, १९ र २० गते भारी वर्षाको मौसम पूर्वानुमान भएकाले मोरङ जिल्लाबाट अन्यत्र चल्ने सबै लामो दूरीका बस सेवाहरू पूर्ण रूपमा स्थगित गरिनेछ ।
विपद्को सम्भावित जोखिम न्यूनीकरणका लागि समितिले जनचेतना फैलाउने कार्यलाई तीव्र पारेको छ । विशेष गरी केराघारी, सिंगिया र रैया खोलाको आसपासका बाढी प्रभावित क्षेत्रका बासिन्दाहरूलाई पूर्व सचेतना दिन र आवश्यक परेमा सुरक्षित स्थानमा सार्नका लागि माइकिङ गरिनेछ । विपद् सम्बन्धी जानकारी विभिन्न सञ्चार माध्यम, कार्यालयका आधिकारिक पेज र स्थानीय सञ्चार माध्यमबाट प्रभावकारी रूपमा सम्प्रेषण गरिनेछ ।
यसका साथै, विपद्को पूर्वतयारी तथा प्रतिकार्यका लागि सबै स्थानीय तहमा रहेका स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्र (LEOCs) लाई पूर्ण रूपमा सक्रिय रहने निर्देशन दिइएको छ । यसका लागि स्थानीय स्वयंसेवक, गैरसरकारी संस्था र निजी संस्थाहरूको सहभागिताका लागि अनुरोध गरिएको छ ।
सबै सुरक्षा निकायका पदाधिकारीहरू सम्मिलित कमाण्ड पोष्ट निरन्तर सञ्चालनमा रहनेछ र निकायहरूबिच समन्वय कायम गरिनेछ । आवश्यक परेको खण्डमा तत्काल प्रतिकार्यका लागि नेपाली सेनाको हेलिकप्टर टिम स्ट्यान्डबाई रहने जानकारी सबै सम्बन्धित स्थानीय तह र निकायहरूलाई गराइएको छ । जिल्लाका जुनियरका जोडीयुक्त सूचनाका लागि स्थानीय सुरक्षा युनिटहरूलाई पनि पूर्व सचेतना र प्रतिकार्यका लागि आवश्यक निर्देशन दिइएको छ । जिल्ला अस्पतालहरूलाई पनि तयारी अवस्थामा रहन अनुरोध गरिएको छ ।
प्रतिकार्य र पूर्वतयारीका लागि आवश्यक पर्ने ठूला उपकरणह परिचालनका लागि डिभिजन, स्थानीय तह र निजी क्षेत्रलाई समेत जिम्मेवारी तोकिएको छ । विपद् सूचना तथा सहयोगका लागि नेपाल प्रहरीको टोल फ्री नम्बर १०० र सशस्त्र प्रहरी बल नेपालको टोल फ्री नम्बर १११४ लगायत कमाण्ड पोष्टमा रहने पदाधिकारीहरूको मोबाइल नम्बरहरू सार्वजनिक गरिएका छन् ।
जिल्ला विपद् व्यवस्थापन समितिले सम्भावित विपद्को जोखिमबाट जोगिन सबै नागरिकलाई उच्च सतर्कता अपनाउन, आवश्यक पूर्वतयारी गर्न र समितिले जारी गर्ने सूचना तथा निर्देशनहरू पालना गर्न हार्दिक अनुरोध गरेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण