के प्रविधिले संसार बदल्दैछ ?
सारांश
- नयाँ युगमा वैज्ञानिक र सूचना प्रविधिको विकासले मानिसको जीवनशैलीमा परिवर्तन ल्याएको छ।
- लेखले कृत्रिम बुद्धिमत्ता (एआई) र यसका सम्भावित प्रभावबारे चर्चा गरेको छ, जसमा यसले मानव श्रमलाई प्रतिस्थापन गर्न सक्ने कुरा उल्लेख छ।
- लेखमा एआईका फाइदा र बेफाइदा दुवैबारे चर्चा गर्दै, प्रविधिको विकासले समाजमा ल्याउने परिवर्तनलाई जोड दिइएको छ।
हामी नयाँ युगमा छौँ । यसलाई जुम्ल्याहा क्रान्तिको युग भनेर चिनिन्छ– वैज्ञानिक प्राविधिक क्रान्ति र सूचना क्रान्तिको युग । ती क्रान्तिको फलस्वरुप हाम्रो सोच्ने तरिका र जिउने तरिकामा आमूल परिवर्तन भएको छ । यस लेखमा यसका प्रभावबारे चर्चा गरिनेछ ।
- मान्छे औजार बनाउने पशु
बेञ्जामिन फ्र्याङकलिनको भनाइलाई मार्क्सले सापट लिएर भन्छन् कि मान्छे औजार बनाउने पशु हो । प्रविधि शब्द अङ्ग्रेजी टेक्नोलोजीबाट आएको हो । यसको उत्पत्ति ग्रीक भाषाबाट भएको हो । ‘टेक्नी’को अर्थ सिप र ‘लोगोस’ भनेको ज्ञान हो अर्थात् कौशलको ज्ञान भनेको प्रविधि हो ।
- आम उद्देश्यीय प्रविधिहरू
पशु जगतबाट अलग हुने प्रक्रियामै मान्छेले प्रविधि अर्थात् औजार बनाउन र चलाउन सिकेको हो, जुन प्रविधिले आम मान्छेको समग्र जीवन परिवर्तन गर्न सघाउ पु¥याएको छ । ती प्रविधिलाई आम उद्देश्यीय प्रविधि भनिन्छ, जुन २१ वटा छन् ।
१. आगो: मानिसले पहिलो पटक ऊर्जा नियन्त्रण गरेर जीवनशैली रुपान्तरण ग¥यो ।
२. भाषा: सहकार्य र सामूहिक सोच विकास सम्भव भइ समाजको आधार बन्यो ।
३. लेखन: ज्ञान पुस्तौँसम्म सुरक्षित भई सभ्यता र राज्य विस्तार भए ।
४. धातु प्रविधि: बलिया औजार र हतियारले युद्ध, खेती र उद्योगमा क्रान्ति ल्यायो ।
५. चक्का: यातायात र व्यापार तीव्र भएर भूगोल नजिक भयो ।
६. गणित/खगोल: समय, खेती र विज्ञानको आधारशीला तयार भयो ।
७. छापाखाना: ज्ञानको लोकतान्त्रीकरण भई शिक्षा र विज्ञान फैलियो ।
८. वाष्प इञ्जिन: उद्योग र यातायातले उत्पादन र सहर विस्तार सम्भव बनाए ।
९. बिजुली: उद्योग, सञ्चार र दैनिकीमा नयाँ प्रकाश फैलियो ।
१०. आन्तरिक दहन इञ्जिन: गाडी र विमानले गति र दूरीको सिमाना तोडे ।
११. टेलिग्राफ/टेलिफोन: तत्काल सम्पर्क सम्भव भई विश्व सानो भयो ।
१२. रेलवे: सहर र गाउँ जोडिएर बजार विस्तार भयो ।
१३. रसायन प्रविधि: मल र प्लाष्टिकले कृषि र उद्योगमा नयाँ उत्पादन दियो ।
१४. परमाणु प्रविधि: असीम ऊर्जा र विनाशकारी शक्ति दुवै सम्भव भए ।
१५. कम्प्युटर: डाटाको प्रशोधनले विज्ञान र प्रशासनमा क्रान्ति ल्यायो ।
१६. इन्टरनेट: विश्वव्यापी जडानले सूचना युग जन्मायो ।
१७. कृत्रिम बुद्धिमता: निर्णय र श्रममा स्वचालन भई कामको स्वरुप बदलिँदै छ ।
१८. जैव प्रविधि: स्वास्थ्य र कृषि जेनेटिकस्तरमै नियन्त्रणयोग्य भए ।
१९. नानो प्रविधि: अणुस्तरमा नयाँ सामग्री विकास सम्भव भयो ।
२०. अन्तरिक्ष प्रविधि: पृथ्वी बाहिर अनुसन्धान र सञ्चार सम्भव भयो ।
२१. ब्लकचेन: डिजिटल विश्वमा विश्वास र लेनदेन विकेन्द्रीकृत भयो ।
कृत्रिम बुद्धिमता (एआई )
हामी यहाँ यी सबै प्रविधिको चर्चा नगरिकन एउटामात्र प्रविधि कृत्रिम बुद्धिमताको चर्चा गर्ने छौँ । हामी सबैलाई थाहा छ कि प्रविधिको विकासको स्तरले समाजको विकासको स्तरलाई निर्धारण गर्दछ । एआई मानव जातीले विकास गरेको सबैभन्दा पछिल्लो प्रविधि हो । यो आजको युगको प्रमुख विशेषता बन्न गएको छ ।
एआई भनेको कम्प्युटर वा मेसिनलाई मानवजस्तै सोच्ने, सिक्ने, निर्णय गर्ने र समस्या समाधान गर्ने क्षमता दिने प्रविधि हो । संक्षेपमा, मानव बुद्धिमताको नक्कल गर्ने कम्प्युटर प्रणाली हो । अमेरिकी वैज्ञानिक जोन म्याकार्थी, जसलाई एआईका पिता पनि भनिन्छ । उनैले डार्टमाउथ सम्मेलनमा सन् १९५६ मा एआई शब्दको पहिलोपटक प्रयोग गरेका थिए ।
मान्छेले बनाएका सबै प्रविधिमध्ये एआई नै यस्तो प्रविधि हो, जसले मान्छेले सोधेका लगभग सबै प्रश्नको उत्तर दिने गरेको छ ।
एक अनुसन्धानका अनुसार संसारभर लगभग दुई लाखभन्दा बढी एआई अनुसन्धानकर्ताहरू छन् । जसमध्ये अमेरिका र चीनले मात्रै साठी प्रतिशतभन्दा बढी स्थान ओगट्दछ ।
दोस्रो मेसिन युग
उत्कृष्ट प्रविधिहरूको समयमा काम, प्रगति र समृद्धि पुस्तकमा एरिस ब्रायन जोल्फसन र एन्ड्रयु क्याफी भन्छन् कि औद्योगिक क्रान्ति पहिलो मेसिन युग हो भने एआई क्रान्ति दोस्रो मेसिन युग हो । प्रविधिको आधारमा युग परिभाषा गर्ने चलन हाम्रो पुरानै हो । जस्तोः ढुङ्गे युग, कास्य युग, फलामे युग आदि । हिजो हाम्रा पूर्खा ती युगमा बाँचेका थिए । आज हामी मेसिन युगमा बाँचिरहेका छाँै । यो युग कम्प्युटर, स्वचालित मेसिन र कृत्रिम बुद्धिमताले भरिएको छ ।
प्लेटोले मानव स्मृतिलाई बिगार्ने आविष्कारको निन्दा गरेपछि नै प्राविधिक नवप्रवर्तन हाम्रो काम गर्ने जीवनको लागि राम्रो छ कि छैन भन्ने बहस हुँदै आएको छ । अहिले पनि एआई मानव जीवनको बरदान हो कि अभिशाप भन्ने बहस जारी छ ।
एआई महाशक्तिहरू
चीन, सिलीकन भ्याली र नयाँ विश्व व्यवस्थाका लेखक चिनियाँ वैज्ञानिक काई फू ली भन्छन् कि पूर्ण एआई क्रान्ति हुन थोरै समय लाग्नेछ । भविष्यवादी र अनुन्धानकर्ता वैज्ञानिक रे क्रुजवेल एकलता नजिकै छ भन्ने आफ्नो पुस्तकमा भन्छन् कि सन् २०२९ सम्ममा आम स्तरको कृत्रिम बुद्धिताकोे विकास हुनेछ, जसले हामीसँग बुद्धिमान मानिसले गर्न सक्ने कुनै पनि संज्ञानात्मक कार्य गर्न सक्षम मेसिन हुनेछन् । उनी तर्क गर्दछन् कि एआईको प्रयोग खाद्यान्न, आवास, औषधि, यातायात र कपडाको उत्पादनलाई स्वचालित बनाउन प्रयोग गरिनेछ, जसले हाम्रा सबै आवश्यकता धेरै सस्तो हुनेछन् ।
मानव सर्जनहरूलाई रोबोटिक सर्जनहरूले प्रतिस्थापन गर्नेछन् । बुढ्यौलीको उपचार गर्न सक्षम हुनेछौँ । हामी अमर साइबरनेटिक प्रतिभाहरूको प्रजातिमा परिणत हुनेछाँै जसले सभ्यताको नियन्त्रणका लागि एआईसँग प्रतिस्पर्धा गर्दैनन््, बरु यसको साथ सहजीवनको अवस्थामा बाँच्छन् ।
एकातिर हाम्रो रक्त प्रवाहका साना साना लाखौँ नानोबोटहरू प्रवाहित गरेर अमरताको खोजी गर्ने अर्कोतिर हाम्रो मस्तिष्कमा चीप जडान गरेर ग्रहमा भएका प्रत्येक व्यक्तिको रचनात्मकतालाई सबैभन्दा छिटो कम्प्युटरको गति र निपुणतासँग जोडेर असीमित वृद्धि र सम्भावनाको संसार खोल्नेछ । यसलाई ‘रे एकलता’ भन्छन् । जेनेरेटिभ एआई सम्बन्धी नै पुस्तक लेखेका भविष्यवादी, लेखक, वक्ता र प्रविधि सल्लाहकार बर्नार्ड मार भन्छन्– मानिसले गर्ने सबै काम गर्न सक्ने एआईलाई जेनेरेटिभ एआई भनिन्छ । एआईले मानव बुद्धिमताको नक्कल गरेर काम गर्दछ भने जेनेरेटिभ एआईले उपलब्ध डाटाको आधारमा नयाँ सामग्री सिर्जना गर्न सक्दछ । मानव बुद्धिको मात्रै विशेषता रहेको सिर्जनात्मक काम आज एआईले गरिरहेको छ ।
उदाहरणका लागि हामी सबैले प्रयोग गरिरहेको च्याटजीपीटी, यो ओपन एआईले बनाएको जेनेरेटिभ एआई आधारित संवाद प्रणाली (च्याटबोट) हो, जसले मानवजस्तै भाषा बुझ्छ, प्रश्नको जबाफ दिन्छ र नयाँ सामग्री सिर्जना गर्न सक्छ । चिनियाँले बनाएको डिपसिक र गुगलले बनाएको जेमिनाइ यसकै प्रतिस्पर्धी हुन् ।
के हुन्छ जब मान्छेले गर्ने काम रोबोटले, एआईले गर्न थाल्दछ ?
अर्थशास्त्री, लेखक र समाज–प्रविधि विश्लेषक जेरेमी रिफ्किन ‘कामको अन्त्य’ पुस्तकमा भन्छन्– स्वचालन, एआई र रोबोटिक्सले धेरै मानव श्रमको आवश्यकता घटाउँछ । ‘अति बुद्धिमता: मार्गहरू, खतराहरू र रणनीतिहरू’ का लेखक वैज्ञानिक निक बोष्ट्रम पनि प्रविधिले मानव श्रमलाई प्रतिस्थापित गर्न सक्ने भन्छन् । चर्चित इतिहासकार युभल नोहा हरारी होमो सेपियन्स (बौद्धिक मानिस) होमो देवमा रुपान्तरण हुँदैछ भन्छन् । रोग, भोक र युद्धमा सफलता प्राप्त गरेपछि मान्छे अमरता, खुसी र ईश्वरको जस्तो शक्ति प्राप्त गर्न लाग्नेछ । अहिले पनि क्रिश्पर जस्ता प्रविधि प्रयोग गरेर जीन (डीएनए) सम्पादन गरेर रोग रोकथाम र रोग प्रतिरोधी उन्नत बाली विकासमा काम गरिरहेका छन् । छैठीको दिनमा भाविनीले लेख्ने कथा के अब प्रयोगशालामा लेखिएला ? दर्शना नारायणनका अनुसार हरारीले विज्ञानलाई झुटा विवरण भरेर लोकप्रियतावादी बनाएका छन् । उनको कथा वाचन जीवन्त र महमोहक छ तर विज्ञानबाट मुक्त छ । एक सय वर्ष अघि अर्थशास्त्री किन्सले प्राविधिक बेरोजगारी निम्त्याउने खतरा औँल्याएका थिए । हरारीले भने कामको अन्त्यले प्रयोजनविहीन वर्ग पैदा हुने बताएका छन् ।
अन्य वैज्ञानिक भने कामको अन्त्य कहिल्यै नहुने बरु पुराना कैयाँै काम अप्रासङ्गिक हुने र नयाँ नयाँँ कामका शाखाहरू खुल्दै जाने बताउँछन् । एमआइटीका अनुसन्धानकर्ताहरू यस्तै निष्कर्षमा पुगेका छन् । २०२० को प्रतिवेदनमा भन्छ कि १९४० मा नदेखिएका पेसा २०१८ मा ६३ प्रतिशत प्रकट भएका थिए । अहिले भएका पेसाहरू धेरै लोप हुन सक्छन् र नयाँ पेसाहरू प्रकट हुन सक्छन्– मोबाइल फोनले हुलाक प्रणाली, कुटानी, पिसानी मिलले पानी घट्ट, ढिकी जाँतो र कोलहरू लोप भएजस्तै ।
पेसा बदलिएपछि सिप पनि बदल्नु पर्ने हुन्छ । हलो जोत्नेले ट्र्याक्टर चलाउन सक्नेछ, घोडा खच्चड चलाउनेले गाडी चलाउन सक्नेछ । तर घर बनाउनेले कम्प्युटर डिजाइन गर्नुपरे असम्भव हुन सक्छ । हवाई जहाज स्वचालित भयो, सर्जनको काम रोबोटले गर्न थाल्यो, डिजाइन एआईले गर्न थाल्यो भने पाइलट, डाक्टर र इन्जिनियरले गर्ने काम के हुन सक्ला ? मान्छेले मृत्युमाथि विजय प्राप्त गरेर अमर हुन थाल्यो भने अहिले समयले कसैलाई पर्खदैन भनेर हतारमा काम गर्नेहरू पाँचसय वा हजार वर्ष बाँच्न थाले भने काम के गर्लान् ? फुर्सद नै सबैभन्दा दिक्दारी हुन सक्ला ?
यो सबै केले सम्भव बनायो ? विज्ञानले । कुन विज्ञान ? क्वान्टम विज्ञान र सापेक्षतावाद । क्वान्टम सिद्धान्त नै आजसम्मको सबैभन्दा सफल र उथलपुथलकारी वैज्ञानिक सिद्धान्त हो । दुःखको कुरा, यो कुनै पनि राजनीतिक पार्टीको दस्तावेजमा अटाउन सकेको छैन । ईश्वरका नाममा शपथ खाने संविधान जारी भएको छ तर विज्ञानका नाममा शपथ खाने संविधान बनेकै छैन । अब हाम्रो संविधानमा संशोधन गरेर थप्नु पर्दछ कि म विज्ञानका सर्वोच्च उपलब्धिहरूलाई आत्मसात् गर्न सदैव क्रियाशील रहनेछु । यस क्रान्तिले अहिलेसम्मको हाम्रो दर्शनको जग हल्लाइदिएको छ । नेपाल र विश्वभरि तरङ्ग सिर्जना गरिरहेको जेनजी आन्दोलन र सामाजिक सञ्जालको आधार पनि यही सिद्धान्त हो ।
एआईको वैज्ञानिक आधार क्वान्टम भौतिकी हो । यसैले सूचना साम्रज्य खडा गर्न मद्दत गरिरहेको छ । शोसना जुबोफ निगरानी पुँजीवाद पुस्तकमा भन्छिन्, ‘निगरानी पुँजीवादले निजी जीवनलाई सार्वजनिक मालको रुपमा रुपान्तरण गरिरहेको छ ।’
स्नायु वैज्ञानिक अहमद एल हादी हामी डिजिटल प्यानोप्टिकनमा बाँचिरहेका छौँ भन्छन् । सन् १७८७ मा जेरेमी बेन्थमले जेल, विद्यालय र अस्पताललाई निगरानी गर्न प्यानप्टिकनको अवधारणा विकास गरेका थिए । आज हामी खुला जेल जस्तोमा छाँै । सिलिकन भ्यालीका बादशाहरूले हाम्रो डाटामा पहुँच राखेर पृथ्वीभरि निगरानी र गडबडी गरिरहेका छन् । उनीहरू हाम्रो जीवन, हाम्रो समाज र हाम्रो देशका ह्याकरहरू हुँदैछन् । हो प्रविधि दुई धारे तरबार हो– जाने तरकारी काट्ने, नजाने आफ्नै हात काट्ने ।
हो, प्रविधिले संसार बदल्दैछ तर हाम्रो चाहना अनुसार बदल्न हामी नै जागरुक हुन पर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण