शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय
अर्थ

भदौ महिनामा नेपालीले विदेशबाट पठाए १ खर्ब ७४ अर्ब

मङ्गलबार, २८ असोज २०८२, १७ : १५
मङ्गलबार, २८ असोज २०८२

सारांश

  • भदौ महिनामा नेपालीले विदेशबाट १ खर्ब ७४ अर्ब रुपैयाँ पठाएका छन्।
  • चालु आर्थिक वर्षको २ महिनामा विप्रेषण आप्रवाह ३३.१ प्रतिशतले बढेर रु.३५२ अर्ब ८ करोड पुगेको छ।
  • वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढेको छ।

काठमाडौँ । भदौ महिनामा नेपालीले विदेशबाट १ खर्ब ७४ अर्ब पठाएका छन् । राष्ट्र बैंकको तथ्याङ्क अनुसार यो अवधिमा भित्रिने विप्रेषण आप्रवाह झण्डै ४४ अर्ब बढेर सो बराबर पुगेको हो । 

अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह रु. १२७ अर्ब ९९ करोड रहेको थियो ।योसँगै चालु आर्थिक वर्षको २ महिनामा विप्रेषण आप्रवाह ३३.१ प्रतिशतले वृद्धि भई रु.३५२ अर्ब ८ करोड पुगेको छ ।

समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २७.६ प्रतिशतले वृद्धि भई २ अर्ब ५२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.२ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । 

यो अवधिमा खुद खुद ट्रान्सफर ३ खर्ब ८४ अर्ब ८८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २ खर्ब ८७ अर्ब ७६ करोड रहेको थियो ।

दुई महिनाभित्र वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ९० हजार १९८ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ४५ हजार ८८४ रहेको छ । 

अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ७६ हजार ४८५ र ४० हजार ५८३ रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप