शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

कांग्रेस केन्द्रीय समितिको मुख्य एजेण्डा तीन वटा हुने

शुक्रबार, २४ असोज २०८२, २० : ००
शुक्रबार, २४ असोज २०८२

सारांश

  • नेपाली कांग्रेसले असोज २६ गते केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ।
  • बैठकमा पार्टी अधिवेशन, निर्वाचन र जेनजी आन्दोलनबारे छलफल हुनेछ।
  • अधिकांश नेताहरूले वर्तमान कार्यसमितिको म्याद थप्न नहुने धारणा राखेका थिए।

काठमाडौँ । नेपाली कांग्रेसले असोज २६ गते बोलाएको केन्द्रीय कार्यसमिति बैठकमा मुख्यगरी तीन वटा एजेण्डामा छलफल हुने भएको छ ।  बिहीबार र शुक्रबार बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा तीन एजेण्डा उठेको सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले जानकारी दिइन् ।

बिहीबार पदाधिकारी र पूर्वपदाधिकारीको मात्रै बैठक बसेकोमा शुक्रबार कार्यसम्पादन समितिका सदस्यहरूलाई समेत बोलाइएको थियो । बैठकमा अहिलेसम्म धारणा राख्ने नेताहरूले पार्टी अधिवेशन, सरकारले घोषणा गरेको निर्वाचन र जेनजी आन्दोलनको जडबारे केन्द्रीय समिति बैठकमा एजेण्डा बनाउने गरी धारणा राखेको सहमहामन्त्री उपाध्यायले रातोपाटीलाई जानकारी दिइन् ।  

वर्तमान शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिको चार वर्षे कार्यकाल मंसिरमा सकिँदैछ । त्यही मंसिरमा नियमित महाधिवेशन गर्ने एजेण्डा केन्द्रीय समितिमा लैजान पदाधिकारी बैठकमा सुझाव आएको हो ।

त्यस्तै सुशीला कार्की नेतृत्वको सरकारले आगामी फागुन २१ गतेका लागि घोषणा गरेको प्रतिनिधिसभाको निर्वाचन पनि केन्द्रीय समिति बैठकको एजेण्डा बन्नेछ । त्यो बाहेक गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको जड के हो भन्ने विषय पनि बैठकको एजेण्डा बन्न लगभग लगभग निश्चित भएको छ ।

शुक्रबारको बैठकमा ११ नेताले धारणा राखेका छन् । कार्यसम्पादन समितिका सदस्यहरूसहित बसेको बैठकमा सुजाता कोइराला, आनन्द ढुंगाना, बलबहादुर केसी, डा. शशांक कोइराला, डा. प्रकाशशरण महत, प्रकाशमान सिंह, ज्ञानेन्द्रबहादुर कार्की, उमा रेग्मी, कृष्णप्रसाद सिटौलासहितले धारणा राखेका थिए ।

धारणा राख्ने अधिकांश नेताहरूले वर्तमान कार्यसमितिको म्याद थप्न नहुने र मंसिरमा नियमित महाधिवेशन राख्नुपर्ने बताएका थिए । कांग्रेसमा नियमित र विशेष महाधिवेशनको कुरा उठिरहेको छ ।   बैठकबाट औपचारिक एजेन्डा टुंगो लगाउन शनिबार बिहान ११ बजे पुनः बैठक बोलाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप