शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
मधेसकाे राजनीति

मधेसमा सत्ता समीकरण फेरिँदै, दुई गठबन्धनबिच सरकार गठनको होडबाजी

बुधबार, २९ असोज २०८२, १४ : १९
बुधबार, २९ असोज २०८२

सारांश

  • मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि कांग्रेस, एमाले र जनमत पार्टीको गठबन्धनले दाबी पेश गरेको छ।
  • लोसपाले पनि सरकार गठनको दाबी पेश गरेको छ, जसले दुई गठबन्धनबीच शक्ति संघर्षको संकेत दिएको छ।
  • जनमत पार्टीको समर्थन र गठबन्धनको विषयमा विवाद छ, र प्रदेश प्रमुखको निर्णय निर्णायक हुनेछ।

जनकपुरधाम ।  मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि तीव्र राजनीतिक हलचल सुरु भएको छ । नेपाली कांग्रेस, नेकपा एमाले र जनमत पार्टीको तीन दलीय गठबन्धनले बुधबार प्रदेश प्रमुखको कार्यालयमा नयाँ सरकार गठनको दाबी पेस गरेको छ ।

यसअघि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेतृत्वको गठबन्धनले पनि आफ्नो पक्षबाट सरकार गठनको दाबी पेस गरेको थियो । 

त्यसपछि कांग्रेस नेतृत्वको गठबन्धनले पनि दाबी पेस गरेपछि प्रदेशमा दुई वटा गठबन्धनबिच शक्ति सङ्घर्षको स्पष्ट सङ्केत देखिएको छ ।

प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव शत्रुधन यादवका अनुसार तीन दलीय गठबन्धनले नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्ण कुमार यादवको नेतृत्वमा नयाँ सरकार गठनको दाबी पेस गरेको छ ।

उनले भने,“दुवै गठबन्धनमा जनमत पार्टीको उपस्थितिबारे विवाद रहेको छ, कानुनअनुसार नै प्रक्रिया अघि बढाइनेछ।”कांग्रेसका नेता कृष्ण कुमार यादवले आफ्नो नेतृत्वमा दाबी पेस भएको पुष्टि गर्दै जनमत पार्टी आफूसँगै रहेको दाबी गरेका छन् ।

उनले भने, “जनमत पार्टी हाम्रो गठबन्धनकै हिस्सा हो, यसमा कुनै शङ्का छैन। लोसपा पक्षले जनमतका नेता महेश यादवलाई दबाबमा पारेर हस्ताक्षर गराएको हो।”

तर जनमत पार्टीका संसदीय दलका नेता महेश प्रसाद यादवले कांग्रेसको दाबीलाई पूर्णरूपमा अस्वीकार गरेका छन् । उनले रातोपाटीसँग कुरा गर्दै भने, “हामी लोसपा गठबन्धनमा छौँ। कांग्रेसको दाबी झुटो हो ।”

त्यस्तै नेकपा एमालेका संसदीय दलका नेता सरोज यादवले पनि लोसपा नेतृत्वको दाबीलाई अविश्वसनीय बताउँदै भने, “उक्त दाबी दबाबमा गरिएको थियो। जनमत हामीसँग छ, त्यसमा कुनै भ्रम छैन। लोसपा गठबन्धनको दाबीमा जसपाका नेता सरोज कुमार यादव पनि अनुपस्थित थिए, त्यसैले त्यसलाई वैधानिक ठान्न सकिँदैन ।”

यसरी मधेस प्रदेशमा दुई अलग–अलग गठबन्धनले सरकार गठनको दाबी गर्दै गर्दा प्रदेशको सत्ता समीकरण फेरिने सङ्केत देखिएको छ । अब अन्तिम निर्णय प्रदेश प्रमुखको कदम र कानुनी व्याख्यामा निर्भर रहनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप