शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अपडेट

कात्तिक १५ भित्र रसुवागढी नाका सञ्चालनमा आउने सम्भावना कति छ ?

बिहीबार, ३० असोज २०८२, २० : ००
बिहीबार, ३० असोज २०८२

सारांश

  • स्याफ्रुबेँसी-रसुवागढी सडकखण्ड साढे तीन महिनापछि सञ्चालनमा आएको छ, जुन बाढीले क्षतिग्रस्त भएको थियो।
  • सडक मर्मतपछि अस्थायी रूपमा सञ्चालनमा आए पनि बेलिब्रिज जडान नहुँदा रसुवागढी नाका अझै पूर्ण रूपमा खुलेको छैन।
  • स्थायी सडक निर्माणका लागि आवश्यक सामग्री र नीतिगत समस्या समाधान हुन बाँकी रहेको छ, जसले गर्दा निर्माण कार्य रोकिएको छ।

काठमाडौँ  । गत असारमा चीनतर्फबाट आएको बाढीले क्षतिग्रस्त बनाएको स्याफ्रुबेँसी–रसुवागढी सडकखण्ड करिब साढे तीन महिनापछि सञ्चालनमा आएको छ ।

लामो प्रयासपछि सडकको अस्थायी मर्मत सम्पन्न भएसँगै सोमबार साँझदेखि सवारीसाधन आवतजावतका लागि पूर्ण रूपमा खुला गरिएको सडक आयोजनाले जनाएको छ । 

आयोजनाका इन्जिनियर रुपनाराण पौडेलका अनुसार तीन महिनाको निरन्तर मर्मतपछि अस्थायी रूपमा सञ्चालनमा ल्याइएको हो । 

२०८१ असार २४ गतेमा भोटेकोशी नदीमा आएको बाढीले ठुलो क्षति पुर्‍याएपछि रसुवागढी नाका पूर्ण रूपमा अवरुद्ध भएको थियो । सडकका विभिन्न खण्डमा पहिरो र कटानले गर्दा सवारीसाधन आवतजावत बन्द भएका थिए । पौडेलले भने, ‘सडक मर्मतमा करिब ९५–९६ दिनको समय लागेको छ । यसबिचमा साना सवारीसाधनका लागि केही दिन सडक खुला गरियो । साउन ४ गतेदेखि सञ्चालनमा आयो, तर फेरि १४ गते भोटेकोसीमा आएको बाढीले सडक कटान गरेपछि पुनः अवरुद्ध बनाएको थियो । यसपछि अस्थायी ट्रयाक निर्माण गरी सञ्चालनमा आएको हो । 

सडक सञ्चालनमा आए पनि सिंगल लेन भएकाले ठाउँ–ठाउँमा रोकेर गाडी पास गराउनुपर्ने अवस्था रहेको पौडेलले सुनाए । उनका अनुसार बाढीपहिरोका कारण भएको क्षति अस्थायी रूपमा मर्मत गरिएकाले दीर्घकालीन समाधानका लागि थप काम गर्न भने बाँकी नै छ ।

सडक सञ्चालनमा आए पनि नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको स्थानमा बेलिब्रिज जडान सम्पन्न भएको छैन, जसका कारण तीन महिनायता रसुवागढी नाका ठप्प छ । आयात निर्यातबाट आउनुपर्ने अर्बौँ राजस्व पनि गुमेको छ । 

  • कहिले बन्छ बेलिब्रिज ?

असार २४ गते चीनतर्फबाट आएको बाढीले मितेरी पुल बगाएको थियो । पुल बगाएको स्थानमा चीनले बनाउँदै गरेको बेलिब्रिजको फाउन्डेसन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । नेपालतर्फ पनि काम पनि अन्तिम चरणमा रहेको इन्जिनियर पौडेलले बताए, यो करिब ९० मिटर लामो छ । 

‘कंक्रिट गरिसकेपछि पुललाई सेटअप हुन कम्तीमा ७–८ दिन लाग्छ । विभिन्न ग्रेडको कंक्रिट हुन्छ । हाई स्ट्रेन्थवाला कंक्रिट प्रयोग गरिएको छ,’ पौडेलले भने, ‘एक सातामै तयार हुन्छ, आजभोलिमा कम्प्लिट भयो भने सात दिन सेटअप हुने समय लाग्छ, सम्भवतः कात्तिकको १५ सम्ममा सञ्चालनमा आउँछ ।’ 

यसअघि दसैँअगावै रसुवागढी नाका सञ्चालनमा ल्याउनेगरी चीन सरकार लागिपरेकोे थियो । तर पटक–पटक आएको बाढीका कारण बेलिब्रिज निर्माणमा ढिलाइ भइरहेकाले तिहारपछि मात्रै खुला हुने भएको हो । बाढीपहिरो थप क्षति नगरे कात्तिक १५ गतेसम्म रसुवागढी नाका पूर्ण रूपमा खुल्ने अपेक्षा गरिएको छ ।

  • स्थायी सडक निर्माण कहिले ? 

गल्छी–त्रिशुली–स्याफ्रुबेँसी–रसुवागढी सडकमध्ये दुई खण्ड नेपाल सरकार आफैले विस्तार अघि बढाएको छ । यसमध्ये तेस्रो खण्ड विस्तार कार्य चीन सरकारले गर्ने विगतमै सहमति भएको थियो । 

यो सडक निर्माणका लागि नेपाल र चीन सरकारबिच सन् २०१८ मा सम्झौता भएको थियो । चीनले स्याफ्रुबेँसीदेखि रसुवागढीसम्म करिब १६ किलोमिटर (१५.७ किलोमिटर) विस्तार कार्य अघि बढाइसकेको छ । चिनियाँ ठेकेदारहरू एक वर्षअघि नै नेपाल आएर क्याम्पहरू समेत स्थापना गरिसकेका छन् ।

‘नेपालतर्फको बालुवा, गिट्टीहरू निकाल्ने अनुमति प्राप्त नभएर रोकिएको हो, नेपाल सरकारले दिनुपर्ने राजस्व छुटका कुराहरूले पनि काम अघि बढेको थिएन,’ पौडेलले भने, ‘यसबिच बाढीले पुल बगाएपछि आवश्यक सामग्री ल्याउन पनि रोकियो ।’

निर्माण सामग्रीको विषयमा छिट्टै मन्त्रिपरिषद्मा लगिने र त्यहाँबाट समाधानको उपाय आए चिनियाँहरूले काम गर्ने बताएका उनले जानकारी दिए । 

नेपाल सरकारको नीतिगत कारणले त्यस स्थानमा स्थायी सडक निर्माणको काम रोकिएको इन्जिनियर पौडेलको भनाइ थियो । नेपाल सरकारले खोलाबाट बालुवा, गिट्टी र ढुंगाजस्ता निर्माण सामग्री उत्खनन गर्न अनुमति नदिएका कारण चिनियाँ पक्षले काम अगाडि बढाउन नसकेका पनि उनले बताए । यो सडक क्षेत्र लाङटाङ राष्ट्रिय निकुञ्जभित्र पर्ने भएकाले पनि प्रक्रियागत जटिलता थपिएको छ । 

‘नीतिगत समस्या समाधान हुनेबित्तिकै काम सुरु हुन्छ,’ उनले भने, ‘किनभने उनीहरूले गत वर्षदेखि नै सडकमा वालहरू लगाउने काम गरिरहेका छन् ।’

यो सडकले रसुवागढी नाकाबाट हुने नेपाल–चीन व्यापारलाई दीर्घकालीन रूपमा सहज बनाउन महत्त्वपूर्ण भूमिका खेल्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप