जनताले साथ दिए परम्परागत राजा ल्याउन सकिन्छ : सिपी मैनाली
सारांश
- नेकपा (माले)का महासचिव चन्द्रप्रकाश मैनालीले राजसंस्था र प्रजातान्त्रिक शक्ति मिले देश बच्ने बताए।
- उनले वीपीको विचार अहिले पनि सान्दर्भिक रहेको र राजनीतिक दलहरूले नै देशलाई यो अवस्थामा पुर्याएको बताए।
- मैनालीले भारतबारे टिप्पणी गर्दै नेपाललाई कमजोर बनाउन खोजेको आरोप लगाए, र देश जोगाउन संविधान र व्यवस्था आवश्यक रहेको बताए।
काठमाडौँ । नेकपा (माले)का महासचिव चन्द्रप्रकाश (सिपी) मैनालीले राजसंस्था र प्रजातान्त्रिक शक्तिहरू मिलेर गए मात्रै देश बच्न सक्ने बताएका छन् । वीपी कांग्रेसले काठमाडौँमा आयोजना गरेको चियापान तथा छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले बङ्गलादेश र सिक्किमको घटनापछि राजसंस्था र जनसत्ता मिल्नुपर्छ भन्ने २०३३ सालको वीपीको बुझाइ अहिले पनि ज्वलन्त रहेको बताए ।
२०६३ साल वैशाख १० गते उच्च डेमोक्रेसीसहित राजसंस्था रहने सहमति गरिए पनि विदेशीहरूको दबाबले गर्दा संविधानसभाद्वारा नै राजसंस्था हटाइएको बताए । देशलाई यो ठाउँमा ल्याउने काम राजनीतिक दलहरू नै गरेको भन्दै शान्ति क्षेत्रको प्रस्तावलाई पनि राजनीतिक दलहरूले नै खारेज गरेको बताए । राजनीतिक दलहरूले नै खुकुलो नागरिकताको नीति लिएको बताए ।
उनले भने, ‘अहिले जुन उहाँले विचार राख्नुभयो, अब बङ्गलादेश र सिक्किमको घटनापछि राजसंस्था र जनसत्ता मिल्नुपर्छ, प्रजातान्त्रिक शक्तिहरू मिलेर गए मात्रै देश बच्नसक्छ नत्र बच्न सक्दैन भन्ने विपीको सोचाई अहिले आएर ज्वलन्त बनेको छ । जाज्वल्यमान बनेको छ । ’
उनले थप भने– ‘वीपीको २०३३ सालका विचारहरू राम्रा छन् । ९० वर्षको राजनीतिक दलको अनुभवले साँचो कुरा के रहेछ भन्ने कुरा देखिएको छ । २०६३ साल वैशाख १० गते उच्च डेमोक्रेसीसहित राजसंस्था रहने सहमति गरियो । तर पछि विदेशीहरूको दबाबले गर्दा संविधान सभाद्वारा नै २०६५ सालको जेठ १५ गते राजसंस्था हटाइयो । देशलाई यो ठाउँमा ल्याउने हामी राजनीतिक दलहरू नै हौँ । शान्ति क्षेत्रको प्रस्तावलाई हामी दलहरूले नै हो खारेज गरेको । हामी राजनीतिक दलहरूले नै हो खुकुलो नागरिकताको नीति लिएको ।’
महासचिव मैनालीले भारत नेपालका लागि धेरै अफ्ठयारो छिमेकी भएको टिप्पणी समेत गरे । भारतले कहिल्यै पनि नेपाल स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न मुलुक हो भनेर नमानेको जिकिर गरे ।
भारतले नेपालका लागि सहयोगको कुरा गरे पनि कसरी नेपाल गरिब हुन्छ ? कसरी हाम्रो निर्भर बनाउने ? हामीमाथि भरोसा गर्ने बनाउने, कसरी कठपुतली जसरी नचाउने ? भन्नेबारेमा सोच्ने गरेको बताए । भारतले नेपाललाई आफ्नो क्षेत्र भनेर व्यवहार गरिरहेको समेत बताए । यसबेलामा देशका शक्तिहरू सबै मिल्नुपर्ने बताए ।
उनले भने, ‘हाम्रो दक्षिणको छिमेकी धेरै अप्ठ्यारो छिमेकी पर्यो । हामी ताक्छौँ मुढो, छिमेकी ताक्छ हाम्रो घुँडो । त्यो छिमेकीले कहिल्यै पनि नेपाल स्वतन्त्र मुलुक भनेर मान्दैन । सार्वभौम भनेर त्यसले अहिले पनि मान्दैन । सहयोगको कुरा जहिल्यै गरे पनि कसरी नेपाल गरिब हुन्छ ? कसरी यिनीहरूलाई तन्नम बनाउने ? कसरी हाम्रो निर्भर बनाउने ? हामीमाथि भरोसा गर्ने बनाउने, कसरी कठपुतली जसरी नचाउने ? यस्तो अप्ठ्यारो पार्दछ ।’
महासचिव मैनालीले विगतका राम्रा सिद्धान्तहरू पुनः लागू गर्नुपर्ने जरुरी रहेको समेत बताए । उनले भारतले नेपाललाई निल्न सक्ने जिकिर समेत गरे । देशलाई जोगाउने संविधान र व्यवस्था नल्याइकन नेपाललाई बचाउन नसकिने उनले बताए । मैनालीले अब परम्परागत राजाको आवश्यकता भइसकेको समेत बताए । –न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण