एकल महिलाको लोभलाग्दो अर्ग्यानिक तरकारी खेती
सारांश
- टेम्केमैयुङ गाउँपालिका-४ नागीकी मायादेवी राई शिक्षण पेशा छाडेर अर्ग्यानिक तरकारी खेतीमा लागेकी छिन्।
- उनले 'इसुक्षा पशुपन्छी तथा मत्स्यपालन फार्म' दर्ता गरी व्यावसायिक तरकारी खेती गर्दै आएकी छिन्।
- गाउँपालिकाले कृषि र पर्यटनलाई प्राथमिकतामा राखेर नीति तय गरेको छ, किसानलाई व्यावसायिक बनाउन कार्यक्रम सञ्चालन भइरहेको छ।
भोजपुर । टेम्केमैयुङ गाउँपालिका–४ नागीकी एकल महिला मायादेवी राई अहिले गाउँकै प्रेरणादायी किसान बन्न सफल भएकी छिन् । राई शिक्षण पेसा छाडेर चार वर्षअघिदेखि अर्ग्यानिक तरकारी खेतीमा लागेकी हुन् ।
राईले ‘इसुक्षा पशुपन्छी तथा मत्स्यपालन फार्म’ दर्ता गरी व्यावसायिक तरकारी खेती गर्दै आएकी छिन् । उनले बन्दाकोबी, काउली, ब्रोकाउली, टमाटर, भेडेखुर्सानी, एक्वास, प्याजलगायत तरकारी अर्ग्यानिक विधिबाट उत्पादन गर्दै आएकी छिन् । गाउँघरमै पाइने गाईभैँसी, बाख्रा र बङ्गुरको गोबर प्रयोग गरेर बनाइएको प्राङ्गारिक मल प्रयोग गरी पूर्णतया अर्ग्यानिक उत्पादनमा जोड दिएको उनको भनाइ छ ।
“व्यावसायिक रूपमा अर्ग्यानिक तरकारी उत्पादन गर्दै आएकी छु”, उनले भनिन्, “यहाँ उत्पादन भएको तरकारी स्थानीय बजारमा लगेर बिक्री गर्छु । घर खर्च चलाउन समस्या छैन, अब अझै विस्तार गर्ने योजनासहित काम गरिरहेको छु ।”
उनले शिक्षण पेसा छाडेर खेतीमा लागेको कारणबारे बताउँदै भनिन्, “कृषि कर्ममा मेहनत गर्न सके राम्रो आम्दानी गर्न सकिन्छ । तर हामी व्यावसायिक बन्न सक्नुपर्छ । राज्यका तर्फबाट आवश्यक सहयोग र बजार व्यवस्थापन भए अझ धेरै किसानलाई राहत पुग्छ ।”
गाउँपालिका उपाध्यक्ष रमादेवी राईले टेम्केमैयुङमा कृषि र पर्यटनको राम्रो सम्भावना भएकाले गाउँपालिकाले यी दुई क्षेत्रलाई प्राथमिकतामा राखेर नीति तय गरेको बताइन् । “टेम्केमैयुङमा कृषि र पर्यटनको राम्रो सम्भावना छ”, उपाध्यक्ष राईले भनिन्, “किसानलाई व्यावसायिक बनाएर आयआर्जनसँग जोड्न विभिन्न कार्यक्रम सञ्चालन भइरहेको छ ।”
वडा नं ४ का वडाध्यक्ष हर्कराज राईले किसानलाई मौरी पालन, जडीबुटीखेती, सुन्तला र कागती खेतीमा व्यावसायिक बन्न सहयोग गरिएको बताइन् । “हाम्रो वडामा तरकारी खेतीमा लाग्ने किसानको सङ्ख्या बढ्दो छ”, वडाध्यक्ष राईले भने, “नागी क्षेत्र मौरी पालनका लागि पनि उपयुक्त भएकाले मौरीपालक किसानलाई प्रोत्साहनका कार्यक्रम चलाइरहेका छौँ ।”
गाउँपालिका अध्यक्ष सरोज बस्नेतले माटो सुहाउँदो खेती प्रणालीमा जोड दिँदै किसानलाई नगदे बालीतर्फ आकर्षित गर्न कार्यक्रम अघि बढाइएको जानकारी दिए । टेम्केमैयुङमा धेरै उर्वर भूमि भएकाले किसानलाई व्यावसायिक योजनाका आधारमा प्रोत्साहनका कार्यक्रम सञ्चालन भइरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण