धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ६७ अर्ब पुग्यो
सारांश
- धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ६७ अर्ब पुगेको छ।
- नेप्से सूचकाङ्क बढेर २६७२.२५ पुगेको छ भने सूचीकृत कम्पनीको संख्या २७६ पुगेको छ।
- आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब बराबरको थप धितोपत्र सूचीकृत भएका छन्।
काठमाडौँ । धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ६७ अर्ब पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत भदौ मसान्तमा धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ६७ अर्ब ३० करोड कायम भएको छ । २०८१ भदौ मसान्तमा बजार पुँजीकरण ४१ खर्ब ०३ अर्ब ६२ करोड रहेको थियो । त्यतिबेला बजार पुँजीकरण कुल गार्हस्थ्य उत्पादनको ७१.८८ प्रतिशत रहेकोमा गत भदौमा ७३.१५ प्रतिशत रहेको छ ।
२०८१ भदौ मसान्तमा २५८०.७६ रहेको नेप्से सूचकाङ्क गत भदौ मसान्तमा २६७२.२५ कायम भएको छ । गत भदौ मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको सङ्ख्या २ सय ७६ पुगेको छ ।
सूचीकृत कम्पनीहरूमध्ये १ सय ३२ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ९४ जलविद्युत कम्पनी, २३ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ९ अन्य समूहका रहेका छन् । अघिल्लो वर्षको भदौमा सूचीकृत कम्पनीहरूको सङ्ख्या २ सय ६७ रहेको थियो ।
सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँजीकरणको हिस्सा ५२.९ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत् कम्पनीको हिस्सा १४.९ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.५ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.६ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ४.९ प्रतिशत, होटेलको हिस्सा २.७ प्रतिशत तथा अन्य समूहका कम्पनीहरूको हिस्सा ११.३ प्रतिशत रहेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा गत भदौ मसान्तमा सूचीकृत ८ अर्ब ९१ करोड सेयरको चुक्ता मूल्य ८ सय ७७ अर्ब ९७ करोड रहेको छ ।
आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १२ अर्ब ७८ करोड बराबरको साधारण सेयर, १ अर्ब ८३ करोड बराबरको बोनस सेयर, १ अर्ब ४६ करोड बराबरको हकप्रद सेयर र ९२ करोड ५० लाख बराबरको एफपीओ गरी कुल १७ अर्ब बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।
समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ६ अर्ब १८ करोड बराबरको म्युचुअल फन्ड, ३ अर्ब ७८ करोड बराबरको हकप्रद सेयर र ९९ करोड ४७ लाख बराबरको साधारण सेयर गरी कुल १० अर्ब ९५ करोड बराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको छ । –न्युज एजेन्सी नेपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण