शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
सक्रिय सरकार

विपदमा चनाखो सरकार : जनताले गरे प्रत्यक्ष अनुभूति

आइतबार, १९ असोज २०८२, १३ : ५६
आइतबार, १९ असोज २०८२

सारांश

  • गत वर्षको बाढीपहिरोको क्षति कम नहुँदै यस वर्ष पनि भारी वर्षाका कारण देशका विभिन्न भागमा क्षति पुगेको छ।
  • सरकारले यसपटक विपद् व्यवस्थापनमा सूचना प्रवाह प्रणालीलाई सक्रिय बनाउँदै नागरिकलाई सतर्क रहन आग्रह गर्यो, जसले जनधनको क्षति कम गर्न मद्दत गर्यो।
  • प्रधानमन्त्रीको सक्रियता र सरकारको पूर्वतयारीले विपद्को जोखिम कम गर्न सहयोग पुग्यो र सामाजिक सञ्जालमा प्रशंसा बटुल्यो।

काठमाडौँ । गत वर्ष असोज ११ र १२ गतेको अविरल वर्षापछि आएको बाढी र पहिरोले ठुलो धनजनको क्षति पुर्‍यायो । बाढी पहिरोका कारण देशैभरका राजमार्गहरू क्षतिग्रस्त भएका थिए । 

काठमाडौँ उपत्यकाभित्र नै ठुलो विपद् आएको थियो, धेरै वटा बस्ती बगे । थातथलो बगाएको थियो । बाढीकै कारण कैयौँको लगानी क्षणभरमा नष्ट भएको थियो । दुई सयभन्दा बढीले ज्यान गुमाउनुपरेको थियो । 

नेपालले हरेक वर्ष प्राकृतिक विपत्ति भोग्दै आएको छ । मनसुन सुरु भएसँगै हरेक वर्ष बाढीपहिरोको मारमा नेपाल पर्ने गर्छ । विपद्बाट हुने क्षति कम गर्न राज्य संयन्त्रले धेरथोर काम पनि गरिरहन्छ । तर, पर्याप्त तयारी र पूर्वसूचना प्रवाहमा ध्यान नदिँदा ठुलो विपद् भोग्नुपरेका प्रशस्त उदाहरणहरू हामीसँग छन् । गत वर्ष चाडपर्वको मुखमा अविरल वर्षापछि बाढीपहिरोको विपद् भोग्नुपर्‍यो । 

गत असोज ११ र १२ गते वर्षासँगै गएको बाढी र पहिरो बिर्साउने गरी यस वर्ष पनि शुक्रबारदेखि शनिबार बेलुकीसम्म निरन्तर वर्षा भयो । जल तथा मौसम विभागका अनुसार अझै भोलि अर्थात् सोमबारसम्मै निरन्तर वर्षा हुने प्रक्षेपण गरिएको छ । 

शुक्रबारदेखि शनिबार बेलुकीसम्म निरन्तर परेको वर्षाका कारण देशभरका मुख्य राजमार्गहरू बाढी र पहिरोका कारण अवरुद्ध बने । इलाम तथा पूर्वपहाडी जिल्लाहरूमा पहिरोमा परेर धेरै मानिसले ज्यान गुमाएका छन् ।

बाढीपहिरोको जोखिमका कारण दसैँ मनाएर काठमाडौँ फर्किने यात्रुहरू सडक अवरुद्ध हुँदा बिच बाटोमा बस्न बाध्य भएका छन् । केही सडक मार्गहरू सुचारु गर्ने गरी सरकारले अवरुद्ध सडक पन्छाउने कार्य निरन्तर गरिरहेको छ ।

यसरी गत वर्षको असोजमा नै आएको बाढीपहिरोले पुर्‍याएको क्षतिको पुनर्निर्माण गर्न नपाउँदै अर्को मौसमी विपद्को सामना नेपालले गर्नुपरेको छ । 

गत वर्षको बाढीपहिरोबाट क्षति भएका सडक अझै साविककै अवस्थामा आउन सकेका छैनन् । तर, यो वर्षको अविरल वर्षाले पनि विपद् निम्त्याउँदा केही क्षति पुर्‍याएको छ । भर्खरै मात्र नेपाल जेनजी आन्दोलनबाट सरकारी र निजी सम्पत्ति खरानी भएको छ । आन्दोलनको सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ ।

आन्दोलनबाट भएको क्षतिको अनुमान गर्न नपाउँदै सरकारले मौसमी विपद्को सामना गर्नुपर्‍यो । 

तर, विगतमा दुई तिहाइको निर्वाचित सरकार हुँदा पनि यस्ता विपद् आए । विपद्लाई सरकारले सामान्य रूपमा लियो, धेरै धनजनको क्षति पुग्यो । तर यसपटक विगतको विपद्पूर्वको जस्तो मनसुनी प्रणाली र त्यसपछि आउने जोखिमबारे नागरिक सूचनाविहीन हुने अवस्था रहन सरकारले दिएन । 

वर्तमान कार्की नेतृत्वको सरकारले यसपटक प्रभावकारी रूपमा विपद् सम्बन्धी सूचना प्रवाह प्रणाली सक्रिय बनायो । जल तथा मौसम विभागले असोज १७ गतेदेखि २० गतेसम्म भारी वर्षा हुने प्रक्षेपण गरेको थियो ।
उक्त प्रक्षेपणसँगै विभागले हरेक नागरिकलाई एसएमसमार्फत तीन दिन भारी वर्षा हुने र बाढी तथा डुबान हुने क्षेत्रहरूमा अति उच्च सतर्कता अपनाउन आग्रह गरेको थियो । योसँगै सरकारका हरेक निकाय यो पटक सूचना प्रवाहमा सक्रिय र चनाखो देखिए । 

सरकारले दसैँ मनाउन गाउँ गएकाहरू सहर फर्किन नपाउँदै सुरक्षित रहन, अनावश्यक यात्रा नगर्न र आवश्यक नभए घरै बस्न भन्दै सुरक्षा खतराबारे सूचित गरायो । मौसम विभागको सूचना अनुसार सरकारका सबै निकायहरूले विभिन्न माध्यमबाट दसैँ लागेसँगै असोज १७ गतेदेखि असोज २० गतेसम्म लामो दूरीको यात्रा नगर्न सूचना नै जारी गरेको थियो । 

त्यति मात्रै नभएर सरकारले तराई क्षेत्रमा अन्नबाली सुरक्षाका लागि समेत पाकेको बाली नकाट्न र काटेको भए तत्काल उठाएर सुरक्षित गर्न आग्रह गर्दै सूचना प्रवाह गरेको थियो । 

मौसम विभाग र मौसमविद्हरूले तीन दिन ठुलो पानी पर्ने अनुमान गरे । वर्तमान सरकारले त्यहीअनुरूप जनताको सुरक्षाका लागि भन्दै विपद्पूर्व अनुमान भएसँगै लामो दूरीका राजमार्गमा रातको समयमा यात्रामा रोक लगायो । त्यसले पनि हुने सम्भावित जोखिमलाई न्यूनीकरण गर्न मद्दत पुर्‍याएको छ । 

सूचना प्रवाह केन्द्रदेखि स्थानीय सरकारसम्म एकरूपता

सरकारले विपद्को पूर्वसूचना केन्द्रदेखि स्थानीय सरकारसम्म एकरूपताका साथ प्रवाह गरेको थियो । प्रधानमन्त्री कार्यालयदेखि स्थानीय तहसम्मले एउटै प्रकारको सूचना प्रवाह गरियो । मोबाइलमा फोन गर्दा पनि बाढी/पहिरोको सूचना बजाइयो । 

त्यसमा मिडियाहरूले पनि विगतका विपद्को अनुभवलाई आत्मसात् गर्दै यो वर्षको पूर्वानुमानलाई प्रमुख प्राथमिकतामा राखेर निरन्तर रूपमा अपडेट दिइरहेका छन् । त्यति मात्रै होइन, मिडियाले सचेत र सुरक्षित रहन पलपलमा अपडेट गराए ।

सरकारले स्थानीय तहसम्मलाई निरन्तर वर्षापछि आउने विपद्बाट हुने क्षति न्यूनीकरणका लागि तयारी अवस्थामा रहन निर्देशन दियो । त्यसले पनि सबैलाई सचेत र सावधानी अपनाउन ग्रामीण तहसम्म सूचना प्रवाह मजबूत भएको देखिन्छ । 

यो वर्षको मौसमी विपद्मा सरकारले सूचना प्रवाह र विपद् व्यवस्थापनमा देखाएको चनाखोपन र सक्रियतालाई आम सर्वसाधारणले समेत प्रशंसा गरिरहेका छन् । 

सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यो पटक सरकार भएको अनुभूति भएको भन्दै सामाजिक सञ्जालमा सरकारलाई धन्यवाद दिइरहेका छन् । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले सरकारको चनाखोपन र सक्रियताले विपद् रोक्न नसके पनि नागरिकसम्म सहज रूपमा सूचना प्रवाह गर्दा जनधनको क्षति हुनबाट रोकिन मद्दत पुग्ने बताइरहेका छन् । 

प्रधानमन्त्रीदेखि दुई मन्त्रीको निरन्तर सन्देश

शुक्रबारदेखि निरन्तर पानी परेसँगै सरकारले शनिबार काठमाडौँ उपत्यका र बाहिर जिल्लाबाट काठमाडौं आगमनलाई रोक लगाउने काम गर्‍यो । आधा बाटोमा आइपुगेका सवारी साधनहरूलाई सुरक्षित स्थानमा होल्ड गराउने काम तत्काल स्थानीय प्रशासन मार्फत गराउन सफल भयो । काठमाडौँ उपत्यकाबाट बाहिर जिल्ला हिँडेका सवारी साधनलाई नाकामा रोक्यो । 

शनिबार ‘जो जहाँ हुनुहुन्छ, त्यहीँ बस्नुस् । सडक अवरुद्ध छन् । बाढीपहिरोको जोखिम छ । सडकमा प्रहरी पुग्न सक्ने अवस्था छैन’ भन्दै प्रहरी मार्फत सूचना प्रवाह गरियो । त्यसले पनि थप जोखिम न्यूनीकरणमा मद्दत गर्‍यो । यात्रामा निस्केका यात्रुहरू गन्तव्यमा पुग्न नपाउनु एउटा पक्ष थियो तर सुरक्षाका हिसाबले सरकारले गरेको निर्णय स्वागतयोग्य थियो ।

त्यसपछि मुख्य र जोखिमयुक्त सडक पर्ने जिल्ला प्रशासन कार्यालयले तीन दिनसम्मका लागि यातायात बन्द गर्ने निर्णय गर्‍यो । त्यसपछि सरकारका भौतिक पूर्वाधार तथा यातायात, शहरी विकास तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले सुरक्षा निकाय, विपद् प्राधिकरण र जल तथा मौसम विभागलाई सँगै राखेर मौसम–सम्बन्धी थप जानकारी दिए । 

उनले उक्त मौसम–सम्बन्धी जानकारी लिँदै देशैभरका सुरक्षा निकाय र सम्बन्धित सरोकारवालाहरूलाई विपद् जोखिम न्यूनीकरणमा जुट्न आग्रह गरे । उनले आम नागरिकलाई यात्रा नगर्न र सुरक्षित स्थानमा रहन आग्रह गरे । 

त्यति मात्रै नभई सबै कार्यालय प्रमुखहरूलाई आइतबारसम्म कार्यालयहरूमा हाजिर हुन सर्कुलर जारी गरियो । त्यति मात्रै नभएर सरकारले क्षति कम गर्नकै लागि आइतबार र सोमबार दुई दिनका लागि सार्वजनिक बिदासमेत घोषणा गरेको छ । 

त्यसपछि गृहमन्त्री ओमप्रकाश अर्यालले दिनभरका विवरणका विषयमा पत्रकार सम्मेलनमार्फत जानकारी दिए । उनले दिनभर सरकारले गरेका प्रयास र अविरल वर्षाको कारण सडकमा पुर्‍याएको क्षति, डुबान लगायत विषयमा जानकारी दिए । सरकार जोखिम न्यूनीकरण गर्न तयार रहेको सन्देश दिए । 

गत वर्षको यस्तै खालको विपद्मा सरकार बाढीले मान्छे बगाउँदा समेत सक्रिय बन्न सकेको थिएन । डुबान र बाढीले काठमाडौँ उपत्यकामा धेरै मानिसको ज्यान गएको थियो । प्रधानमन्त्री विदेशमा र कार्यवाहक प्रधानमन्त्री खादा माला लगाउन सामान्य क्लबको कार्यक्रममा व्यस्त हुँदा ठुलो क्षति व्यहोर्नुपरेको थियो । 

तर, यो वर्षको अविरल वर्षामा विपद्बारे पूर्वसूचना प्रवाहमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय नै निरन्तर जुट्यो । आफैँ नागरिकलाई अपिल गर्नेदेखि लिएर राज्यका अन्य संयन्त्रलाई प्रभावकारी परिचालनामा जुट्यो ।

प्रधानमन्त्री कार्कीले शनिबार साँझ भिडिओ सन्देश नै जारी गरिन् । सन्देशमार्फत विपद्बाट सावधानी अपनाउन र उद्धार राहतमा सक्रिय हुन सरकारी निकायहरूलाई निर्देशन दिइन् । 

उनले नागरिकको सुरक्षाका लागि सरकार रहेको भन्दै आम नागरिक सचेत रहन आग्रह समेत गरिन् । प्रधानमन्त्रीले नै सावधानी अपनाउन र उद्धार राहतमा सक्रिय हुन सरकारी निकायहरूलाई दिएको निर्देशनले आम नागरिकमा जनताका लागि सरकार भएको अनुभूति गरायो ।

फिल्डमा सरकार

सरकारले स्थानीय सरकार र प्रशासनलाई चलायमान बनाएर विपद्मा परिचालन गर्न पनि सफल भएको छ । 

दसैँको बिदा सकिएर गाउँघर गएकाहरू सहर फर्किने बेलामा सरकारले विपद् आउने भएसँगै नागरिकलाई जहाँ रहेको हो त्यहीँ बस्न आग्रह गर्ने काम गर्‍यो । नत्र दसैँमा घर जाँदाको सवारी चाप आउँदा पनि त्यस्तै हुन्थ्यो । 

सडक दुर्घटना र पहिरोको जोखिम अझ बढी हुने थियो । तर, सरकारको सक्रियताले गाउँका मानिसलाई गाउँमा र सहरकालाई सहरमै रोक्ने प्रयास गर्‍यो, त्यसले जोखिमलाई थप कम गराउने काम गर्‍यो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले काठमाडौं उपत्यकाभित्र सवारी साधन भित्रिन र बाहिरिन तीन दिन रोक नै लगाएको छ । लामो दूरीमा यात्रामा निस्केका यात्रुका लागि स्थानीय जिल्ला प्रशासन कार्यालयहरूले होल्डिङ स्थान तय गरेर यात्रामा रहेका सवारीलाई सुरक्षित स्थानमा राख्ने काम गर्‍यो । 

सरकारले पूर्व नेपालबाट बीपी राजमार्ग हुँदै आउने सवारी साधनलाई नेपालथोक र काठमाडौँबाट गएका सवारी साधनलाई काभ्रेभन्ज्याङमा होल्ड गराएको थियो । त्यस्तै, चितवनबाट काठमाडौँ आउन लागेका सवारी उतै होल्ड गरिएका थिए । 

होल्ड गरिएका सवारी साधनमा आएका र सडक अवरुद्ध हुँदा राजमार्गमा अलपत्र परेका यात्रुलाई बस्ने व्यवस्था र खानेकुरा उपलब्ध गराउन स्थानीय प्रशासन र स्थानीय तहलाई गृह मन्त्रालयले निर्देशन दियो । अविरल परेको वर्षाले बाहिर जिल्लामा मात्रै नभई काठमाडौँ उपत्यकामा समेत ठुलो जोखिम थियो । त्यो जोखिम न्यूनीकरणका लागि समेत सरकारले टोली बनाएर फिल्डमा खटाउने काम गर्‍यो । खोला किनाराका सडकमा प्रहरीले माइकिङ गर्दै सुरक्षित स्थानमा बस्न आम नागरिकलाई आग्रह गरिएको थियो । 

बागमती खोला करिडोरका जोखिमयुक्त बस्तीहरूमा काठमाडौँ महानगरपालिका, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र राज्यका अन्य विपद्–सम्बन्धित निकायहरू फिल्डमा खटिए । काठमाडौँ महानगरपालिकाले जोखिममा रहेका बस्तीलाई सुरक्षित विद्यालयहरूमा सार्ने काम गर्‍यो । सरकारले २६ वटा विपद् प्रतिकार्य बेस, ९ वटा विपद् प्रतिकार्य बेस बनाएर काम गरिरहेको छ । 

ऊर्जा मन्त्री कुलमान घिसिङ आफैँ उपत्यकाका विभिन्न स्थानमा पुगेर निरीक्षणसमेत गरे ।

आइतबार बिहान नै विपद् व्यवस्थापन प्राधिकरणले देशभरमा बाढीपहिरोले पारेको असरका विषयमा जानकारी दिइसकेको छ । त्यस्तै, अन्य बाढीले देशका मुख्य सडक पूर्वाधारमा पुर्‍याएको क्षतिका विषयमा भौतिक पूर्वाधार मन्त्री घिसिङले पत्रकार सम्मेलनमार्फत जानकारी दिएका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अनिष मिजार
अनिष मिजार
लेखकबाट थप