राष्ट्रवाद, राजनीतिक रणनीति र नयाँ पुस्ताको चेतावनी
नेपाल हाल राजनीतिक, सामाजिक र कूटनीतिक रूपान्तरणको संवेदनशील मोडमा उभिएको छ । पुरानो पुस्ताले निर्माण गरेको राजनीतिक संरचनाले जनताको विश्वास गुमाउँदै गएको छ भने नयाँ पुस्ताले स्पष्ट दृष्टि, जवाफदेहिता र परिणाम खोजिरहेको छ । यस्तै समयमा राष्ट्रवाद फेरि पुरानै राजनीतिक रणनीतिका रूपमा अगाडि ल्याइँदै छ तर यसले कस्तो असर पार्ला भन्ने प्रश्न र आशंका गहिरिँदै गएको छ ।
राजनीतिक अस्थिरता, भ्रष्टाचार, बेरोजगारी र युवा पुस्ताको निराशाबिच राष्ट्रवादलाई भावनात्मक हतियारका रूपमा प्रयोग गर्नु अब सजिलो छैन । भारत र चीनबिच अवस्थित एउटा सानो देश हो नेपाल तर यसको ऐतिहासिक भूमिकाले सधैँ एउटा फरक पहिचान बनाएको छ । नेपाल न युद्धको मैदान थियो, न त कुनै शक्तिको उपनिवेश । बरु नेपाल सधैँ संस्कृति, व्यापार र मित्रताको सेतु बनेर चिनिन्थ्यो । सातौँ शताब्दीमा लिच्छवि राजकुमारी भृकुटीले तिब्बती राजा स्रङचङ गम्पोसँग विवाह गरिन्, जसले नेपाल–तिब्बतबिच गहिरो सांस्कृतिक सम्बन्ध बनायो ।
नेपाल–भारत सम्बन्ध अझ पुरानो छ । राम–सीता विवाह, जनकपुर–अयोध्या सम्बन्ध, धार्मिक यात्राका मार्गहरू, व्यापार र सामाजिक नाताले दुई देशका जनतालाई गहिरो रूपमा जोडेका छन् । २०औँ शताब्दीमा नेपालले विश्वसँग पनि सम्बन्ध विस्तार गर्यो— युरोपेली धर्मगुरु, अमेरिकी पिस कप्र्स, सोभियत छात्रवृत्ति र जापानी सहयोगले नेपाललाई विश्वसँग जोड्यो । राजा महेन्द्रले यस सभ्यतागत सम्बन्धलाई नेपालको वास्तविक शक्ति ठाने । उनले संयुक्त राष्ट्रसङ्घमा भने, ‘नेपाल न पूर्वी गुटमा छ, न त पश्चिमी गुटमा । हामी नेपाली गुटमा छौँ ।’ यो दृष्टिकोण केवल कूटनीति होइन, राष्ट्रवाद र विदेश नीतिबिच सन्तुलन मिलाएर स्वतन्त्रता र पहिचान जोगाउने रणनीति थियो ।
नेपालमा राजनीतिक दलहरूले लामो समयदेखि राष्ट्रवादका संवेदनशील विषयलाई जनसमर्थन र सङ्गठन विस्तारका लागि प्रयोग गर्दै आएका छन् । यो प्रयोग देशको दीर्घकालीन कूटनीतिक हितका लागि होइन; भावनात्मक राष्ट्रवादी भावना जगाएर कार्यकर्ता परिचालन र समर्थनको आधार मजबुत बनाउनका लागि थियो । विदेशसँग सम्बन्धित विवाद चाहे त्यो भारतसँग सिमानाको कुरा होस्, चीनसँग व्यापार वा अमेरिका र युरोपसँगका विकास सम्झौताका विषय हुन्, दलहरूले यी मुद्दालाई भावनात्मक बनाइदिन्छन् । जनतालाई ‘देशमाथि खतरा छ’ भन्ने भावना दिनु, जनआन्दोलन वा चुनावी प्रचारमा राष्ट्रवादी नारा उचाल्नु, अनि युवालाई पार्टीमा तान्नु— यी सबै राजनीतिक अभ्यासका नियमित भाग बने तर यी रणनीतिको उद्देश्य वास्तविक समाधान थिएन ।
सिमाना समस्या, अन्तर्राष्ट्रिय सम्झौता वा विकास साझेदारीका मुद्दा उठाउँदा दलहरूले कूटनीतिक तयारी वा दीर्घकालीन दृष्टि बनाउनेभन्दा बढी पार्टीभित्र कार्यकर्ता बढाउने, जनमत आफ्नो पक्षमा तान्ने र विपक्षीमाथि राष्ट्रविरोधीको आरोप लगाउने काम गरे ।
कालापानी–लिपुलेक नक्सा विवाद, एमसीसी सम्झौता, बीआरआईजस्ता मुद्दामा दलहरूले जनभावनालाई तातो बनाए तर वार्ताको तयारी, तथ्यपरक नीतिगत काम वा साझा राष्ट्रिय दृष्टिकोणको विकास भने लगभग भएन । यसरी राष्ट्रवादलाई राजनीतिक प्रतिस्पर्धा र सङ्गठन विस्तारको छोटो बाटो बनाइयो तर अहिले यो रणनीति उल्टो पर्न थालेको छ । नयाँ पुस्ता अब भावनात्मक नाराले सजिलै प्रभावित हुँदैन । उनीहरू सामाजिक सञ्जाल, अन्तर्राष्ट्रिय समाचार, तथ्य र तर्कबाट जानकारी लिन्छन् ।
यस्ता आन्दोलनलाई विदेशी प्रभावको कथा बनाई कमजोर पार्ने प्रयासले युवा पुस्तामा अझ गहिरो असन्तोष जन्माउन सक्छ र राजनीतिक नेतृत्वमाथि जनविश्वास झनै घटाउन सक्छ ।
दलहरूले राष्ट्रवादी मुद्दामा उठाएका विषय जब वार्तामा लैजान्छन्, त्यतिबेला कूटनीतिक तयारी कमजोर देखिन्छ । भारतसँग नक्सा विवादमा आन्तरिक राजनीतिक लाभ त भयो तर दीर्घकालीन समाधानमा प्रगति हुन सकेन । दलहरूको दोहोरो बोली (भित्र एक कुरा, बाहिर अर्को कुरा)ले अन्तर्राष्ट्रिय साझेदारहरूबिच नेपालको विश्वसनीयता घटाइरहेको छ । अब राष्ट्रवादी मुद्दामा राजनीति गरेर मात्र जनसमर्थन टिकाउने पुरानो अभ्यास जनता र कूटनीति दुवैमा असफल हुँदै छ ।
युवा पुस्ताले राष्ट्रवादी नाराभन्दा ठोस नतिजा खोजिरहेका छन् । विन्सटन चर्चिलको चेतावनी आज पनि यथार्थपरक देखिन्छ, ‘जो इतिहासबाट सिक्दैन, ऊ दोहोर्याउन बाध्य हुन्छ ।’ राजनीतिक दलहरूले अतीतको भावनात्मक रणनीति दोहोर्याउने कि नयाँ पुस्ताको अपेक्षा अनुसार व्यावहारिक नीति र स्पष्ट दृष्टि लिने भन्ने निर्णायक मोडमा देश पुगेको छ ।
लोकतान्त्रिक गणतन्त्रमा देशको राजनीतिक जिम्मेवारी अन्ततः दलका शीर्ष नेतामा आउँछ । उनीहरूकै निर्णयले नीतिगत दिशा, जनआस्था र लोकतान्त्रिक संस्कृतिमा गहिरो प्रभाव पार्छ तर पछिल्ला केही घटनाले राजनीतिक नेतृत्वप्रतिको चिन्ता अझ गहिरिएको छ । केही दलका नेताले नयाँ पुस्ताको आन्दोलनमा सहभागी युवालाई धम्की दिएको तथा तिनको पक्षमा रिपोर्टिङ गर्ने मिडियामाथि दबाब दिने प्रयास गरेको खबर सार्वजनिक भएका छन् । यस्तो प्रवृत्तिले लोकतान्त्रिक मूल्य र स्वतन्त्र अभिव्यक्तिको मर्यादालाई कमजोर पार्छ । यस्तो प्रवृत्ति निरन्तर बढ्दै गयो भने देशमा अस्थिर र हानिकारक अवस्था टाढा छैन । दलका कार्यकर्ताको वास्तविक शक्ति अहिले तीव्र रूपमा उभिरहेको पुस्तागत आन्दोलनभन्दा धेरै कमजोर देखिन्छ । राजनीतिक नेतृत्वले यो नयाँ शक्ति सन्तुलनलाई सही तरिकाले बुझेनन् र युवाको आवाजलाई सम्बोधन गर्न असफल भए भने आन्दोलनलाई दबाउने प्रयास उल्टै राजनीतिक सङ्कटमा परिणत हुन सक्छ ।
पछिल्लो राजनीतिक व्यवहारले अझ गम्भीर चिन्ता देखाएको छ । केही राजनीतिक नेताहरू, स्वार्थसम्बद्ध समूहहरू र मिडियाका केही धाराले राष्ट्रवादको भावनालाई राजनीतिक हतियारका रूपमा प्रयोग गर्दै नयाँ पुस्ताको आन्दोलनलाई ‘बाह्य शक्तिद्वारा प्रभावित’ भनेर चित्रण गर्न थालेका छन् । यो रणनीति केवल आन्दोलनको उद्देश्य कमजोर पार्ने होइन, युवा पुस्ताको वैध आवाजलाई बदनाम गर्ने प्रयास हो । यस्ता आरोप प्रायः ठोस प्रमाणबिनै गरिन्छन्, जसको उद्देश्य जनतालाई भ्रमित पार्नु, समर्थन कमजोर बनाउनु र राजनीतिक जिम्मेवारीबाट ध्यान हटाउनु हो । यस्तो राष्ट्रवादी प्रचारले उल्टो असर पार्न सक्छ ।
आजको पुस्तागत आन्दोलन पुराना राजनीतिक शैलीभन्दा फरक छ । यो स्वतन्त्र सूचना, सामाजिक सञ्जाल र नागरिक चेतनाबाट प्रेरित छ । यस्ता आन्दोलनलाई विदेशी प्रभावको कथा बनाई कमजोर पार्ने प्रयासले युवा पुस्तामा अझ गहिरो असन्तोष जन्माउन सक्छ र राजनीतिक नेतृत्वमाथि जनविश्वास झनै घटाउन सक्छ । राजनीतिक दलहरूले यस्तो रणनीति रोक्ने जिम्मेवारी लिएनन् भने यसले आन्दोलनलाई कमजोर होइन, अझ तीव्र र अनियन्त्रित बनाउने खतरा रहन्छ ।
- भविष्यको बाटो
नेपालसँग अझै पनि ठुलो अवसर छ । यसको भौगोलिक स्थिति, सभ्यतागत सम्पदा र सांस्कृतिक विविधताले नेपाललाई भारत–चीनबिचको पुल राष्ट्र बन्ने अद्वितीय मौका दिएको छ ।
सांस्कृतिक दृष्टिले लुम्बिनी र जनकपुर जस्ता स्थानलाई शान्ति र तीर्थ यात्राको विश्व केन्द्र बनाउन सकिन्छ । शैक्षिक दृष्टिले नेपाल बहुराष्ट्रिय अध्ययन र अनुसन्धानका लागि खुला प्लेटफर्म बन्न सक्छ । कूटनीतिक दृष्टिले तटस्थता र विश्वास निर्माणमार्फत नेपाल क्षेत्रीय र विश्व राजनीतिमा एक विश्वसनीय साझेदार बन्न सक्छ । यी सम्भावना केवल दृष्टि र साहसी नेतृत्वबाटै साकार हुन्छ ।
नेल्सन मन्डेलाले भनेका थिए, ‘कार्यविहीन दृष्टि केवल सपना हो; दृष्टिविहीन कार्य समय बिताउने हो; दृष्टि र कार्य सँगै भए विश्व परिवर्तन हुन्छ ।’ नयाँ पुस्ता अब नारा होइन, नतिजा खोजिरहेको छ । उनीहरू स्पष्ट योजना, पारदर्शिता र सहकार्य चाहन्छन् । राजनीतिक नेतृत्वले पुरानै भावनात्मक राष्ट्रवाद दोहोर्याउने कि दीर्घकालीन दृष्टि अपनाउने भन्ने निर्णय यही पुस्ताको आँखा अगाडि छ । नेपालको इतिहासले देखाएको छ, यो देशले आफ्नो अस्तित्व युद्ध होइन, सन्तुलन र मित्रताबाट जोगाएको हो । आज फेरि नेपाल त्यस्तै मोडमा उभिएको छ । एउटा बाटो पुरानै रणनीति र भावनामा अड्किएको छ, अर्को बाटो भविष्यतर्फ उन्मुख दृष्टि, सहकार्य र राष्ट्र निर्माणको हो । समय लामो छैन, भविष्यले पर्खंदैन ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण