‘यसलाई पा गर’ भनेर हामीले छोराछोरीलाई कतै बदलाभाव त सिकाइरहेका छैनौँ ?
साना छोराछोरी कतै ठोक्किएर वा लडेर रोएको बेला ठोक्किएको वस्तु वा ठाउँलाई गाली गरेजस्तो वा पिटेजस्तो गरेर छोराछोरीलाई फुल्याउने प्रयास हामी अधिकांशले गर्छौं, मैले पनि धेरैपटक गरेकी छु । यति मात्र होइन, ती अबोध शिशुलाई नै ‘यसलाई पा गर’ भनेर समेत मैले पिट्न लगाएकी छु । अहिले सम्झिँदा आफैँलाई ग्लानि हुन्छ कि मैले किन ती कलिला हातलाई पिटेर बदला लिनेजस्तो तल्लो स्तरको कर्म गर्न लगाएँ !
त्यति मात्र होइन, बच्चा रोएपछि ‘तिमीलाई कसले गाली गर्यो, कसले पिट्यो ?’ भन्दै ऊ रुनुको कारण अरू कुनै व्यक्ति वा वस्तु हो भन्ने आभास दिलाउन खोज्थेँ । अहिले बुझेकी छु, मेरा छोराछोरी कुनै सामानमा ठोक्किनु, लड्नुमा त्यो ठाउँ र वस्तुको दोष थिएन, त्यो त मात्र उनीहरूको सिकाइको एक प्रक्रिया थियो । मैले उनीहरूलाई अरू तरिकाबाट पनि फुल्याउन सक्थेँ तर मैले त्यही गरेँ, जुन मैले आफ्नो परिवार र समाजमा अग्रजहरूले गरेको देखेँ ।
साना बालबालिकाको क्षेत्रमा काम गर्दागर्दै अहिले मलाई थाहा भयो कि हामीले गरेका यस्ता क्रियाकलापले त बालबालिकामा आफ्ना कमजोरीको दोष अरूलाई दिने बानी बस्दो रहेछ । उमेर अनुसार बालबालिका हुर्किंदै जाँदा आफ्ना गल्ती–कमजोरी स्विकार्न नसक्ने बानी बस्छ, जसको कारण आफूलाई सुधार्न गाह्रो हुन्छ । हेर्दा र सुन्दा सामान्य लाग्ने तर दीर्घकालमा नकारात्मक असर पुग्ने यस्ता क्रियाकलाप अझै पनि हाम्रो समाजमा विद्यमान छन् ।
टोल तथा छिमेक वा विद्यालयमा बालबालिकाहरू खेल्दाखेल्दै झगडा गर्न थाल्छन् । सँगै खेल्नु, बिचबिचमा झगडा पर्नु, ठुस्किनु, केही नभएजस्तो तत्कालै फेरि मिलेर खेल्नु— बालबालिकाका रमाइला पक्ष हुन् । बालबालिका लामो समयसम्म कोहीसँग रिसाएर बस्दैनन् किनभने उनीहरूमा अहङ्कार हुँदैन र क्षमा दिन सक्ने क्षमता भरपूर हुन्छ तर हामी मातापिता आफ्नो सन्तानको गल्ती देख्दैनौँ । गल्ती पक्का पनि अर्को बच्चाको होला, मेरो बच्चा त ज्ञानी छ भन्ने सोच्छौँ । न हामी आफ्नो बच्चाको गल्ती स्विकार्छौं न त उसलाई नै आफ्नो गल्ती स्विकार्न सिकाउँछौँ ।
यति मात्र होइन, अधिकांश अभिभावकमा जित्न सिकाउने प्रवृत्ति हाबी छ । पढाइलेखाइ, खेलाइका साथै अन्य क्रियाकलापमा अरूलाई जितेर आफ्नो सन्तान पहिलो होस् भन्ने चाहन्छौँ हामी । आफन्त वा नातेदारमा उस्तै उमेर समूहका केटाकेटीमा एक–अर्काको क्षमता र सीपका आधारमा तुलना गरेर आफ्ना सन्तानलाई अनावश्यक दबाब दिन्छौँ हामी ।
बच्चा रोएपछि ‘तिमीलाई कसले गाली गर्यो, कसले पिट्यो ?’ भन्दै ऊ रुनुको कारण अरू कुनै व्यक्ति वा वस्तु हो भन्ने आभास दिलाउन खोज्थेँ । अहिले बुझेकी छु, मेरा छोराछोरी कुनै सामानमा ठोक्किनु, लड्नुमा त्यो ठाउँ र वस्तुको दोष थिएन, त्यो त मात्र उनीहरूको सिकाइको एक प्रक्रिया थियो । मैले उनीहरूलाई अरू तरिकाबाट पनि फुल्याउन सक्थेँ तर मैले त्यही गरेँ, जुन मैले आफ्नो परिवार र समाजमा अग्रजहरूले गरेको देखेँ ।
आफ्ना सन्तान चार–पाँच वर्षको हुँदा अक्षर र अङ्क कसले राम्रो लेख्ने भनी अर्कोसँग तुलना गर्छौं । अलि ठुलो भएपछि विषयगत पढाइमा चासो र तुलना, त्यसपछि जागिर र व्यवसायबिच तुलना— यस्ता किसिमका तुलना र प्रतिस्पर्धाले जीवनमा नैतिकता हराउँदै गएको छ र शिक्षाको मूल उद्देश्य छायामा परेको छ । ज्ञानी व्यक्तिहरूको भनाइ छ, ‘शिक्षाको मूल उद्देश्य मनको शुद्धता बढाउनु हो; सुख, शान्ति र समृद्धिले भरिपूर्ण जीवन जिउन सिकाउनु हो ।’ हामी आफू पनि अस्वस्थ प्रतिस्पर्धा र अनावश्यक तुलनाले अशान्त र दुःखी जीवन बाँचिरहेका छौँ र आफ्ना सन्तानलाई पनि त्यही शिक्षा दिइरहेका छौँ ।
अहिले जेन–जी आन्दोलनमा कैयौँ कलिला युवाले कहालीलाग्दो वातावरणमा ज्यान गुमाएको र कैयौँ घाइते भएको हामीले प्रत्यक्ष रूपमा देख्यौँ, यो अत्यन्त दुःखद घटनाको प्रत्यक्षदर्शी बन्यौँ । बाहिरबाट हेर्दा यो घटनामा दुई–चारजना मुख्य मान्छेको दोष देख्यौँ, एकअर्कालाई दोषारोपण गर्यौँ तर यसमा हामी सबै जिम्मेवार छौँ । आफूलाई फाइदा हुने परिस्थिति आयो भने हामी गलत कामलाई पनि गलत भन्न नसक्दैनौँ । आफन्तले गलत गर्दा गलत भन्न नसक्ने, आफ्नो पार्टीका व्यक्तिले गलत गर्दा गलत भन्न नसक्ने, भनसुनले लागेसम्म आफूले पनि गलतबाट फाइदा लिइहाल्ने हामी अधिकांशको प्रवृत्ति छ ।
अरूलाई मात्र दोष दिएर आफू पन्छिने छुट हामी कसैलाई पनि छैन । हामी अधिकांशले जीवनमा सिक्नुपर्ने महत्त्वपूर्ण कुरा सिकेनौँ, जीवन जिउने कला सिकेनौँ, आफू कसरी खुसी हुने र अरूलाई कसरी खुसी दिने भन्ने कला सिकेनौँ, आफूभित्र हेर्ने कला सिकेनौँ भन्ने लाग्छ । हाम्रो बोली र व्यवहारले यस्तै संकेत गर्छन् ।
हामी अधिकांशले गौतम बुद्ध र राजा जनकलाई नेपालका विभूतिहरूको सूचीमा कण्ठ गरेर मात्र बस्यौँ, गौतम बुद्धले दिएको शान्तिको ज्ञान प्रयोग गरेर आफूभित्रको शान्ति खोज्ने अभ्यास गर्न सिकेनौँ । राजा जनकको आत्मज्ञानका बारेमा त झन् हामी अधिकांशले केही बुझेकै छैनौँ भन्ने लाग्छ । परिवार र विद्यालयबाट क्षमाभाव र सेवाभावको विकास गर्ने कला हामी अधिकांशले सिकेनौँ । समाज र राष्ट्रप्रति वफादार रहेर उत्तरदायित्व पूरा गर्नुपर्छ भन्ने ज्ञान सिकेनौँ । सद्भाव र सकारात्मक कर्मबाट आफूलाई उत्कृष्ट बनाउन हाम्रा ऋषिमुनिले दिएको अमूल्य ज्ञान सिक्न नसक्दा र नसिकाउँदा राजनीति ठगी गर्ने थलो बन्यो ।
राष्ट्रसेवक भनिएका उच्च ओहोदा सम्हालेका व्यक्तिले पनि आफ्नो धर्म बिर्सिए । देशको मुख्य बागडोर सम्हालेका व्यक्तिले नै आफ्नो कर्तव्य र धर्म बिर्सिएर बाटो बिराएपछि देश कसरी शान्त हुन्छ, देशमा कसरी समृद्धि आउँछ ? नागरिक खुसी र समृद्ध कसरी हुन्छन् ? एकअर्काको देखासिकी र तुलना, नकारात्मक प्रतिस्पर्धा नै हामीकहाँ हाबी भइरहेको देखिन्छ । राष्ट्रको कुनै पनि कर्मचारी अथवा व्यवसायीले कुन रूपमा आम्दानी गरिरहेका छन् भन्दा पनि कति आम्दानी गरेका छन् भन्ने कुरालाई महत्त्व दिनु हामी सबै आम नागरिकको कमजोरी हो ।
हाम्रो पुस्ताले समाज र देशका लागि गर्नुपर्ने कर्तव्य के थियो, के कति पूरा भयो, कति बाँकी छ र हामीले गरेका गल्तीले देशमा कति डरलाग्दो परिस्थिति सिर्जना गर्यो ? यिनको मूल्याङ्कन गर्दै हरेक व्यक्तिले आफू शान्त र खुसी रहेर कर्म गर्ने कला सिकेर अबको पुस्तालाई हस्तान्तरण गर्न सक्नुपर्छ ।
गौतम बुद्धले भन्नुभएको छ, ‘शिक्षाको उद्देश्य केवल ज्ञान दिनु होइन, बुद्धिलाई जागृत गराउनु हो ।’ सूचना सङ्कलन, जानकारी र सीपलाई मात्र ज्ञान मानेर बस्ने हामी अधिकांशको सतही बुझाइलाई परिवर्तन गर्नुपर्छ । समाजमा जीवित रहन सक्ने र आफ्ना लागि प्रशस्त धन कमाउन सक्ने व्यक्ति निर्माण गर्नु मात्र मातापिताको जिम्मेवारी होइन, समाजलाई सकारात्मक रूपमा बदल्न सक्ने योग्यता भएको व्यक्ति निर्माण गर्न सक्नु हरेक अभिभावकको जिम्मेवारी हो । हाम्रो पुस्ताले आफूलाई कति परिवर्तन गर्न सक्छ भन्ने थाहा छैन तर अब आफ्ना सन्तानलाई विद्यालयले सिकाउने विषयगत शिक्षाका साथसाथै शान्त रहने, खुसी भएर कर्म गर्ने, हरेक सम्बन्धहरू सुमधुर बनाउने, वाणीमा मधुरता ल्याउने, आफ्नो साहस बढाउने, क्षमा भाव र सेवा भावको विकास गराउने, पारिवारिक, पेसागत र व्यावसायिक जीवनमा आउने उतारचढावको सामना गर्ने, सबैलाई सम्मान गर्ने र प्रेम गर्ने मानवीय गुण सिकाउन सक्यौँ भने स्वर्णयुग सुरु हुन समय लाग्दैन । यसका लागि हरेक दिन योग, प्राणायाम र ध्यान अपरिहार्य छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण